२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि

अख्तियार र सतर्कता केन्द्रमार्फत् आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो
गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत् आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो ।

‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि

त्रिवि अनुगमन निर्देशनालयले अनुगमन तथा नियमन प्रक्रिया थालेको कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले बताए । अनुगमन गर्दा त्रिविको रेकर्डमा क्याम्पसको नाम, सञ्चालन गर्ने ठाउँ र सञ्चालक फेला नपरेका तथा कतिपय किनबेच भइरहेको फेला परेपछि खारेज प्रक्रिया अघि बढाइएको त्रिवि पदाधिकारीले जनाएका छन् ।


कतिपय क्याम्पसले त्रिविबाट सम्बन्धन तथा सञ्चालन अनुमति लिएका विषय तथा कार्यक्रम नपढाई रद्द गराएका विषय पढाइरहेका समेत भेटिएको छ ।त्यसैगरी सम्बन्धन मात्र लिएका केही क्याम्पसको भने कार्यालय, साइनबोर्ड र सञ्चालकसमेत फेला परेका छैनन् ।


त्रिविको सम्बन्धनप्राप्त २ सय ८७ क्याम्पसमध्ये १ सय २० वटाको अनुगमन प्रतिवेदन प्राप्त भएको छ । बाँकी रिपोर्ट आएलगत्तै कारबाही अघि बढ्ने खनालले जनाएका छन् । त्रिविको तथ्यांकमा देशभर ६० आंगिक र सम्बन्धनसहित १ हजार ८५ क्याम्पस छन् । तर, परीक्षा नियन्त्रण कार्यालयको रेकर्डमा १ हजार १ सय ८५ क्याम्पसले हरेक वर्ष परीक्षा दिलाउने गरेको देखिन्छ । त्रिवि पदाधिकारी भने यो तथ्यांक स्विकार्न तयार छैनन् ।


उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गत कक्षा ११ र १२ को पठनपाठन सुरु भइसक्दा पनि त्रिविले २०६५ सालसम्म प्रवीणता प्रमाणपत्र तह सुचारु राखेको थियो । त्रिविबाट सम्बन्धनप्राप्त सामुदायिक र निजी क्याम्पसले प्रमाणपत्र तह सञ्चालन अनुमति लिएका थिए भने उच्चमाविसमेत एकै ठाउँ सञ्चालन गरेका थिए । शिक्षा ऐन आठौं संशोधनले कक्षा १२ सम्म विद्यालय तह कायम गरे पनि निजी क्याम्पसले एउटै संरचनामा ‘प्लस टु’ सुचारु राखेको अनुगमन निर्देशनालयले फेला पारेको छ ।


‘त्रिविबाट सम्बन्धन लिएका क्याम्पस अस्तित्वमा छन्/छैनन्, सञ्चालन अनुमति लिएकै ठाउँमा छन्/छैनन्, नवीकरण भएका छन्/छैनन् भनेर अनुगमन भइरहेको छ,’ निर्देशनालयका कार्यकारी निर्देशक खनालले भने, ‘सम्बन्धन लिएर ठाउँ सारेका, सेवा शुल्क नबुझाएका, सुचारु नरहेका झोले क्याम्पस अबदेखि रहनेछैनन् ।’ त्यस्ता निजी कलेज स्थलगत अनुमगमन क्रममा रहेकाले ती कलेजको नाम सार्वजनिक गर्न नमिल्ने उनले जनाए ।


मानविकी संकाय अन्तर्गतका इतिहास, जनसंख्या, भूगोल, संस्कृतलगायत विषयमा विद्यार्थी शून्यप्राय: छन् तर त्रिविले ती विषय हटाउन वा अन्य विषयमा गाभ्न सकेको छैन । त्यसैगरी कतिपय क्याम्पस तथा कलेजले एकभन्दा बढी विश्वविद्यालयको शैक्षिक कार्यक्रम चलाउने गरेका छन् ।


त्रिवि ऐनअनुसार कुनै पनि सामुदायिक क्याम्पस वा निजी कलेजले एउटै नाम र एकै संरचनामा फरकफरक विश्वविद्यालयको कार्यक्रम चलाउन पाउने छैन । त्रिवि अनुगमन निर्देशनालयका सदस्य प्राध्यापक कर्णबहादुर बानियाले भने, ‘त्यसनिम्ति ट्रस्टअन्तर्गत फरकफरक नाम तथा व्यवस्थापनमा मात्र सञ्चालन हुन सक्छ । ट्रस्टमा नचलेका त्यस्ता कलेजलाई कारबाहीको प्रक्रिया अघि बढाउँदै छौं ।’

त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले ऐन, नियम, विनियम प्रतिकूल रहेका कलेज खारेज गर्ने बताइन् । ‘अनुगमन निर्देशनालयले सम्बन्धन लिएका तथा कार्यालय, साइनबोर्ड नभएका झोले कलेज रहेको जनाएको छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘महँगोमा व्यापार, कमिसन लिएर कलेज किनबेच गरी कमिसनको खेल गर्नेलाई कार्यकारी परिषद्बाट खारेज गर्छौं ।’ प्रतिवेदन प्राप्त भएलगत्तै चरणबद्ध कारबाही हुने उनले जनाइन् ।

प्रकाशित : वैशाख १३, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?