कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

जब चिन्दै नचिनेको व्यक्तिलाई अदालतले श्रीमान् बनाइदियो...

कृष्ण ज्ञवाली

काठमाडौँ — जिन्दगीभर साथ दिन्छु भनेर बिहे गरेका श्रीमान्‌ले पेन्सनपट्टा बनाउने बेलामा सौता ल्याए । तिनैलाई सजाय दिलाउन र छोराछोरीको प्राण धान्न कानुनी उपाय खोज्दा बाग्लुङकी नीरमाया पुनलाई नसोचेको आपत आइलाग्यो । लोग्नेले अर्की लिएर हिँडेको पीडामा छटपटिएकी नीरमायालाई जिल्ला अदालत दाङले अर्कैकी श्रीमती भनी कानुनी ल्याप्चे लगाइदियो ।

जब चिन्दै नचिनेको व्यक्तिलाई अदालतले श्रीमान् बनाइदियो...

चिन्नु न देख्नु, दाङ हासिपुरका दीपक भनिने फनाधर घर्तीमगरलाई अदालतले उनको श्रीमान् ठहर गरिदियो । उजुरी परेका बेलासम्म दाङमा पाइलासमेत नहालेकी नीरमायालाई कहिल्यै अनुहारसमेत नदेखेको व्यक्तिलाई पति कायम गरिदिने २०७४ जेठ २९ गतेको फैसलाले आकुलव्याकुल बनाएको छ ।


‘बालबच्चाको बिचल्ली छ, तिनैलाई स्याहारसुसार गर्ने मेलो होला भनेर अंश र बहुविवाहको मुद्दा लडेकी थिएँ, मलाई त अदालतले अर्कैको श्रीमती भनिदियो,’ आफ्नो पीडा बताउन कान्तिपुर दैनिककै कार्यालयमा आएकी नीरमायाले भनिन्, ‘नखाएको विषसमेत लाग्दोरहेछ । देख्दै नदेखेको व्यक्तिलाई श्रीमान् हो भनिदिएको छ, जाँदै नगएको ठाउँमा बिहे गरेको भनेको छ । म त न्याय खोज्न अदालत गएको, अन्यायमा पो परें ।’


२०७२ साउन २७ : जिल्ला अदालत बाग्लुङमा बहुविवाहको मुद्दा दायर

जिल्ला अदालतको फैसलापछि उनले न्यायपरिषदका साथै प्रधानन्यायाधीशको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत उजुरी दिएकी छन् । बालबच्चाको हेरचाहका लागि काठमाडौंमा बहिनीसँग बसेकी उनले दाङ, कास्की र बाग्लुङ गरी ९ वटा मुद्दा झेलिरहेकी छन् ।


यस्तो थियो घटनाक्रम

प्रसंग सुरु हुन्छ, भारतीय सेनामा कार्यरत बाग्लुङका प्रेमबहादुर पुनको टुंगिन लागेको लाहुरे जीवनबाट । प्रेमले अवकाश पाउने बेलामा पेन्सनपट्टा बनाउन पत्नी नीरमायालाई भारत लैजान्छन् । त्यस क्रममा प्रेमबहादुरले हकवालामा ‘दुईजना’को नाम राख्न खोज्छन् । त्यसको कारण खोज्ने क्रममा आपसमा बाझाबाझ हुँदा प्रेमबहादुरले अर्को विवाह गरेको र कान्छी श्रीमतीलाई समेत हकवालाका रूपमा राख्न खोजेको रहस्य खुल्छ ।


