सुनचाँदी पसलमा बम विस्फोट

७ वर्षीय बालकसहित ८ घाइते
भरत जर्घामगर

सिरहा — लहान नगरपालिका–७ स्थित मुख्य बजारको सुनचाँदी मण्डीस्थित विकास ट्रेडर्समा शुक्रबार बम विस्फोट हुँदा ७ वर्षीय बालकसहित आठ जना घाइते भएका छन् ।

सुनचाँदी पसलमा बम विस्फोट

शुक्रबार हाटको दिन सुनचाँदी पसलमा ग्राहकको भीड भएकै बेला दिउँसो १ बजे विस्फोट भएको थियो । प्रहरीका अनुसार विस्फोटमा सुनचाँदी पसलका सञ्चालक विकास शारडासहित उनका भाइ राहुल, पसलमा कार्यरत लहान नगरपालिका–९ कि अस्मिता चौधरी, विनिता चौधरी घाइते भएका छन् ।


सुन खरीद गर्न आएकी ग्राहक नवराजपुर गाउँपालिका–३ मझौराकी २५ वर्षीया देवकुमारी यादव, उनका ७ वर्षीय छोरा सतिस, सप्तरी सुरुंगा नगरपालिका–२१ की बबिता यादव र उनकी बहिनी विनिता यादव घाइते भएकी छन् । घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक गणेशबहादुर चन्दले जानकारी दिए ।


विस्फोटका कारण घाइते देवकुमारी यादव, बबिता यादव र विनिता यादवको श्रवण शक्ति गुमेको छ भने ७ वर्षीय सतिस यादवको जीउभरी छर्रा लागेको सप्तऋषि अस्पतालका चिकित्सक डा. शुभाषबाबु चौधरीले जानकारी दिए ।


शुक्रबार समेत भएको घटनासहित लहानमा ५ महिनाको अवधिमा तीन पटक विस्फोटको घटना भइसकेको छ । तीन वटै बम विस्फोटमा प्रेसर कुकरको प्रयोग भएको छ । लहानको मुख्य चोकस्थित नेपाल साइकल स्टोर्समा गत मंसीर २८ गते, सोही चोकको अर्को पसल शुभलाभ किराना स्टोर्समा फागुन १० गते र चैत ९ गते विकाश ट्रेडर्समा बम विस्फोट भएको हो । तीन वटै पसल मारवाडी समुदायको स्वामित्वका हुन् । विकास ट्रेडर्सबाहेक अन्य दुई जनाको पसलमा भएको बम विस्फोटको जिम्मेबारी जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको थियो ।


लहानमा भएको पटकपटकको बम विस्फोटको घटनाले यहाँका व्यावसायी आतंकित भएका छन् । शुक्रबार दिनभर लहान बजारका सुनचाँदी पसल बन्द रह्यो । बम विस्फोट लगत्तै जिल्ला उद्योग वाणिज्य संघ सिरहा र नगर सुनचाँदी व्यवसायी संघको संयुक्त बैठकले शान्ति सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रहरी प्रशासनसमक्ष माग गरेको छ । विकास ट्रेडर्सका सञ्चालक विकास शारडा जिल्ला उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य र जिल्ला सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष हुन ।


यसैगरी, नेपाल मानवअधिकार संगठनका केन्द्रिय सदस्य राजकुमार राउत कुर्मीद्वारा जारी प्रेस विज्ञप्तिमा विस्फोटको घटनाप्रति राजनीतिक दल, नागरिक समाज तथा सञ्चार जगत थप संवेदनशील हुनुपर्ने उल्लेख गर्दै घटनाको तुरुन्त छानबिन र अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोइरालाले विस्फोटको घटनाले सुरक्षा निकायलाई संवेदनशील बनाएको उल्लेख गर्दै विस्फोटको घटनामा संलग्नको खोजी गर्न सिरहा प्रहरीले विशेष अभियान सुरु गरेको जानकारी दिए ।


