२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सरकारले साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उदघाट्न गर्दै राष्ट्रपति पौडेलले साना तथा घरेलु उद्यमशीलतालाई सरकारले प्रवर्द्धन गर्नुपर्ने बताए ।

सरकारले साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिनुपर्छ : राष्ट्रपति पौडेल

'गरिवी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रका विद्यमान समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक छ,' उनले भने ।

यसबाट प्राकृतिक स्रोतको उपयोग, समावेशी र समानुपातिक सहभागितामा मात्र होइन परम्परागत कृषिलाई औधोगिक कृषिमा बदल्नसमेत सघाउ पुर्‍याउने उनको भनाइ थियो । 'मुलतः स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुँदै सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिन यस्ता उद्यम व्यवसाय बढी फलदायी हुनेछ', राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले साना उद्योगीलाई राज्यले सहुलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यो क्षेत्रको विकासमा सहयोग पुर्‍याउनुपर्ने धारणा राखे । उनले देशमै उत्पादित वस्तुको प्रवर्द्धन गरी उद्योगहरूको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाका लागि आवश्यक संरचना र स्थान उपलब्ध गराउन बेलैमा ध्यान जानु आवश्यक रहेकाे बताए ।

प्रकाशित : वैशाख २६, २०८१ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?