२०७२ असार २२ : विद्यालयबाट अभिभावकको नामसहित बालबालिकाको विवरण तयार

२०५६ असोज ८ गते लगनगाँठो कसेको करिब दुई दशकपछि लोग्ने पेन्सनमा घर फर्केलान् र सँगै दु:खमसुखम गरौंला भनेर पर्खिरहेकी नीरमायालाई छलेर एक छोरी र छोराका पिता प्रेमबहादुरले अर्को विवाह गरे । नीरमायाले नेपाल फर्किएलगत्तै २०७२ भदौमा कास्की जिल्ला अदालतमा बहुविवाह, अंश र छोराछोरीको जिम्मा पाऊँ भनी तीनवटा मुद्दा दायर गरिन् । उनले पति प्रेमबहादुर र कान्छी पत्नी खिममायालाई प्रतिवादी बनाइन् । उनीहरूको स्थायी ठेगाना बाग्लुङ भएकाले बहुविवाह र अंश मुद्दा कास्कीबाट बाग्लुङ जिल्ला अदालत पुग्यो । त्यसकै आधारमा भारतको हिमाञ्चल प्रदेशमा कार्यरत श्रीमान्‌को पेन्सनपट्टासमेत रोक्का भयो । २०७२ साउन २७ गते जिल्ला अदालत बाग्लुङमा दर्ता भएको मुद्दा असोज ११ र कात्तिक ११ गते पेसीमा चढेर साक्षी बुझ्ने आदेश भएपछि घटनाले नाटकीय रूप लियो ।


नयाँ पात्रको प्रवेश

२०७२ कात्तिक २२ गते जिल्ला अदालत बाग्लुङमा नयाँ पात्रको प्रवेश भयो । मुद्दामा कुनै साइनो र सरोकार नभएका दीपक भनिने फनाधर घर्तीमगरले प्रेमबहादुर पुनकी पत्नी नीरमायालाई आफूले बिहे गरेको भनी बयान दिए । जिल्ला अदालत दाङबाट प्राप्त मिसिलअनुसार, निमित्त जिल्ला न्यायाधीश शंकर सापकोटाको इजलासमा उनले भने, ‘जाहेरवाला नीरमाया पुन मेरो श्रीमती पर्छिन् । २०६८ भदौ १ गतेका दिन पोखरा रामबजारमा विवाह भई लोग्नेस्वास्नी बनी बसेका हौं ।’


२०७२ कार्तिक २२ : नीरमाया आफ्नो पत्नी रहेको दाबी गर्दै फनाधर घर्तीमगरद्वारा बागलुङ अदालतमा बयान

उनले बयानकै क्रममा नीरमाया पछिल्लो समय आफूसँग सम्पर्कविहीन भएको उल्लेख गर्दै भेटघाट र बोलचालसमेत नभएको बताए । आफूलाई २५ दिन कास्की प्रहरीले थुनामा राखेको र त्यसको कारणसमेत थाहा नभएको बयान दिए । बालबच्चाका अभिभावकको नाम, पुरानो घरजमलगायतका विषयमा समेत उनीमाथि अदालतमा सोधपुछ भयो । नीरमायाले आफ्ना पति प्रेमबहादुर र सौता भनी दाबी गरेकी खिममायाविरुद्ध दायर गरेको मुद्दा जिल्ला अदालत बाग्लुङमा चलिरहेको थियो । मुद्दा कहिले सरकारी वकिल त कहिले विपक्षीका कानुन व्यवसायीबाट पटकपटक स्थगित भएको थियो । त्यसै क्रममा प्रेमबहादुरका कानुन व्यवसायीले मुद्दा स्थगितको माग मात्रै राखेनन्, जाहेरी दिने नीरमाया र दीपक भनिने फनाधर घर्तीविरुद्ध नै दाङ जिल्ला अदालतमा बहुविवाहको मुद्दा परेको खबर गरे । नीरमाया छाँगाबाट खसेझैं भइन् ।


जिल्ला अदालत कास्कीबाट मुद्दा टुंगो लाग्नु त कता हो कता, उल्टै दाङमा आफूविरुद्ध मुद्दा लागेको थाहा पाएपछि नीरमाया सहयोगी बहिनी विष्णुमाया गुरुङका साथ दाङ पुगिन् । बिनाआधार आफूसँग नाम जोडिएका दीपक भनिने फनाधरकी पत्नी चेमा घर्तीले नीरमाया र फनाधरविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिई जिल्ला अदालतमा मुद्दा दायर गरेको उनले थाहा पाइन् । त्यस क्रममा नीरमायाका पति प्रेमबहादुर र अरू केही कानुन व्यवसायीको समेत दाङमा ‘दौडधुप’ चलेको उनले थाहा पाइन् ।

बहुविवाह गरेको भनी पति र सौताविरुद्ध मुद्दा हालेकी बाग्लुङकी नीरमाया पुनले न्याय पाउनु त कता हो कता, अदालतले उल्टै चिन्दै नचिनेको मान्छेलाई लोग्ने कायम गरिदिने फैसला गर्‍यो

