कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘चिपक चिपक’ बाट चम्किँदै नरहरि

काठमाडौँ — पछिल्लो समय मार्केटमा फिल्मी गीतको वर्चस्व छ । लोक, पप, रक, आधुनिक विधाका गायकगायिका तथा संगीतकर्मीहरू प्लेब्याक सिंगिङतिर लागेका छन् । विशेषत: आधुनिक गायनमा सक्रिय नरहरि प्रेमी पनि ‘राज्जा रानी’ फिल्मको गीत ‘चिपक चिपक...’ मार्फत अहिले छाइरहेका छन् । यसमा उनलाई सुमिना लोले साथ दिएकी छन् ।

‘चिपक चिपक’ बाट चम्किँदै नरहरि

सुमिना नरहरिकै विद्यार्थी हुन् भने उक्त गीतका संगीतकार दीपक शर्मा पनि । विद्यार्थीले गुरुलाई गाउन लगाए । संगीतमा नातावाद चल्दैन । गुरुको कला चिनेका दीपकले त्यसकै आधारमा आफूलाई रोजेको नरहरि बताउँछन् । ‘फिल्मका पात्र मधेसी मूलका रहेछन्,’ उनी भन्छन्, ‘गीतमा मधेसी लवज वा टोन चाहिने भएछ । यसमा मैले न्याय गर्छु, मेरो स्वर फिट हुन्छ भन्ने लागेर दीपकले अफर गरे ।’ नवलपरासीका नरहरिले यसअघि भोजपुरी, मैथली, अवधी, थारू, हिन्दी, ताजपुरिया जस्ता भाषामा गाइसकेका थिए ।

गीतकार राजेन्द्र थापा, संगीतकार शर्मा, फिल्मका निर्माता/निर्देशक र गायक भेला भएर गीतको काम तीव्र बनाए । नरहरिले गाउँदै जाँदा थापाले शब्द थपथाप वा फेरफार गरे । शर्माले मेलोडी रचे । साता–दस दिनभित्र गीत भनेजस्तै शैलीमा तयार भयो । ‘म अझै परिमार्जन गरौं भन्दै थिएँ तर सबैले ओके गायौ भन्नुभयो,’ नरहरि भन्छन्, ‘कथावस्तु सुहाउँदो गीत बनेछ । भोजपुरी लयमा नेपाली भाषाको गीत सम्भवत: हामीले नै पहिलो पटक बनायौं ।’

नरहरि गायक, संगीतकार र केही युवा म्युजिसियनका गुरुजी पनि हुन् । भजन गायक स्वामी नारायणाचार्यका छोरा उनले २०५२ देखि औपचारिक गायन सुरु गरेका हुन् । रेडियो नेपालले गरेको ‘राष्ट्रिय फूलबारी सम्मेलन’ मा उत्कृष्ट भएपछि उनलाई काठमाडौं आएर गीत रेकर्ड गर्ने मौका मिल्यो । त्यही बेला भोजपुरी र नेपाली भाषाका गीत गाए । विजयसिंह मुनाल र दीपक जंगमसँग संगीत सिके ।

नरहरिले ‘भाका १, २, ३’ एल्बम निकालेका छन् । उनको एकल संगीतमा चाहिँ २२ एल्बम निस्किसके । फुटकर गीतको गन्ती राख्नै गाह्रो ।

नरहरिसँग नेपाली संगीतको विगतका रमाइला अनुभव छन् । एउटा सुनाइहाले, ‘२९ सय रुपैयाँमा रेकर्ड गरेको ‘यो हाम्रो जिन्दगी...’ गीत मैले रञ्जना क्यासेट सेन्टरलाई १० हजार रुपैयाँमा बेचेको थिएँ । पहिलो एल्बमका गीत चलेपछि धौलागिरि (क्यासेट सेन्टर) मलाई खोज्दै आएको थियो ।’

अहिले जमाना फेरिइसक्यो । क्यासेट सेन्टर हराइसके । वितरक कम्पनीको खाँचै पर्दैन । युटयुब जिन्दावाद । नरहरि खुसी छन् । संगीतले उनलाई आत्मसन्तुष्टि दिएको छ । यही उनको गरिखाने मेलो हो । त्यसैले भन्छन्, ‘संगीत जीवन हो । योग, अध्यात्म र विज्ञानको जोड जीवन हो । अनि जीवनलाई सरल बनाउने माध्यम संगीत हो ।’

प्रकाशित : माघ ४, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?