३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

झण्डै पढाई छाडेको

चन्द्र विश्वकर्मा

काठमाडौँ — एक दिन कक्षामा बाल्टिनको पानी छोएको निहुँमा एक जना सरले मलार्इ गाली गर्नु भएको थियो । त्यो पानी सबै बिद्यार्थी र शिक्षकले पिउनको लागि राखिएको थियो । उहाँले भन्नू भयो, 'यो अछुत दलित जातिले पानी छोएको रहेछ भोलिदेखि छुने होइन ।'

झण्डै पढाई छाडेको

देशमा जातीय विभेद तथा छुवाछूत गर्नेलाई कानुनी दायरामा लिएर कडा भन्दा कडा कारबाही गर्नुको साथै आजीवन कारावासको सजाय गर्ने हो, भने सायद समाजमा केही मात्रामा भएपनि जातीय विभेद र छुवाछूत कम हुने थियो होला । समाजमा गल्ती गर्नेले पनि सजिलै छुटकारा पाइरहेका छन् । जातीय विभेद तथा छुवाछूत गर्नेलाई सम्बन्धित निकायले किन ध्यान दिंदैन ? यसरी मानवबीच विभेद कहिलेसम्म हुने हो? विभेद र छुवाछत गर्दा मानिसलार्इ कतिसम्मको असर पर्छ भन्ने कुरा समुदायमा भएका शिक्षित वर्ग र बुद्धिजीवि भन्नेहरुलाई किन थाहा हुँदैन?


गाउँघर को त के कुरा गरौं र शहर बजारमा पनि जातीय विभेद तथा छुवाछूत दिनानुदिन वृद्धि भइरहेको छ । कथित सानो जात भएकै कारण कोठा भाडा पनि नपाउने चलन अहिलेको २१ औं शताब्दीसम्म पनि निरन्तर चलिरहेको छ । सबैलाई थाहै भएको कुरा हो मान्छे जन्मजात नै अछुत भएको हुँदै होइन । यो सबै कामको आधारमा जातजातिमा बिभाजन गरेको मान्छेले नै हो । तर पनि पढेलेखेका शिक्षित वर्ग तथा बुद्धिजीवि हुँ भन्नेले जातीय विभेद तथा छुवाछूत किन गरिरहेका छन? के मानव–मानव बीचमा कहिले समानता नहुने हो? जात भनेको त महिला र पुरुष मात्र हो, भनेर भन्नेहरुले किन समाजमा विभेद र छुवाछूत हुँदा चुप लागेर बस्छन्? आखिर सानो जात र ठूलो जातमा के नै फरक छ? काटे रगत सबैको रातै आउँछ तर पनि किन पशु सरह व्यबहार गरिरहेका छन ? २१ औं शताब्दी हो, जातीय विभेद तथा छुवाछूत गर्नु हुन्न भन्नेहरुको समाजमा कमी पनि छैन । जसरी हात्तीको देखाउने दाँत एउटा चपाउने दाँत अर्को हुन्छ नि त्यस्तै समाजमा पनि ठिक्क पार्ने मान्छेहरु मात्र बढी छन्, तर भित्रि मनमा अछुत भनेको अछुत नै हुन् भन्ने मानसिकता भएका मान्छेको पनि कमी भने पक्कै भएको छैन ।


बिद्यालय शिक्षा लिने एउटा पवित्र स्थल हो । यही पवित्र स्थलमा अध्यापन गराउने शिक्षक भगवान जस्तै हुन् । तर यही भगवानको रूपमा मानेको शिक्षकबाट मैले जातीय विभेद र छुवाछुटको व्यवहार भोग्नु पर्यो । शिक्षकले समाज परिवर्तन गर्नको लागि बिद्यार्थीलाई नयाँ ज्ञान दिनु हो, तर कुनै शिक्षक यस्ता पनि हुँदा रहेछन् की आफ्नै बिद्यार्थीलार्इ समेत जातीय विभेद र छुवाछुट गर्ने । जब शिक्षकले नै छुवाछूट गरेपछि अन्य साथीले पनि भेदभेद र छुवाछूत नगर्लान् भन्ने कुरै भएन । म मेरो वास्तविक जीवनको भोगाइ लेख्दै छु । मेरो घरदेखि श्री महेन्द्र रत्न माध्यमिक बिद्यालय नजिकै छ । मैले यहि स्कुल देखि पढाई सुरु गरें । जब म ३ कक्षामा पढ्दै थिएँ ।