के के भयो, त्यसका लागि सम्बन्धित मिसिल र फैसला नै हेर्नुपर्छ । सायद त्यसमा अपिल भयो होला । नहेरी यसै भन्न सकिएन : चुरामन खडका, न्यायाधीश

त्यस क्रममा अदालतको अवहेलनादेखि गालीबेइज्जतीसम्मका मुद्दा थपिँदै गए । फनाधरलाई अचानक मुद्दामामिलामा प्रवेश गराएको समूहले त्यतिमै चित्त बुझाएन । पोखरा नजिकैको कास्कीको लेखनाथ २९ भण्डारढिकमा रहेको जनप्रकाश माविमा समूह पुग्यो । नीरमायाका छोराछोरीको नामसँग मिल्ने गरी उनीहरूले प्रतिमा पुनलाई ६ र प्रतिम पुनलाई १ कक्षामा भर्ना गराए । अनि बाबुका नाममा दीपक पुन र आमाका नाममा माया पुन लेखाए । उनीहरूले ठेगानासमेत हासीपुर-७, राप्ती दाङ भनी उल्लेख गरिदिए । विद्यालयले कुनै कागजात र प्रमाणपत्रबिना हचुवाका भरमा विद्यार्थी र बाबुआमाको नाम लेख्यो । ती विद्यार्थी एकदिन पनि विद्यालयमा उपस्थित हुनु त टाढाको कुरा, विद्यालयमै पाइलो टेकेनन् ।


नखाएको विष लागेपछि...

दाङमा अर्को मुद्दा दर्ता गरेको खबरपछि बाग्लुङ जिल्ला अदालतले मुद्दा मुल्तवीमा राखेका कारणले त्यसको कथावस्तु तत्काललाई टुङ्ग्याइयो । दाङमा दर्ता भएको बहुविवाहको मुद्दामा अदालतले फनाधर घर्तीले नीरमाया पुनसँग बहुविवाह गरेको ठहर गर्‍यो । न्यायाधीश चुरामन खडकाको इजलासले २०७४ पुस २९ गते गरेको फैसलामा फनाधरलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला गर्‍यो भने नीरमायाका हकमा ‘जानाजान बहुविवाह गरेको नदेखिएको’ आधार देखाई कुनै सजाय गरेन । ‘देख्दै नदेखेको मान्छेलाई अदालतले तेरो लोग्ने हो भनेपछि मलाई त सुरुमा हाँसो उठ्यो,’ नीरमायाले भनिन्, ‘यही फैसला लिएर मेरो लोग्ने प्रेमबहादुरले पल्टनबाट रोक्का भएको २० लाख रुपैयाँ र पेन्सनपट्टासमेत निकालेछन् । त्यसपछि बल्ल मलाई यस्तो किन गरिएको छ भन्ने थाहा भयो ।’


२०७२ मंसिर ११ : फनाधरले दबाबमा बयान गरेको भनी कबुलियतनामा गरे ।

दाङमा दर्ता भएको बहुविवाहको मुद्दा र ठहर हुने फैसलाका आधार भने रोचक छन् । आफ्नो पति फनाधरले बहुविवाह गरेको भन्दै चेमा घर्तीमगरको जाहेरीबाट दर्ता भएको मुद्दामा लोकबहादुर घर्तीमगरको जाहेरी, फनाधर घर्तीमगरले जिल्ला अदालत कास्कीमा दिएको बयान र विद्यालयमा गरेको भर्नाको कागजातलाई आधार मानी अदालतबाट बहुविवाह हुने ठहर भएको हो । मजदुरी गरेर सामान्य जीवन बिताएकी चेमाले समेत आफ्नो मुद्दामा सरकारी वकिलले प्रतिरक्षा गदागर्दै नीजि कानुन व्यवसायीसमेत राखेकी थिइन्, जुन अलि अपत्यारिलो देखिन्थ्यो । तर फैसलाका क्रममा आधार लिइएका तीनवटै विषयवस्तु भने विवादमुक्त हुन सकेनन् । रोचक त के छ भने, कतिपय विवरण झुटा हुन् भनी निवेदन परेको अवस्थामा तिनका बारेमा ‘कुनै उल्लेख नै नभई’ मुद्दा फैसला भएको छ । बुझ्नुपर्ने प्रमाणहरू बेवास्ता गरिएको र विवादास्पद प्रमाणलाई स्वीकारिएको देखिन्छ ।


