कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

३ करोड बढी ठगी आरोपमा लेखा अधिकृत पक्राउ

उदयपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठगी आरोपमा कटारी नगरपालिकाका लेखा अधिकृत रविचन्द्र ढकाललाई पक्राउ गरेको छ । नगरपालिका कोषको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको आरोपमा ढकाल बुधबार पक्राउ परेका हुन् । 

३ करोड बढी ठगी आरोपमा लेखा अधिकृत पक्राउ

३ करोड बढी ठगी गरेर फरार भएका ढकाललाई अख्तियार टोलीले काठमाडौंबाट पक्राउ गरेको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘समातेर अख्तियारको जिम्मा लगाइयो,’ उनले भने । लेखा अधिकृत खोज्दै मेयर श्रेष्ठ पनि काठमाडौं पुगेका थिए ।


ढकालले फागुन २७ गते १ करोड ९८ लाख ७५ हजार र चैत २६ गते १ करोड ९८ लाख ७५ हजार रुपैयाँ आफ्नो व्यक्तिगत खातामा दाखिला गरेको आरोप लागेको छ । उनले कटारीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा रहेको नगरपालिकाको खाताबाट रकम व्यक्तिगत खातामा सारेको पाइएको छ । ढकालले नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण प्रयोजनका लागि भन्दै ३ करोड ९७ लाख ५० हजार रुपैयाँ खातामा जम्मा गरेको बैंकले जनाएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुण्य लुइँटेलले हस्ताक्षर गरेको नगरपालिकाको पत्र अनुसार लेखा अधिकृत ढकालको व्यक्तिगत खातामा रकम जम्मा भएको बैंक प्रबन्धक उमापति बाँस्तोलाले बताए ।

‘सामाजिक सुरक्षा भत्ता वितरणका लागि भन्दै लेखा अधिकृत ढकालले आफ्नो खातामा रकम जम्मा गरेका थिए,’ प्रबन्धक बाँस्तोलाले भने, ‘उनको नाममा जम्मा भएको रकम राष्ट्रिय वाणिज्य बैंकको थापाथली काठमाडौंमा रहेको क्लियरिङ शाखाबाट खर्च गरेको देखिन्छ ।’


नगरपालिकको मुख्य कोषबाट अन्य खातामा रकमान्तर गर्ने क्रममा लेखा अधिकृतले पनि आफ्नो व्यक्तिगत खातामा रकमान्तर गरेर ठगी गरेको बैंक स्टेटमेन्टले देखाउँछ । ‘कोष तथा लेखा नियन्त्रण कार्यालयले नगरपालिकाको कोषमा जम्मा गरेको रकम लेखा अधिकृतले बीचबीचमा आफ्नो नाममा हालेर ठगी गरे,’ उपमेयर भीमकुमारी राउतले भनिन् । ढकालले भने सामाजिक सुरक्षा भत्ता वितरणका लागि रकम आफ्नो खातामा जम्मा गरेको दाबी गरेका छन् । ‘खातामा जम्मा गरेको रकम सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि गइसकेको छ,’ उनले भने ।

प्रकाशित : वैशाख १३, २०७५ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?