२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

साउदीमा मृत्युदण्ड पाएका नेपालीलाई पाकिस्तानी परिवारबाट माफी  

होम कार्की

काठमाडौँ — साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई पीडित परिवारले बुधबार माफी दिएका छन् । पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा यादव जुवेल जेलमा बसिरहेका छन् । 

साउदीमा मृत्युदण्ड पाएका नेपालीलाई पाकिस्तानी परिवारबाट माफी  

पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पीडित पक्ष र उमेशका तर्फबाट क्षमा माग्न पुगेका सरोज रायबीच सौहर्दापूर्ण छलफल भएपछि पीडित पक्ष उमेश यादवलाई माफी दिन तयार भएको हो । पीडित पक्षलाई पीडक पक्षले ब्लडमनि दिन तयार भएको छ । ब्लडमनिबापतको रकम खुलाइएको छैन ।


११ वर्षअघि यादवलाई पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या गरेको आरोप लागेका थिए । ६ वर्षअघि नै स्थानीय अदालतले उनलाई मृत्युदण्ड दिने फैसला गरेको थियो ।


मोहम्मदका दाजु सफिकले आफूहरुलाई ठूलो पीडा भए पनि माफी दिएको बताए । ‘हामीलाई ठूलो पीडा छ । हामीसँग राम्रो भएन । फेरि पनि अल्लाहलाई साक्षी राखी माफी दियौं,’ उनले भने ।


दुई परिवारबीच मेलमिलापको लागि भूमिका खेलेका पाकिस्तानी वकिल मुहम्मद नुक्वासले पीडित पक्षले माफी दिएर पाकिस्तानीहरु ठूलो दिल भएको नागरिक भएको प्रमाणित गरेको बताए । ‘हामी पाकिस्तानी निकै ठूलो दिल भएको मानिस हौं । यसलाई पीडित पक्षले पुष्टि गरेको छ,’ उनले भने ।


उमेशलाई क्षमा दिनको लागि काठमाडौंबाट फैसलवाद पुगेका सरोज रायले आफ्नो मिसन पूरा भएको भन्दै खुसी ब्यक्त गरे । ‘अन्तत : हामी उमेशलाई मृत्युदण्डबाट बचाउन सफल भयौं । पीडित परिवारले ब्लडमनि स्वीकार गरेका छन् । त्यसबारे पछि बताउनेछौं,’ उनले भने, ‘यहाँसम्म आउन साथ दिने सबै साथीभाइप्रति आभरी ब्यक्त गर्दछु ।’


पीडित परिवारलाई भेटाउनका पाकिस्तानी नागरिक जनाव जैइब कलमटयी र फरान अदिललगायतले सहयोग गरेका थिए । जनकपुस्थित युवा संघका मोहम्मद रियाज साफीले समन्वय गरेका थिए ।

प्रकाशित : वैशाख १२, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?