जिल्ला अदालत दाङले बहुविवाहको आरोपमा दीपक भनिने फनाधर घर्तीमगर फरार रहेको उल्लेख गरेको छ । फनाधरले प्रेमबहादुर पुन जोडिएको बहुविवाह मुद्दामा कास्की जिल्ला अदालतमा बयानका क्रममा २०६८ भदौ १ गते नीरमायासँग विवाह गरेको भनी बयान दिएको भन्दै जिल्ला अदालत दाङले बहुविवाह ठहर्ने फैसला गरेको थियो । ‘दीपक भन्ने फनाधर घर्तीले यी नीरमाया पुनसँग २०६८ साल भदौ १ गते विवाह गरेको भनी प्रस्तुत मुद्दाको अभियोग दाबीलाई स्वीकार गरेको पाइन्छ,’ फैसलामा भनिएको छ, ‘उनले बाग्लुङ जिल्ला अदालतमा यी नीरमायासँगको वैवाहिक अवस्थाको पुष्टि हुने गरी गरेको बयानलाई प्रमाणमा लिन मिल्ने नै देखिन्छ ।’


२०७२ मंसिर २८ : नीरमाया पुन र फनाधर घर्तीमगरविरुद्ध जिल्ला अदालत दाङमा बहुविवाह मुद्दा दायर

फनाधरले जिल्ला अदालत बाग्लुङमा गरेको भनिएको बयानसमेत विवादमुक्त हुन सकेन । फनाधरले नीरमायालाई आफूले विवाह गरेको भनी जिल्ला अदालत बाग्लुङमा बयान गरेका छन् । तर त्यस क्रममा मुद्दाको दुवै पक्ष उपस्थित हुनुपर्नेमा नीरमाया पक्षलाई त्यसबारे कुनै जानकारी दिइएन । अर्कोतर्फ २०७२ कात्तिक २२ गते निमित्त न्यायाधीश शंकर सापकोटाको इजलासमा बयान गराएको भनी उल्लेख छ । जिल्ला अदालतमा रहने सबै न्यायाधीशहरू अनुपस्थित भएमा श्रेस्तेदारले बयान लिन पाउँछन् । यसरी बयान लिँदा त्यसको बेहोरा उल्लेख गरी श्रेस्तेदारको उपस्थितिमा बयान गराउने व्यवस्था छ । न्यायाधीशहरूको अनुपस्थितिमा श्रेस्तेदारको इजलास गठन हुने भए पनि उनले ‘निमित्त न्यायाधीश’ लेख्न नमिल्ने एक जिल्ला न्यायाधीशले कान्तिपुरलाई बताए । नेपालको संविधानमा सर्वोच्चदेखि जिल्ला अदालतमा ‘निमित्त न्यायाधीश’को परिकल्पना छैन । बाग्लुङमा भने निमित्त न्यायाधीश भनी गराएको ‘विवादास्पद’ बयानलाई जिल्ला अदालत दाङले प्रमाणका रूपमा स्वीकारेको छ ।


अर्कोतर्फ जिल्ला अदालत कास्कीमा २०७२ वैशाख १० गते बनेको एउटा लिखतसमेत रोचक छ, जसमा फनाधर घर्तीमगरले प्रेमबहादुरकी कान्छी श्रीमती खिममायालाई एक कबुलियतनामा गरी प्रेमबहादुरकी जेठी श्रीमती नीरमायालाई आफूले लगेको र नीरमायाले प्रेमबहादुरसँग कुनै हक नमाग्ने भनी ‘शंकास्पद’ कबुलियतनामा गराएका छन् । त्यसमा भनिएको छ, ‘म दीपक घर्तीमगरले अब आइन्दा प्रेमबहादुरलाई यी नीरमायाप्रति कुनै आर्थिक दायित्व बेहोर्न लगाउनेछैन ।’


