कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुनै जोगाउने कि बगाउने

तारजाली तटबन्धन गर्ने क्रममा निर्माण कम्पनीद्वारा भेरी नदीको बहावलाई असर पार्ने गरी ढुंगा, बालुवा उत्खनन
विष्णुलाल बुढा

डोल्पा — कार्यक्रमको नाम– दुनै बचाउ अभियान, जसले दुनैलाई नै जोखिममा पार्ने गरी भेरी नदीको दोहन गरिरहेको छ । दुनैलाई फेरो हालेर बगिरहेको भेरीको दोहनले डोल्पावासी चिन्तित भएका छन् । 

दुनै जोगाउने कि बगाउने

दुनै जोखिममा परेको भन्दै सरकारले नदीमा तटबन्ध काम गरिरहेको छ । काम गर्नेक्रममा निर्माण कम्पनीले नदीको बहावलाई नै असर पार्ने गरी ढुंगा, बालुवा झिकिरहेको छ । यसले बर्खामा नदीको बहाव बहकिएर दुनैलाई असर पार्ने स्थानीयको भनाइ छ ।

‘दुनै बजारलाई सुरक्षित गर्न सुरु गरिएको योजनाले उल्टै दुनैलाई जोखिममा पार्छ भने तटबन्ध गर्नुको औचित्य छैन,’ ठूलीभेरी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले भने, ‘यसका लागि जिम्मेवार निकायले तोकिएको दायराभित्र रही सबैसँग समन्वय गरेर काम गर्नुपर्छ ।’

धुपीको रूखनेर नदी दोहनको डरलाग्दो रूप देख्न सकिन्छ । त्यहाँ करिब ५० मिटर क्षेत्रमा भ्वाङ पर्ने गरी ढुंगा निकालिएका छन् । दुनै बजार रहेको वडाका अध्यक्ष अर्णबहादुर न्यौपाने नेतृत्वमा अनुगमन उपसमिति बनेको छ । समितिले नदी दोहन भएको भन्दै सुरुको चरणमा ठेकेदार कम्पनीलाई बोलाएर सचेत गराएको थियो ।

‘सुरुमा केही ठाउँमा दोहन भएको देखिएपछि सचेत गराएका थियौं,’ उनले भने । नदीमा चौबिसै घण्टा डोजर राखिएको हुन्छ । बजार क्षेत्रको तल्लोदेखि माथिल्लो छेउसम्म डोजर चलिरहेको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार केशरी डोजर चल्दा दोहन भएजस्तो देखिएको बताउँछन् । ठेकेदार प्रतिनिधिलाई बोलाएर स्टिमेटभन्दा एक इन्च तलमाथि नगर्न निर्देशन दिइएको उनले बताए । ‘पानीभित्र काम गर्नुपर्ने भएकाले डोजर तलमाथि गरिरहन्छ,’ उनले भने, ‘यसलार्ई नदी दोहन भन्न मिल्दैन ।’

‘दुनै बजार बचाउ अभियान’ अन्तर्गत पहिलो चरणको ठेक्का कन्काई फोदुङ जेभीले लिएको छ । जेभीले रुकुमका मनवीर पुनलाई निर्माण जिम्मा दिएको छ । काम गर्ने क्रममा केही कमजोरी भएकाले सुधारेर जाने पुनले बताए । काम गर्ने क्रममा नदीबाट निस्किएका ढुंगा मात्र प्रयोग गरेको उनको भनाइ छ । तटबन्ध निर्माणका लागि नदीको वारिपारि ६–६ मिटर जग (लन्चिङ) हालिएको छ । जग हाल्ने क्रममा ३ मिटरको बाटोमा डोजर हिँड्ने गरेको पुनले बताए ।

स्थानीयले वर्षाअघि काम सक्न आग्रह गरेका छन् । वर्षाअघि आधा मात्रै काम भयो भने नदीले दुनै बजार वारिपारि किनारा काट्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । ‘तारजाली राख्न वारिपारि लामो खनिएको छ, पूरा भएन भने दायाँ–बायाँ जान सक्छ,’ स्थानीय अर्जुन हिराचनले भने, ‘वर्षाअघि बजार क्षेत्रको नदी वारिपारि तारजाली लगाइसक्नुपर्छ, काम पूरा भएन भने जोखिम हुन्छ ।’ ठेकेदार कम्पनीले भने यो वर्ष पाएको ठेक्काको काम सकिएको बताएको छ ।

प्रकाशित : चैत्र १२, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?