सुन तस्करी र सनम हत्या प्रकरण : गोरेका सहयोगी पक्राउ 

आज पनि बयान जारी

विराटनगर — ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’का सहयोगी मोरङ उर्लाबारीका ३८ वर्षीय रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन तस्करी र सनम हत्या प्रकरण : गोरेका सहयोगी पक्राउ 

अाचार्यलाई बिहीबार राति पक्राउ गरी विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।


मोरङ जिल्ला अदालतमा जारी बयानका क्रममा गोरेले सहयोगीका रुपमा नाम उल्लेख गरेपछि आचार्यलाई पक्राउ गरेको हो । उर्लाबारीमा सुनचाँदीको पसल भएका आचार्यले सुन खोजीका क्रममा भरिया भनिएकाहरुलाई यातना दिन सहयोग गरेको जनाइएको छ । उनी तत्कालीन नेकपा एमालेका कार्यकर्ता समेत रहेको जनाइएको छ ।


गोरेको जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा तीन दिनदेखि बयान जारी छ । बयानका क्रममा आफूहरुको काममा अरु केहीले समेत सहयोग गरेको उनले बताए पनि नाम भने सार्वजनिक गरिएको छैन ।


बयान शुक्रबार पनि जारी रहने छ । बयानका क्रममा गोरेले सनम शाक्यको हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । हराएको भनिएको सुन खोज्ने क्रममा भरिया भनिएका सहकर्मीहरुलाई कुटपिट भने भएको उनले स्वीकारेका छन् ।


बयान शुक्रबार सकिने नसकिने टुंगो छैन । बयानका क्रममा सरकारी वकिलहरुले प्रस्तुत गरेको अभियोगपत्रका बुँदा सुनाएर गोरेबाट जवाफ माग्ने काम भइरहेको छ । यसअघि अदालत समक्ष प्रमाणका रुपमा पेस गरिएका श्रव्यदृश्य देखाएर त्यसबारे पनि बयान लिइने भएको छ ।


उनको बयान सकिएपछि सरकारी वकिलहरुले न्यायाधीशसमक्ष आरोप पुष्टि गर्न बहस गर्नेछन् । त्यसपछि गोरेका तर्फबाट वकालतनामा दर्ता गराएका कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुको बहस सकिएर आवश्यक भए सरकारी वकिलहरुले प्रत्युत्तर बहस गर्ने अदालत स्रोतले जनाएको छ । यसपछि न्यायाधीशले थुनछेकको आदेश जारी गर्नेछन् ।


यसअघि अदालतले पूर्व डिआइजी गोविन्दप्रसाद निरौलालगायत २८ जनालाई थुनामा राख्न आदेश दिइसकेको छ । मोरङ जिल्ला कारागार साँघुरो भएकाले उनीहरुलाई अदालतको अनुमतिमा सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा लगेर राखिएको छ । आरोपीमध्ये एकजना साधारण तारेखमा छाडिएका थिए भने अर्का एकजनालाई धरौटीमा रिहा गरिएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?