१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ट्रम्प तन्दुरुस्त : चिकित्सक

‘राष्ट्रपतिको स्वास्थ्य कार्यकालभरि नै ठीक रहनेछ’
बीबीसी

वासिङ्टन — ह्वाइटहाउसका चिकित्सकले राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य ठीक रहेको र उनमा कुनै पनि असामान्य लक्षण नदेखिएको जनाएका छन् । पत्रकार माइकल उल्फले आफ्नो पुस्तक ‘फायर एन्ड फयुरी : इन्साइड द ट्रम्प ह्वाइटहाउस’ मा ट्रम्पको मानसिक स्वास्थ्यका विषयमा प्रश्न उठाएपछि ट्रम्पका आधिकारिक चिकित्सक डा. रोनी ज्याक्सनले उक्त जानकारी दिएका हुन् । 

ट्रम्प तन्दुरुस्त : चिकित्सक

७१ वर्षीय ट्रम्पको गत साता तीन घण्टा लामो मेडिकल चेकअप भएको थियो । राष्ट्रपति बनेपछि पहिलो पटक उनको स्वास्थ्य परीक्षण भएको हो । मंगलबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ज्याक्सनले ट्रम्प तन्दुरुस्त रहेको स्पष्ट पार्दै भने, ‘उनको हेर्ने, सुन्ने र सोच्ने शक्ति या मानसिक स्वास्थ्यका बारेमा मलाई कुनै चिन्ता छैन ।’ ज्याक्सनले स्वास्थ्य परीक्षणबाट प्राप्त जानकारीका आधारमा ट्रम्पको स्वास्थ्य कार्यकालभरि नै ठीक रहने दाबी गरे । ‘मदिरा र सूर्तीजन्य पदार्थ प्रयोग नगर्ने मानिसको जत्तिकै उनको मुटु र स्वास्थ्य ठीक छ,’ उनले भने ।

‘फ्राइड चिकन र डाइट कोकमा निर्भर रहने र कसरत नगर्ने व्यक्ति कसरी स्वस्थ रहन सक्छ ?’ भन्ने संवाददाताको प्रश्नमा डा. ज्याक्सनले भने, ‘यसलाई भनिन्छ जेनेटिक्स, उनको जिन कमालको छ ।’ यद्यपि उनले ट्रम्पले कम तेल खाए र बढी कसरत गरे फाइदा पुग्ने पनि उल्लेख गरे ।

उनले राष्ट्रपतिका लागि कम क्यालोरी, चिल्लो र कार्बोहाइड्रेट भएको डाइट प्लानका लागि

ह्वाइटहाउसमा पोषणविद्हरूलाई निम्त्याउने योजना रहेको पनि जानकारी दिए ।

कसरी भएको थियो परीक्षण ?

गत शुक्रबार सेनाका चिकित्सकहरूले मेरिल्यान्डको वाल्टर रिड मेडिकल सेन्टरमा ट्रम्पको स्वास्थ्य परीक्षण गरेका थिए । उनको परीक्षण निकै राम्रोसँग भएको सेनाका अधिकारीहरूले जनाएका थिए । परीक्षणमा डा. ज्याक्सनसहितका १२ कन्सल्टयान्ट पनि सामेल थिए । डा. ज्याक्सन अमेरिकी नेभीमा रियर एडमिरल हुन् । उनी बाराक ओबामाका पनि आधिकारिक चिकित्सक थिए । ट्रम्पको परीक्षणका लागि अमेरिकी पूर्व सैनिक मामिला विभागले ‘मन्ट्रियल कग्निटिभ एसेसमेन्ट’ न्युरोसाइकोलजिकल टेस्टको प्रयोग गरिएको थियो । यो टेस्टबाट व्यक्तिले कुनै पनि काममा दिने ध्यान, उसको स्मरणशक्ति, भाषा सोच्ने क्षमता, हिसाब गर्ने क्षमता तथा अन्य स्वास्थ्यसम्बन्धी क्षमताको परीक्षण गरिन्छ ।

लेखक उल्फले ‘ह्वाइटहाउसका कर्मचारीले ट्रम्पलाई बच्चाका रूपमा हेर्छन्, जसलाई तुरुन्त शान्त गर्नु जरुरी हुन्छ’ भनी पुस्तकमा उल्लेख गरेका छन् । तर यो आरोपलाई अस्वीकार गर्दै ट्रम्पले पुस्तक ‘झूटको पुलिन्दा’ भन्दैआलोचना गरेका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले पनि राष्ट्रपतिको मानसिक स्वास्थ्यसम्बन्धी आरोपलाई अस्वीकार गरेका थिए । डिसेम्बर २०१५ मा ट्रम्पका निजी डाक्टर हयारोल्ड बर्नस्टिनले निर्वाचनअघि भएको परीक्षणपछि भनेका थिए, ‘ट्रम्प अहिलेसम्मकै स्वस्थ राष्ट्रपति हुनेछन् ।’

प्रकाशित : माघ ४, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?