त्यो समयमा म अछुत र दलित हो भनेर मलाई पनि थाहा थिएन । सबै साथीले मलाई अछुत र दलित भनेर गिज्याए । अनि मैले छोएको केही साथीले खान पनि मानेनन् । म एक दमै निरास भएर घर फर्किएँ । कक्षामा सबै साथीले अछुत दलित भनि गिज्याएको झल्को आइरहेको थियो । मेरो मनमा धेरै कुराहरु खेलिरहेको थियो । किन म मात्र अछुत र दलित भएको होला । सबै म जस्तै छन् तर उनीहरुले छोएको चल्ने मैले छुँदा नचल्ने यो कस्तो समाज होला । अनि मलाई स्कुल पनि जान मन लागेन किन की सबैले मलाई अछुत र दलित भन्छन् भनेर तर घरमा बाबाआमाले स्कुल जानु पर्छ भनेर दवाव दिनु भयो । जस्तो सुकै विभेद भएपनि मलार्इ निरन्तर स्कुल जानु पर्छ भन्ने भावना सिर्जना गरिदिनुभयो । म निरन्तर स्कुल गइरहें । केही समय पछि अलि परिवर्तन हुन थालेको आभाष हुन थाल्यो । सबै साथीले पनि बुझ्न थाले छुवाछूत गर्नु हुन्न भनेर । तर व्यबहारमा लागू गर्न भने सकेका थिएनन् ।


केही समय पहिलेको कुरा हो, मलाई एक जना मिल्ने साथीले उसको घरमा जान निकै कर गरे । हामीहरू धेरै मिल्ने साथि पनि हौं । हामी शहरमा हुँदा संगै बस्ने र संगै खाना पनि खान्थ्यौं । तर साथीले मलाई उसको घरमा बाहिर राखेर एक्लै खाना खुवायो । तर मलार्इ खान मन नहुँदा नहुँद पनि बाध्य भएर खाना खाएको थिएँ । साथीले भन्दै थियो, 'के गर्नु यार गाउँघरको चलन हो मान्नै पर्नै दुख नमान्नु है ।' हुन पनि मलार्इ दुख त लागेको थिएन । आखिर घरमा जाँदा छोइने शहर जाँदा नछोइने यो कस्तो चलन होला भनि मनमा धैरै कुरा खेलिरहेको थियो । साथी तिमी कति धेरै पढेलेखेका छौ तर पनि यति धेरै पढेलेखेर पनि तिमीले आफ्नो परिवारलाई बुझाउन सकेनौं । तर मलाई कुनै दुखमन छैन । तिमी जस्तो पढेलेखेको मान्छेले यस्तो विभेद गर्छौं भने अन्यको त कुरै नगरौं । हामीलाई त मान्छे नै नभनी पशु भन्दा नि तल्लो दर्जामा राख्छन् । तिमी कति महान र बुद्धिजीवि छौ, तर तिमीले किन समाजमा भएको रुढीबादी परम्परालाई त्याग्न सक्दैनौं?


कहिले कहिं त यस्तो लाग्छ की कस्तो सतीले सरापेको देशमा जन्म लिएका रहेछौं । कहिँ कतै नभएको जातीय व्यवस्था किन यही देशमा मात्र भयो होला? के नेपाली समाज भनेको जहिले रुढीबादी मै रुमलिने हो? २१ औं शताब्दीमा पनि किन समाजले काचुली फेर्न सकेको छैन? समाजका बुद्धिजीवि, भद्र भलाद्मीले किन नबुझेका होलान्? यसरी नै जातीय विभेद तथा छुवाछूत निरन्तर भइरह्यो भने अवस्य एक दिन काटमार नहोला भन्न सकिंदैन । जबसम्म समाजमा सीप र कलाको धनी समुदायलाई सधै दलित र अछुतकै बिल्ला लगाउने कोशिस जारी रहन्छ, तबसम्म यो समाजमा दिगो बिकास हुने सम्भावना पनि कम हुनेछ । यो समाजमा म मात्र होइन, धेरैले जातीय विभेद र छुवाछुट भोगिरहनु परेको छ । कसैले विभेदकै कारण पढार्इ देखि समाज नै छोड्नु पर्नेसम्मको घट्नाहरू दिनहुँ आइरहेकै छन् । अब पनि विभेद र छुवाछुतकै कारण कसैले पढार्इ र समाज नै छोड्न पर्ने अवस्था नहोस् । मानव सबै एक हुन सबैले समान जिउन पाउनु पर्छ भन्ने भावना सिर्जना गरौं । अनि यस मै सबैको भलो हुनेछ ।

प्रकाशित : वैशाख १३, २०७५ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?