प्रदेश नं. २ को सुरक्षा संवेदनशील : गृहमन्त्री थापा

पवन यादव

निजगढ — सुरक्षाको दृष्टीकोणले २ नं. प्रदेश नै सबभन्दा बढी संवेदनशील भएको केन्द्रीय गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

प्रदेश नं. २ को सुरक्षा संवेदनशील : गृहमन्त्री थापा

बाराको सिमरास्थित ईच्छा होटलमका बुधवार आयोजित २ नं. प्रदेश स्तरीय सुरक्षा रणनीति विषयक गोष्ठीमा उनले प्रदेश २ को आवश्यक सुरक्षा रणनीति अपनाउन गृह मन्त्रालय गम्भिर रहेको बताए ।


‘अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले त्यसै अनुसारको सुरक्षा योजना बनाउँदै गृह मन्त्रालय अघि बढ्छ,’ उनले भने, ‘यहाँका सुरक्षाधिकारीलाई त्यसैअनुसार गर्न गराउन निर्देशित गर्छु ।’


खुल्ला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भष्ट्राचार, प्राकृतिक बिपद्जस्ता समस्या २ नम्बर प्रदेशमा बढी देखिने गरेको उनले बताए । त्यसैले सुरक्षा गोष्ठीको सुरुवात पनि यसै प्रदेशबाट गरिएको उनले जनाए । उनका अनुसार गोष्ठीले २ नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको बिषयमा महत्वपुर्ण कार्ययोजनासहितको निष्कर्ष निकाल्ने जिकिर गरे ।


‘यो गोष्ठी महाविद्यालय पनि हो, यहाँ हामी नयाँ परिवेशमा उत्पन्न भएका सुरक्षाको बिषयमा गहन छलफल गर्छौ र नयाँ कार्ययोजनासहित सुरक्षा रणनीतिको निष्कर्ष निकाल्छौ,’ उनले भने, ‘जसले जनताको सुरक्षा, जनतालाई दिईने सेवालाई सहज बनाउन मद्दत गर्छ ।’ देशका ७ वटै प्रदेशमा गरिने सुरक्षा गोष्ठीको सुरुवात २ नम्बर प्रदेशबाट गर्नुमा राजनीतिक अस्थिरता एउटा कारण रहेको उनले बताए ।


२ नम्बर प्रदेशमा राजनीतिक स्थायित्वलाई सुदृढ बनाएर अघि बढ्न अति आवश्यक रहेको भन्दै गृहमन्त्री बादलले यसै गोष्ठीले त्यस बिषयमा जोड दिएर छलफल गर्ने बताए ।


‘राजनतीनिक स्थायित्व पहिलो आवश्यकता हो, हामी त्यसलाई प्राथमिकतामा राखेर छलफल गर्छौं’ गृहमन्त्री थापाले भने ‘देशको समग्र सुरक्षा ब्यवस्थालाई ब्यवस्थित गर्न र जनताले पाउने सेवालाई मध्यनजर गर्दै गृहमन्त्रालयले भर्खरै ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।’ गृहमन्त्रालय मातहत रहेका सबै निकायलाई काम गर्न कार्ययोजनाले दिशानिर्देश गर्ने उनको भनाई थियो ।


‘हामीले ८२ बुँदे कार्ययोजना प्रतिपादन गरेका छौं, यो कार्ययोजना देशभरका सुरक्षा र अन्य निकायलाई पठाउने तयारीमा छौं’ उनले भने, ‘कार्ययोजनाले देखाएको बाटोमा अघि बढ्न सकियो भने सामाजिक सुशासन कायम हुनेछ ।’ यसको लागि सबैले आ–आफ्ना भुमिका ईमान्दारीपूर्वक निभाउनु पर्ने मन्त्रालय विश्वश्त रहेको उनले बताए ।


गोष्ठीमा गृह सचिव प्रेमकुमार राई, प्रदेश निमित्त प्रमुख हरी फुयाल, प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललगायत सुरक्षा निकायका उच्च अधिकारी, ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुख लगायतको उपस्थिति थियो ।





प्रकाशित : वैशाख १३, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?