३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रेमको नाटक गर्दै ठगी

बिहेपछि सुरु भएको नाटकको अर्को पाटोले प्रहरीको खोरमा पुर्‍याइदियो
जनकराज सापकोटा

काठमाडौँ — तुलबहादुर तामाङ आफूलाई अमेरिकन आर्मी बताउँथे । भूकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेका बाबुसहित परिवारका सबै सदस्य अमेरिकामा भएको फुइँ लगाउँथे । उनको जीवनशैली र हाउभाउ भने कुनै धनी परिवारका सदस्यको झैं लाग्थ्यो । जसलाई जे बताए पनि सिन्धुपाल्चोकको माङ्खा घर भएका तुलबहादुर काठमाडौंमा भाडाको ट्याक्सी चलाउँथे । बचेखुचेको समय भने फेसबुक चलाउँथे ।

प्रेमको नाटक गर्दै ठगी

फेसबुकबाटै उनी अनेकन केटीको सम्पर्कमा पुग्थे र अनेकन आश्वासन बाँड्थे । यही क्रममा उनले संखुवासभाको नुममा घर भएकी करिब २१ वर्षकी एक युवतीसँग सम्पर्क बढाए । त्यसपछि सुरु भएको उनको प्रेम कथा जसरी अगाडि बढ्यो त्यसरी नै उक्त कथामा कैयन् घुम्ती देखा परे । प्रेम कथाको महिनौं लामो यात्रापछि उनले तिनै युवतीलाई बिहे गरे, तर बिहेपछि सुरु भएको नाटकको अर्को पाटोले तुलबहादुरलाई प्रहरीको खोरमा पुर्‍याइदियो ।

तुलबहादुरको कथा जान्न करिब एक वर्षअघि पुग्नुपर्छ । उनले फेसबुकबाट सम्पर्क स्थापित गरेकी केटीसँग यति धेरै नजिकिए कि उनले सोही युवतीलाई प्रेमको प्रस्ताव गरे । उनीहरूबीचको मायापिरती यति गहिरियो कि, फेसबुकबाट जोडिएको केही महिनामै तुलबहादुर संखुवासभा केटीको घर पुगे । सामान्य आर्थिक परिवारकी युवतीका अभिभावकहरू केटाको उच्च धनाढ्य जीवनशैलीको कथा सुनेर छक्कै परे । पहिलो भेटपछि नै तुलबहादुरलाई युवतीको घर आउजाउमा कुनै रोकतोक भएन । त्यसपछि पनि उनी युवती भेट्न काठमाडौंबाट संखुवासभा धाउँथे ।

केही पटकको आउजाउपछि तुलबहादुरले युवतीलाई परिवारकै सहमतिमा बिहे गरे । पत्नी लिएर काठमाडौं पनि आए, तर आफ्नो घर भने लगेनन् । बरु उल्टै तुलबहादुरले पत्नीलाई केही दिन काठमाडौं घुमाएर माइत नै फर्काइदिए । बिहेपछिका केही महिनासम्म तुलबहादुरले युवतीलाई केही दिनका लागि काठमाडौं बोलाउँथे र फेरि माइतै फर्काइदिन्थे । आफ्नो घर पनि नलैजाने, परिवारका सदस्य पनि नभेटाउने गरेपछि युवतीलाई केही शंका हुन थालिसकेको थियो । सोही बीचमा तुलबहादुरले अर्को पासो थापे । उनले ससुरा र पत्नीसँग भने, ‘सालो बेकामे भइरहेको छ । त्यसलाई अमेरिकन आर्मीमा भर्ती गराइदिन्छु ।’ ज्वाइँको आकर्षक प्रस्ताव सुनेर ससुराली पक्षले नाइँनास्ती गर्ने अवस्थै रहेन । जेनतेन खोजखन्तर गरेर ससुराले तुलबहादुरलाई २१ लाख रुपैयाँ दिए ।

मंसिर १४ गते अमेरिका उड्नुपर्ने भन्दै तुलबहादुरले सालोलाई काठमाडौं बोलाए । जब सालो काठमाडौं आएर भिनाजु खोजे, त्यसपछि तुलबहादुर सम्पर्कमै आएनन् । एक/दुई दिनसम्म पनि भिनाजु सम्पर्कमा नआएपछि र पत्नीलाई लागेको शंका बिस्तारै बढ्दै जान थालेपछि उनी प्रहरी परिसर काठमाडौंको सम्पर्कमा पुगिन् ।

प्रहरी अनुसन्धानपछि पो पोल खुल्यो, तुलबहादुरले कसरी प्रेमको नाटक रचेर झूटो कथाको महल ठड्याएका रहेछन् भन्ने । २१ लाख रुपैयाँ हात पारेपछि तुलबहादुर आफ्नो गाउँ सिन्धुपाल्चोकको माङ्खा पुगेर लुकेका थिए । प्रहरीले घटनामाथि थप अनुसन्धान गर्न सिन्धुपाल्चोकको बाह्रबिसे इलाका प्रहरी कार्यालयसँग सहयोग लियो । बाह्रबिसे इलाका प्रहरी कार्यालयले तुलबहादुरलाई मंसिर २२ गते खाडीचौर बजारबाट पक्राउ गरेर काठमाडौं पठाइदियो । पक्राउमा संलग्न प्रहरी अधिकारीका अनुसार पक्राउलगत्तै तुलबहादुरले आफ्नो पहुँच उपल्लो नेतादेखि प्रहरीका माथिल्ला अधिकारीसम्म भएको भन्दै अनेकतिर फोन घुमाएका थिए ।

तुलबहादुर पक्राउपछि पनि उनको कथा भने सकिएन । प्रहरीले तुलको अनौठो ठगीको पर्दा त च्यात्यो नै, उनले विगतमा गरेको यस्तै प्रकृतिका ठगीका अन्य घटनाको लहरो पनि भेट्टायो । प्रहरीका अनुसार तुलबहादुरले दुई वर्षअघि पनि आफू क्यानडा बस्ने र उतैको पीआर होल्डर भएको बताउँदै फेसबुकमार्फत एउटी युवतीलाई जालोमा पारेका रहेछन् । क्यानडा लैजाने भन्दै १८ लाख रुपैयाँ लिएर फरार भएपछि तुलबहादुरविरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा परेको रहेछ । विभागको अनुसन्धानपछि १८ लाख धरौटी बुझाएर तुलबहादुर मुक्त भएका रहेछन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘ठगीका अनेक कथा सुनिएको थियो ।

प्रकाशित : पुस १३, २०७४ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?