‘घटना घटे लगत्तै अपराधीलाई खोज्न सीमानाकादेखि लहान बजार क्षेत्रसम्म नाकाबन्दी गरिएको छ,’ उनले भने, ‘भूमिगत संगठनहरुलाई कानुनी दायरामा लिन निकटवर्ती भारतीय प्रहरी अधिकारीहरुसँग पनि छलफल भइरहेको छ ।’


विस्फोट श्रृंखला

चुनावलाई लक्षितगरी वाम गठबन्धनको प्रचार प्रसार सम्पर्क कार्यालयमा मंसिर ८ बाट सुरु भएको जिल्लामा बम विस्फोट श्रृंखला सरकारी कार्यालयदेखि व्यावसायिक पसलसम्म हुन थालेको छ । त्यतिखेर सिरहाको मिर्चैया ५ स्थित वाम गठबन्धनको चुनावी सम्पर्क कार्यालयमा मंसिर ८ गते प्रेसर कुकर बम विस्फोट भएको थियो । विस्फोटमा मानवीय क्षति भएन ।


चुनाव सकिएपनि लगत्तै मंसिर २८ मा लहानको मूख्य चोकस्थित साइकल स्टोर्समा मध्यान्ह बम विस्फोट भएको थियो । २४ सैं घण्टा सशस्त्र र नेपाल प्रहरी डयुटिमा खटिने अति व्यस्त रहने मूख्य चोकमा अपरिचित एक युवकले साइकलमाथि झोलामा राखेको अवस्थामा मध्यान्ह पौने एकबजे बम विस्फोट भएको थियो ।


त्यस लगतै पुस ७ गते शुक्रबार सिरहा सदरमुकाम सिरहा बजारस्थित मालपोत कार्यालय प्रमुखको कक्षबाहिर लबिमा राखिएको सोफामूनी दिउ्रँसो २ बजे बम विस्फोट भएको हो । प्रेसर कुकर बम विस्फोटमा पर्खालमा क्षति पुगेको थियो ।


विस्फोटमा परी सिरहा नगरपालिका ११ का राजकुमार पासवान, रोशन र पवन पासवान घाइते भएका थिए ।


यी विस्फोटनमा प्रेसर कुकरको प्रयोग भएको छ । मिर्चैया र लहानको विस्फोटमा जयकृष्ण गोइतद्वारा हस्ताक्षरित जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को अपिल फेला परेको थियो । अपिलमा ‘स्वतन्त्र तराई’ को माग गरिएको थियो ।


यसैगरी अज्ञात समूहले सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा गत वैशाख २८ बिहीबार बम विस्फोट गराएको थियो । सेवाग्राही घुइचो रहने कार्यालयमा १२ बजेतिर ठूलो आवाजसहित भएको वम विस्फोटमा कुनै मानवीय क्षति नभएपनि शौचालयको भित्ता र झयालका सिसा फुट्यो ।

घट्नास्थलबाट हरियो झोलाको फित्ता, प्रेशर कुकरको सिठी र कन्टेनर फेला परेको थियो ।


चोट लागेको अस्पताल पुगेपछि थाहा भयो : घाइते विनिता चौधरी

म र अस्मीता दुईजना स्टाफ सदाझैं पसलमा ग्राहकलाई गरगहना देखाउँदै थियौं । शुक्रबार हाट लाग्ने भएकाले अरुदिन भन्दा ग्राहकको भीड बाक्लै थियो । पसलमा हामी दुईसहित सञ्चालक विकास सारडा र राहुल सारडा पनि पसलमैं थियौं । ग्राहकले सुनचाँदी बिक्री गर्ने क्रम चलिरहेको थियो । दिउँसो पसलभित्रै ठूलो आवाजमा विस्फोट भयो । पसलका सिसाहरु यत्रतत्र छरिएछ । मेरो देब्रे पाखुरा र अस्मिताको दुवै खुट्टामा सिंसाले लागेछ । एकै पटक अस्पतालमा पुगेपछि मात्र थाहा भयो ।

प्रकाशित : चैत्र ९, २०७४ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?