उनैले फेरि मंसिर ११ गते अर्को कबुलियतनामा गराई ‘प्रेमबहादुरले झूटा कागजात बनाई अंशमा ठग्ने नियतले विभिन्न ठाउँमा कागजात पेस गरेको’ भनी उल्लेख छ । यी विवाद र कागजातका बारेमा भने दाङ जिल्ला अदालतको फैसलामा व्याख्या विश्लेषण भएको देखिँदैन ।

बयानमै नभएको तथ्यलाई जिल्ला अदालत दाङले फैसलामा समावेश गरेको समेत भेटिएको छ । चेमा घर्तीमगरका पक्षमा बकपत्र गर्ने लोकबहादुर पेङ्ग्रीले ‘फनाधर घर्तीमगरले बिहेपछि भोजभतेर गरेको, नीरमाया पुनलाई दाङकै फनाधरका घरमा देखेको’ भनी बयान गरेको भन्दै फैसलामा त्यसलाई बहुविवाह पुस्ट्याइँ हुने आधारका रूपमा व्याख्या गरिएको छ । तर बयानमा भने लोकबहादुर पेङ्ग्रीले ‘नीरमायालाई फनाधरका घरमा देखेको छु’ भनी कतै उल्लेख गरेका छैनन् । बरु भगाई बिहे गरेको साँचो हो भनी बकपत्र गरेका छन् । बकपत्र र मिसिलमा नभएको विवरण फैसलामा समावेश गरिनु निष्पक्ष न्यायसम्पादनको अभाव हो ।


बहुविवाहको मुद्दाका क्रममा पेस भएको अर्को शंकास्पद कागजातलाई समेत दाङ जिल्ला अदालतले प्रमाणका रूपमा स्वीकारेको छ । जिल्ला अदालतले फैसलामा ‘फनाधरले बयानका क्रममा लेखनाथ-१, भण्डारढिक कास्कीमा रहेको जनप्रकाश उच्च माविमा प्रतिमा र प्रतिम पुनलाई विद्यालयमा भर्ना गरेको र बाबु/आमाका नाममा दीपक पुन र माया पुन भनी उल्लेख गरेको पाइन्छ’ भन्दै दुवै जना पोखरामा सँगै बसेको पुष्टि हुने उल्लेख छ ।


२०७४ जेठ २९ : नीरमाया पुनसँग बहुविवाह गरेको ठहरसहित फनाधर घर्तीमगरविरुद्ध एक वर्ष कैद र ५ हजार जरिवाना

अदालतले न्यायनिरुपणका क्रममा विद्यालयको उक्त कागजातलाई समेत शंकारहित रूपमा पुष्टि गराउनुपर्ने जरुरी देखेन । एउटा समूहले विद्यालयमा गएर भर्ना गरेको भए पनि दुवै बालबालिका भने विद्यालय पुगेका थिएनन् । अर्कोतर्फ फनाधर घर्तीमगरको नामसमेत विद्यालयमा ‘दीपक पुन’ भनी उल्लेख गरेको छ, जुन कुनै हालतले मिल्दैन । तत्कालीन प्रधानाध्यापक शिवमणि भण्डारीको पत्र खण्डन हुने गरी नयाँ निमित्त प्रधानाध्यापक शेखरनाथ शर्माले उल्लिखित नाम भएका विद्यार्थी विद्यालयमा भर्ना नै नभएको भनी पत्र लेखिदिएका छन्, जसबाट अदालतले प्रमाणका रूपमा लिएको विद्यालयको पत्र झुटो भएको प्रमाणित गर्छ ।


विद्यालयमा शंकास्पद रूपमा विद्यार्थी भर्ना भएको र पछि एउटा समूहले विद्यालयबाट कागज बनाई लगेको जनप्रशासन उच्च माविको प्रशासनमा कार्यरत होमनाथ ढकालले बताए । उनका अनुसार २०७२ सालमा एउटा समूह आएर ती विद्यार्थी भर्ना गरेको हो । त्यतिबेला उनीहरूले कागजात नल्याई विद्यार्थी भर्ना गरे । ढकाल भन्छन्, ‘बच्चा पढाउन पाउनुपर्‍यो भनेपछि केही समयपछि कागजात ल्याउने गरी भर्ना गरिएको हो । पछि उहाँहरूको समूह नै आएर विद्यार्थी र अभिभावकको नाम राखी कागजात लिएर गएको हो । शिव सर (शिवमणि भण्डारी) ले प्रमाणित गरेर दिनुभएको थियो ।’


