कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा

२२०/१३२ केभी, ३२० एमभीए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब 

काठमाडौँ — मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । चन्द्रागिरि नगरपालिका–८ मा निर्माण गरिएको सबस्टेसन परिसरमा आयोजित कार्यक्रममा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरे ।

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा

२२०/१३२ केभी, ३२० एमभीए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो ।

जलविद्युत्को विकासमा गुणात्मक फड्को मारिरहेको तथ्यांकले नै पुष्टि गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देश विकासको युगतर्फ प्रवेश गरेकाले यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

आर्थिक वर्षबाट बंगलादेशलाई पनि ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुन लागेको उनको भनाइ छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत संघ, प्रदेश, स्थानीय तह तीन वटै सरकारको लगानी र आम नेपालको लगानीमा जलविद्युत् आयोजनाहरूको निर्माण अगाडि बढाउन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जनाए । विद्युत् उत्पादन, प्रसारण र वितरणको क्षेत्रलाई व्यवस्थित बनाउँदै लगिएको उनको भनाइ छ ।

विद्युत् प्रसारण र वितरण लाइनको निर्माणमा नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरिरहेको नेपालका लागि नर्वेली राजदूत टोरुन ड्रामडालले बताए । यस्ता पूर्वाधार निर्माणले खाना पकाउन प्रयोग हुने ग्यासको आयातलाई विस्थापित गरी उपभोक्तालाई सस्तो विद्युत् उपभोग गर्न प्रोत्साहित गर्ने उनले जनाए । जलविद्युत् तथा प्रसारण लाइन निर्माणमा मुख्य समस्याका रूपमा रहेको वन कटानी तथा जग्गा प्राप्तिसम्बन्धी कार्यलाई सहज एवम् छिटोछरितो नबनाएसम्म विकास आयोजना पूर्वनिर्धारित समय र लागतभित्र सम्पन्न गर्न सम्भव नदेखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाडौं उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौंमा निर्मित प्रसारण लाइनको लम्बाइ ८२ किमि छ । प्रसारण लाइनमा २३३ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनलाई हाल १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभन्ज्याङसम्म मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनलाई बाडभन्ज्याङमा आपसमा आबद्ध गरिएको छ । त्रिशूली र मस्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभन्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।

मर्स्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनबाट आएको करिब १/१ हजार मेगावाट विद्युत् बाडभन्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुने बताइएको छ । मर्स्याङ्दी र त्रिशूली नदी बेसिनमा उत्पादित विद्युत् प्रवाह हुने भएकाले काठमाडौं उपत्यकाको भविष्यको विद्युत् मागलाई सम्बोधन गर्न र देशको समग्र विद्युत् प्रणाली सुधार गर्न प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसन मेरुदण्ड रहेको प्राधिकरणले जनाएको छ ।

मर्स्याङदी–काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट लिसँग १६ असार २०७३ मा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण भदौ ०७३ मा सुरु भएको थियो । प्रसारण लाइनको रुटको विभिन्न ठाउँमा स्थानीयको अवरोध र कोभिड–१९ महामारीका कारण निर्माणमा केही ढिलाइ भएको थियो । धादिङको सिद्धलेक गाउँपालिका–७ स्थिति पीपलटारमा स्थानीयको अवरोधका कारण झन्डै दुई वर्ष निर्माण प्रभावित बनेको थियो ।

आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी ०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । यसमध्ये मातातीर्थ सबस्टेसन निर्माण सकिइसकेको छ भने मार्कीचोक अन्तिम चरणमा छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको हो । आयोजनाको लागत करिब ८ अर्ब रुपैयाँ छ ।

प्रकाशित : वैशाख १७, २०८१ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?