कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद्‍द्वारा प्रदेश राजधानीको लागि हस्ताक्षर संकलन

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश राजधानीको सम्भाव्यता अध्ययन गर्ने समितिको माग गर्दै एक तिहाई सांसदका हस्ताक्षरसहितको निवेदन सचिवालयमा दर्ता भएको छ ।

सांसद्‍द्वारा प्रदेश राजधानीको लागि हस्ताक्षर संकलन

राजधानीबारे विभिन्न प्रस्ताव दर्ता भए पनि कुनै प्रक्रिया अघि नबढेको भन्दै सांसदहरुले दबाब स्वरुप ‘प्रदेशको राजधानी सम्भावयता अध्ययन विशेष समिति’गठन गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् । भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापित समेत संलग्न भनिए पनि उनले हस्ताक्षर भने गरेका छैनन् । एमाले सांसद केशव पोखरेल प्रस्तावक रहेर दर्ता भएको निवेदनमा सांसद राजेन्द्र पाण्डेलगायत ३७ सांसदले हस्ताक्षर गरेका छन् ।

राजधानी कायम गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा ३ छुट्टाछुट्टै प्रस्ताव दर्ता भइसकेका छन् । काभ्रेका सांसदले चैत्र १४ गते, रसुवा र नुवाकोटका सांसदले १५ र भक्तपुरका सांसदले २६ गते राजधानी कायम गर्न माग गर्दै छुट्टाछुट्टै प्रस्ताव दर्ता गराइसकेका छन् ।


प्रदेशसभा बैठक र समितिका बैठकमा समेत सदस्यहरुले तत्काल टुंग्याउन माग गरे पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत भएको छैन । चैत्र २४ गतेको कार्यव्यवस्था परामर्श समिति बैठकमा राजधानीको विषय उठे पनि सभामुखले दलका नेतासँग छलफल गरेर मात्रै निर्णयार्थ प्रस्तुत गर्ने बताएका थिए ।


संविधानमा प्रदेशसभामा कायम भएका सदस्यको दुई तिहाईले प्रदेश राजधानी तोक्ने उल्लेख छ । राजधानी नतोकिएसम्म अहिलेको मुकामबाटै दैनिक काम सञ्चालन गर्ने उल्लेख छ । सरकार भने प्रस्ताव छल्दै आएको आरोप छ ।


मुख्यमन्त्रीले डाके बैठक

सत्तारुढ दलकै अधिकांश सांसदले समिति गठनको माग गर्दै निवदेन दर्ता गराएपछि मुख्यमन्त्री डोरमणि पौडेलले संसद्‍मा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेका छन् । बैठकमा एमालेका मुख्य सचेतक रामेश्वर फुँयाल र सचेतक दीपक निरौला, माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, कांग्रेसका इन्द्रबहादुर बाँनिया, विवेकशील साझाका रमेश पौड्याल, नेमकिपाका सुरेन्द्र गोसाईं, राप्रपा (प्रजातान्त्रिक) की रिना गुरुङ, राप्रपाकी रिता माझी सहभागी थिए ।

समिति गठनको विशेष अधिकार सभामुखमा भएकोले शुक्रबार बस्ने कार्यव्यवस्था परामर्श समितिले यसबारे निर्णय गर्न सक्ने निष्कर्षमा पुगिएको विवेकशील साझा पार्टी संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए । शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकको एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ७ बजे बस्दैछ ।


आफ्नै दलका प्रदेशसभा सदस्यले राजधानीको बारेमा प्रस्ताव दर्ता गरेपछि सत्ताको नेतृत्व गरिरहेको एमाले दबाबमा परेको छ । बिहीबार अधिकांश सत्तारुढ सांसद, भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापित, राजेन्द्र पाण्डेलगायतका नेताको अग्रसरतामा हस्ताक्षर संकलन भएपछि एमालेलाई थप दबाब परेको हो ।


बुधबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा पनि कार्यदल गठन गरेर जाने कुरामा सहमति जुटेको थियो । दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यदलमार्फत टुंग्याउन सकिने धारणा राखेका थिए । तर, बिहीबारको बैठकमा कुनै प्रस्ताव नआएपछि सत्तारुढ दलका सांसदको अगुवाइमा हस्ताक्षर संकलन भएको हो ।

प्रकाशित : वैशाख १३, २०७५ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?