कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाढीले रेलको लिक बगायो

जनकपुर र जोगवनीमा गरी ११ करोडको क्षति 
विमल खतिवडा

काठमाडौँ — अविरल वर्षासँगै आएको बाढीले जनकपुर र विराटनगरमा निर्माण क्रममा रहेको रेलको लिक बगाएको छ । धनुषाको इनरुवास्थित भारतीय सीमा क्षेत्रमा लिकमुनिको माटो बगाएको छ भने जोगवनी–विराटनगर खण्डको कस्टम याडनजिकै रहेको स्टेसनको पर्खाल बाढीले भत्काइदिएको छ ।

जयनगर–इनरुवा खण्डमा लिक निर्माणपछि रेल चलाएर परीक्षण गरिसकिएको छ । ‘लिक निर्माण भइरहेको ठाउँमा बाढीले केही क्षति पुर्‍याएको छ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, अहिले वर्षातको समय छ, पानी नसुकी काम हुँदैन, अब भदौबाट मात्रै काम हुन्छ ।’


भारतको जयनगरबाट कुर्तासम्म ३४ किमि रेल्वे लिक छ, त्यसमध्ये साढे ३१ किमि नेपालमा पर्छ । कुर्तासम्म लिकलाई ब्रोडगेजमा स्तरोन्नति गरिसकिएको छ । ‘जयनगरदेखि इनरुवा खजुरी खण्डको २ सय मिटर रेलको लिक बगाएको छ,’ उनले भने, ‘लिकको मुनिबाट ओछ्याइएको माटो, ढुंगा बगाएको हो ।’ बर्दिबासतर्फ कुर्तादेखि बिजलपुरा खण्डमा लिक निर्माणका लागि बनाइएको ट्र्याकमा बिछ्याइएको माटो, गिट्टी, बालुवा बगाएको छ । उनका अनुसार यो खण्डको रेल गुड्ने करिब ४ किमि क्षेत्र बाढीले बगाएको छ । अहिले भारत सरकारको सहयोगमा जोगवनीदेखि विराटनगरसम्म १८ किमि र जयनगरबाट बर्दिबाससम्म ६९ किमि रेल नेटवर्क बन्ने क्रममा छ ।


‘जयनगर–इनरुवा खण्डमा करिब १० करोडको क्षति भएको छ,’ निर्माणमा संलग्न भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै उनले भने, ‘जोगवनी खण्डमा मात्र १ करोडको क्षति पुगेको छ ।’ जनकपुरमा रेलको पहिलो स्टेसनमा बाढीले क्षति पुर्‍याएको हो । ‘यसमा हामीले कष्ट ब्यहोर्नु पर्दैन, सहयोग मात्र गरे हुन्छ,’ उनले भने, ‘महोत्तरीको कुर्ता–बिजलपुरा खण्डमा रेलको लिक ओछ्याउन मात्र बाँकी थियो तर बाढीले बगाउँदा समस्या भयो ।’ पहिला सडक हुन्छ । पछि त्यसमा लिक थपेर रेल गुड्ने बनाइन्छ ।


कमला नदीमा आएको बाढीले बाँध भत्काएर पस्दा लिक बगाएको मिश्रले जानकारी दिए । रेल स्टेसनका भवन डुबानमा परेको छ । निर्माणमा प्रयोग हुने जेनेरेटरसमेत डुबेको उनले बताए ।


जोगवनी–विराटनगर खण्डको कस्टम याडनजिकै रहेको स्टेसनको पर्खाल बाढीले भत्काइदिएको छ । ‘ठूलो पानी परेर समस्या भएको हो, यो खण्डमा पर्खाल सबै भत्किएको छ,’ उनले भने, ‘तर विराटनगरमा ५० प्रतिशत काम सकिएको छ ।’ यो खण्डमा केही जग्गाको मुआब्जा दिन बाँकी छ । ‘जग्गामा कानुनी समस्या छैन, सबै अधिग्रहण भइसकेको छ,’ उनले भने, ‘केही व्यक्तिले मुआब्जा नबुझ्दा काम सुरु भएको छैन, गृह मन्त्रालयलाई काममा कडाइ गर्न भनेका छौं ।’ १० किमि क्षेत्रमा स्टेसन र लिक तयार भइसकेको छ । ‘१० किमिमा लिक बनेपछि रेल गुडाएर परीक्षण गरी सकिएको छ,’ उनले भने, ‘जसमा ५ किमि भारततिर र ५ किमि नेपालतिर लिक निर्माणको काम भएको छ ।’


भारतको जयनगरबाट कुर्तासम्म ३४ किमि छ । कुर्ताबाट १७ किमि दूरीमा रहेको बिजलपुरासम्म रेल चल्ने विभागका अधिकारीले बताए । त्यस्तै बिजलपुराबाट बर्दिबाससम्म १७ किमि छ । महोत्तरीको बर्दिबाससम्म २ वर्षभित्र रेल ल्याउने तयारीमा रहेको र त्यहीअनुसार काम भइरहेको विभागले जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?