१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संघीयता संकटमा : उपेन्द्र यादव

अवधेशकुमार झा

राजविराज — संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीयतामा संकट रहेको बताएका छन् । संघीय सरकारले नै संघीयतालाई कमजोर बनाउने कार्य गरिरहेको उनले आरोप लगाए । 

संघीयता संकटमा : उपेन्द्र यादव

सप्तरीको राजविराजमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवले प्रदेशलाई स्वायतता र स्वशासनको अधिकार नभएसम्म तथा स्थानीय तहलाई प्रदेश तह मातहत नल्याएसम्म संघीयता मजबुत हुन नसक्ने बताए । ‘प्रदेशमा सरकार त छ, मन्त्रालयमा रहेका कर्मचारी उनको मातहतमा छैन्, प्रशासनतन्त्र प्रदेश सरकारको हातमा छैन्, आर्थिक स्रोत केही छैन्, सुरक्षा निकायको कमाण्ड अर्केको हातमा छ’ यादवले भने, ‘प्रदेश सरकारको अवस्था न माथि जान सक्ने न त तल झर्न सक्ने बीचमै फसेर बसेको जस्तो भएको छ ।’ यादवले प्रदेश २ को विकासका लागि केन्द्र सरकार संवेदनशील नभएको आरोप लगाए ।


राजनैतिक संघर्षको अन्त नभएको बताउँदै उनले लामो संघर्ष र बलिदानीपछि संघीय गणतन्त्र स्थापना भई मुलुक संघीयता तर्फ प्रवेश गरे पनि संघीयतालाई व्यवस्थित र सुढृद्ध गर्न अझै बाँकी रहेको बताए । ‘अझै पनि असमानता र विभेद कायमै छ’ यादवले भने, ‘राजनैतिक नियुक्तिमा मधेसीको नामोनिसान छैन्, शासन व्यवस्था र प्रशासनमा मधेसको स्थान छैन् ।’


फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एव प्रादेशिक समिति अध्यक्ष सांसद रेणु यादवले संघीय संसद्‌मा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम कागजको खोस्टो मात्र भएको आरोप लगाइन् । उनले नीति तथा कार्यक्रम विभेदकारी भएको आरोप लगाइन् ।


प्रदेश नम्बर २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले मधेसको अधिकार सुनिश्चत गर्ने विषय प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताए । उनले पछिल्लो समय संघीय सरकार गैरलोकतानित्रक चरित्र देखाइरहेको आरोप लगाए । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला भएको नागरिक अभिनन्दनमा मुख्यमन्त्री लालवाबु राउतले दिएको मन्तवलाई लिएर संघीय संसद् र बाहिर बितण्डा मच्चाउने काम भइरहेको छ’ मन्त्री साहले भने, ‘गैरसंसदीय प्रणालीको विकासमा संघीय सरकार लागेको छ ।’


कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवसहितका राजपाका नेता कार्यकर्ताहरु फोरममा प्रदेश गरेका थिए ।


प्रकाशित : जेष्ठ १०, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?