अछामको साफेंबगरमा १५ वर्षपछि विमान अवतरण

छिट्टै नियमित व्यवसायीक उडान गर्ने तयारी 
सुरज कुँवर

काठमाडौँ — तत्कालिन माओवादीले अछामको सदरमुकाम मंगलसेनमा आक्रमण गरेसँगै बन्द भएको त्यहाँको विमानस्थलमा १५ वर्षपछि शुक्रबार विमान अवतरण गरेको छ ।

अछामको साफेंबगरमा १५ वर्षपछि विमान अवतरण

२०५८ साल फागुन ४ गते अछाममा आक्रमण गर्दा बम बिस्फोट गराइएसँगै ध्वस्त भएको विमानस्थलमा समिट एयरको लेट विमानले शुक्रबार टेस्ट फ्लाइट गरेको हो ।


सिमिकोटबाट नेपालगन्ज फर्कँदै गरेको विमानले साफेंबगरमा टचडाउन गरेको थियो । साफेंबगरमा डेढ दशक पछि विमान अवतरण भएसँगै क्याप्टेन एडी शर्पा लगायत चालकदलका सदस्यलाई स्थानीयहरुले स्वागत गरेका थिए ।


द्वन्द्वकालमा ध्वस्त भएको विमानस्थल पनर्निर्माणका लागि नागरिक उड्डयन प्रधिकरणले ०७३ चैतमा ११ करोड १७ लाखको ठेक्का दिएको थियो ।


प्राधिकरणका इन्जिनियर योगेन्द्र शर्माका अनुसार विमानस्थलको ९५ प्रतिशत काम सिकएको छ भने असार भित्र बाँकी ५ प्रतिशत काम पनि सकिने छ ।


यो विमानस्थलको धावनमार्ग ५५० मी लामो छ । यसबाट १९ सिटे साना विमानहरुले उडान भर्न सक्ने छन् । विमानस्थल बन्द हुनु अघि त्यहाँ नेपालगन्ज, धनगढी र काठमाडौंबाट पनि उडान हुने गर्थे ।


शुक्रबार गरिएको टेस्ट फ्लाइट सफल भएसँगै प्रधिकरणले चाँडै नियमित व्यावसायीक उडानका लागि सो विमानस्थल खुला गर्दै छ ।


नेपालमा ५० वटा आन्तरिक विमानस्थल भएपनि बिहीबारबाट खोलिएको राजविराजको विमानस्थलसँगै ३१ वटा संचालनमा आएका छन् भने यो विमानस्थलबाट खुला भएपछि त्यसको संख्या ३२ पुग्ने छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?