आफ्नो नाम जोडेर फर्जी रूपमा विद्यार्थी भर्ना गरेको थाहा पाएपछि नीरमाया सहयोगी विष्णु गुरुङलाई लिएर विद्यालयमा पुगिन् । प्रशासनमा कार्यरत ढकालले पनि यसको पुष्टि गरे । उनले भने, ‘पछि अर्का व्यक्तिहरू आएर खोजतलास गर्दा बाबुआमाको नाम फरक परेको भेटिएपछि हामीले फेरि पत्र लेखेर दिएको हो ।’


२०७४ साउन १९ : जनप्रकाश माविले पत्र पठाई ०७२ असार २२ गतेको मितिमा जारी पत्रको खण्डन

मुद्दाको फैसला गर्ने दाङका तत्कालिन न्यायाधीश खडका भने हाल सरुवा भएर काठमाडौं जिल्ला अदालतमा छन् । उनले मुद्दाबारे आफूलाई यकिन जानकारी नभएको संक्षिप्त प्रतिक्रिया दिए । उनले भने, ‘के के भयो, त्यसका लागि सम्बन्धित मिसिल र फैसला नै हेर्नुपर्छ । सायद त्यसमा अपिल(पुनरावेदन) भयो होला । नहेरी यसै भन्न सकिएन ।’


नीरमायामाथि लागेको बहुविवाहको मुद्दा फैसलाका क्रममा जिल्ला अदालत दाङका न्यायाधीश चुरामन खडकाले हदम्यादको प्रश्नमाथि समेत सविस्तार व्याख्या गरेका छन् । कानुनी व्यवस्थाअनुसार, त्यतिबेला कुनै व्यक्तिले बहुविवाह गरेको थाहा भए ३५ दिनभित्र उजुरी दिनुपर्थ्यो । चेमा घर्तीमगरको पक्षले २०७२ भदौ ३० मा घर दाङमा भोजभतेर भएपछि मात्रै आफ्नो लोग्नेले बहुविवाह गरेको थाहा पाएको भनी बयान दिएकी थिइन् तर जनप्रकाश माविले भने ‘जोजससँग सम्बन्धित छ’ भनी २०७२ असार २२ गते नै पत्र जारी गरेको छ र चेमा पक्षधरले त्यसलाई महत्त्वपूर्ण प्रमाणका रूपमा पेस गरेका छन् । उक्त पत्रअनुसार मुद्दा दायर गर्ने हदम्यादसमेत २०७२ साउन २७ गते टुंगिएको देखिन्छ ।


२०७४ साउन र भदौ : जिल्ला अदालतको फैसलाविरुद्ध नीरमाया पुन र सरकारी वकिलको छुट्टाछुट्टै पुनरावेदन

वैशाखको पहिलो साता न्यायपरिषदमा उजुरी दर्ता गरेर कान्तिपुर परिसर आइपुग्दा नीरमाया पुन थकित देखिन्थिन् । उनीसँग जोडिएका दुई मुद्दा दाङ जिल्ला अदालतबाट टुंगिएर उच्च अदालत तुलसीपुरमा पुगेको छ । अझै सरकारी वकिलले त नीरमायालाई समेत सजाय हुनुपर्ने भन्दै पुनरावेदन हालेका छन् । बाग्लुङ र कास्की जिल्ला अदालतमा समेत अंश मानाचामल, छोराछोरी जिम्मा पाऊँ भन्ने र गालीबेइज्जती मुद्दा चलिरहेका छन् । ‘मागेको निसाफ पाउन त परै जाओस्, नदेखेको र चिन्दै नचिनेको मान्छेलाई अदालतले लोग्ने भनिदिएपछि मेरो चैन हराएको छ,’ नीरमाया एकोहोरो आफ्नो गुनासो पोखिरहेकी थिइन्, ‘विश्वास लाग्दैन भने म बसेको ठाउँमा हेर्न हिँड्नुस्, मेरा छोराछोरीको बिचल्ली छ, अदालतले कस्तो न्याय गरेको हो ?’

प्रकाशित : वैशाख १३, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?