कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेकपा नेता नेपालनिकट २१ केन्द्रीय सदस्य ओली र दाहालप्रति असन्तुष्ट, तत्काल बैठक बोलाउन माग

काठमाडौँ — पूर्वाग्रही ढंगले पार्टी सञ्चालन गरेको, सरकार र पार्टीबीचको सम्बन्ध टुटेकोलगायत कारण देखाउँदै नेकपाका माधव नेपालनिकट २१ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् ।

नेकपा नेता नेपालनिकट २१ केन्द्रीय सदस्य ओली र दाहालप्रति असन्तुष्ट, तत्काल बैठक बोलाउन माग

उनीहरूले बुधबार दुवै अध्यक्षलाई सम्बोधन गर्दै महासचिव विष्णु पौडेलमार्फत पाँच पृष्ठ लामो ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले तत्काल पोलिटब्युरो गठन गर्न र केन्द्रीय सदस्यको कार्यविभाजन गर्न ध्यानाकर्षण गराएका छन् ।


सचिवालयमार्फत निर्णय गर्न थालिएको भन्दै त्यसमा पनि उनीहरूले आपत्ति जनाएका छन् । सचिवालय दैनिक प्रशासनिक काम गर्ने थलो मात्र भएकाले केन्द्रीय समितिबाटै सबै निर्णय गर्ने परिपाटी बसाल्न उनीहरूले ध्यानाकर्षण गराएका छन् । ‘सही तरिकाले पार्टी सञ्चालन भइरहेको छैन, आन्तरिक रूपमा हामी केही विषयमा छलफल नगर्ने अवस्थामा पुगेका छौं, यसले पार्टीलाई मात्र होइन, सरकारलाई पनि कमजोर बनाइरहेको छ,’ ज्ञापनपत्र बुझाउनेमध्येका केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘त्यसैले पार्टी अझै नबिग्रियोस् भनेर नेताहरूको ध्यानाकर्षण गराएका हौं ।’


दुई पार्टी एकीकरण भएपछि हालसम्म केन्द्रीय समिति बैठक बसेको छैन । निर्वाचन आयोगमा बुझाउने हस्ताक्षर संकलन गर्ने प्रयोजनबाहेक अन्य कुनै पनि काममा केन्द्रीय समिति संलग्न छैन । पार्टीभित्र र सरकारमा निष्पक्ष ढंगले जिम्मेवारी नदिइएको गुनासो उनीहरूको छ । ‘जिम्मेवारी वितरणमा हदैसम्म पक्षपातपूर्ण व्यवहार गरिएको छ, कसैलाई काममाथि कामको र अवसरमाथि अवसरको बोझ थपिएको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।


संसदीय दल राम्ररी सञ्चालन नगरिएको, सरकारले पूर्वाधार विकासमा राम्रो सुरुवात गरे पनि नियमित प्रकाशनका काममा अझै समस्या रहेको उनीहरूको निष्कर्ष छ । विगतमा विवादित र भ्रष्ट छवि भएका व्यक्तिलाई सरकारको नियुक्तिदेखि मानपदवीबाट विभूषित गर्ने काम भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । उनीहरूले त्यस्ता नियुक्ति र मानपदवी फिर्ता लिन ध्यानाकर्षण गराएका छन् । क–कसको नियुक्ति र मानपदवी फिर्ता लिने भन्ने उनीहरूले नाम किटान गरेका छैनन् ।


ज्ञापनपत्र बुझाउनेमा केन्द्रीय सदस्यहरू विजय पौडेल, जगन्नाथ खतिवडा, शत्रुधन महतो, ममता गिरी, जयन्ती राई, गरिमा शाह, नीरज आचार्य, भाष्कर काफ्ले, रामकुमारी झाँक्री, प्रेमलकुमार खनाल, माधव अर्याल, विजय गुरुङ, तुलबहादुर गुरुङ, यदुवंश झा, रचना खड्का, विरोध खतिवडा, रवीन कोइराला, पशुपति चौलागाईं, ठाकुर गैरे, मेटमणि चौधरी र विश्वनाथ प्याकुरेल छन् ।

प्रकाशित : मंसिर ५, २०७५ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?