१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सुनकोशी–मरिण डाइभर्सन सुरुङ : २२ महिनाको लक्ष्य, १९ महिनामा छिचोलियो

१३.३ किमिको सुरुङ छिचोलिए पनि दुई नदीको पानी मिसाउन एकदेखि डेढ वर्ष लाग्ने

खुर्कोट, सिन्धुली — सुनकोशी–मरिण डाइभर्सनको सुरुङ १९ महिनामा बुधबार छिचोलिएको छ । कुल १३.३ किमिको सुरुङ खन्न २२ महिनाको लक्ष्य लिएकामा समयअगावै काम सकिएको हो ।

सुनकोशी–मरिण डाइभर्सन सुरुङ : २२ महिनाको लक्ष्य, १९ महिनामा छिचोलियो

०७९ असोज २८ बाट सुरु गरिएकामा एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको थियो । अब यो सुरुङ पूरा भई पानी पठाउन भने थप एकदेखि डेढ वर्ष लाग्ने सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ ।

तीन सिफ्ट बनाएर चौबीसै घण्टा काम गरेर यो सफलता मिलेको आयोजनाका प्रमुख मित्र बरालले बताए । ‘दुई वटा दसैं र निर्वाचनका बेलाबाहेक नियमित काम भइरहेको छ,’ उनले भने, ‘सुरुङको ब्रेक थ्रु भइसकेकाले कहाँ कमीकमजोरी छन्, सबै हेर्छौं ।’

सुनकोशी गाउँपालिकाको कानढुंग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेपछि सुरुङको ब्रेक थ्रु भयो । कमलामाई नगरपालिका–२ स्थित कुसुमटारबाट टनेल बोरिङ मेसिन (टीबीएम) ले खन्न सुरु गरेको सुरुङ अब कानढुंग्रीमा निस्किएको छ । सुरुङ खनेर टीबीएम मेसिन बाहिर निस्किँदा सबैले तालीको गड्गडाहटबाट स्वागत गरेका थिए ।

सुनकोशी–मरिण डाभइर्सनको ब्रेक थ्रुले ठूला पूर्वाधार निर्माणमा नयाँ ऊर्जा र उत्साह थपिएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘दृढ सकंल्पका साथ अगाडि बढ्दा जतिसुकै चुनौतीपूर्ण भए पनि आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण यसले प्रस्तुत गरेर हामी सबैमा आत्मविश्वास बढाएको छ,’ प्रधानमन्त्री दाहालले भने ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनमार्फत सुरुङ खनेको हो, जसले गर्दा काम छिटो भएको हो ।

सुरुङ खन्न मात्र कोभेकले मूल्य अभिवृद्धि करबाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिणखोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

सुरुङको निर्माण सक्नुपर्ने समय ०८२ साल भदौमा हो । सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । ०७७ साल फागुन २० मा कमलामाई नगरपालिका २ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गरेका थिए । उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमा पानी हाल्न सुनकोशीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माणको काम जारी छ ।

सुनकोशी नदीको पानी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर हेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट बिजुली उत्पादन गरिने आयोजनाको लक्ष्य छ । त्यस्तै १२ अर्ब रुपैयाँ हेडवर्क्सको काम ०८४ असार २४ सम्म सक्ने गरी ठेक्का भएको छ । यसमा स्रोत सुनिश्चितताले गर्दा केही ढिलाइ भएको आयोजना प्रमुख बरालले बताए । ‘कोशीमा काम गर्ने समय ४ देखि ५ महिना हो,’ प्रमुख बरालले भने, ‘यसले गर्दा पनि काममा केही ढिलाइ भएको हो ।’

सुरुङ को ब्रेक थ्रु भएको र बाँकी काम पनि समयमै सक्न प्रधानमन्त्री दाहालले आयोजनालाई निर्देशन दिए । ‘यो राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने विश्वास दिलाउन चाहन्छु,’ उनले भने, ‘आयोजना निर्माणमा सरकारले सम्पूर्ण रूपले सहजीकरण हुने जानकारी गराउँछु ।’ विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाका पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको मुख्य उद्देश्य छ । कुल लागत ४९ अर्व ४२ करोड रहेको आयोजनाको मुख्य काममध्येको सुनकोशी नदीमा बाँध निर्माणले भने गति लिन सकेको छैन ।

ठेक्का प्रक्रिया ढिलो र मौसम अनुकूल काम गर्नुपर्ने भएकाले सुरुङको जस्तो कामले गति नलिएको आयोजनाले जनाएको छ । सुनकोशीमा बाँध बाँध्ने कामअन्तर्गत कफर ड्याम जमिनमुनिको पिलर राख्ने काम सकिएको आयोजना प्रमुख बरालले जानकारी दिए । नदीको सतहभन्दा तल ४ सय ६८ मिटर कफर ड्यामको काम सकिएको छ । यतिखेर रिभर प्लेटभन्दा माथिको काम भइरहेको आयोजनाको भनाइ छ ।

आर्थिक वर्ष ०८०/८१ मा बाँध निर्माणमा १८ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएकामा हालसम्म १० प्रतिशत प्रगति भएको छ । सुनकोशी र तामाकोसीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोशीमा बाँध निर्माणको काम सुरु गर्नुका साथै पटेल–रमण जेभीले ल्याब, बेसक्याम्प, क्रसर प्लान्टलगायत काम सकेको छ । यी निर्माण कम्पनीले ०८४ असोजमा सम्पन्न गर्ने गरी करिब डेढ वर्षअघि सुनकोशीमा बाँध निर्माणलगायत कामको ठेक्का १२ अर्बमा लिएका हुन् । हालसम्म एक अर्ब ५० करोड भुक्तानी भइसकेको छ ।

मरिण नदी नियन्त्रणअन्तर्गत पहिलो चरणमा कमलामाई नगरपालिका १ र २ मा दुइ किमि काममध्ये ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । सुरुङबाट पानी मरिणखोलामा खसालिने स्थान कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि वाग्मतीसम्मको ४४ किमिलाई ७ वटा प्याकेज बनाएर नदी नियन्त्रणको काम गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाको काममध्ये इलेक्ट्रोमेकानिकलको ठेक्का प्रक्रिया सुरु भएको छ । ट्रान्समिसन लाइनको आईई अन्तिम चरणमा रहेको प्रमुख बरालले बताए ।

आयोजनाको सामाजिक कार्यअन्तर्गत रामेछापमा लिफ्ट सिँचाइ काम भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २९.९३ र वित्तीय प्रगति २८ प्रतिशत छ । अर्थात् हालसम्म आयोजना निर्माणमा ११ अर्व ९१ करोड १९ लाख खर्च भएको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड ३१ लाख हो ।

प्रकाशित : वैशाख २७, २०८१ ०५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?