ट्रमा सेन्टरमा दरबन्दी छ, चिकित्सक छैनन्

फातिमा बानु

काठमाडौँ — आकस्मिक उपचारको मुख्य केन्द्र राष्ट्रिय ट्रमा सेन्टरमा अत्यावश्यक चिकित्सकको दरबन्दी खाली हुँदा यसको असर बिरामीमाथि परिरहेको छ । स्थापनाकाल (५ वर्ष) देखि नै सिर्जना गरेको चिकित्सकको  पूरा दरबन्दी अस्पतालले हालसम्म पदपूर्ति गर्न सकेको छैन । अस्पतालमा अहिले नभई नहुने कार्डियोथोरासिक सर्जन (नवौ तह) को दरबन्दी खाली छ । 

ट्रमा सेन्टरमा दरबन्दी छ, चिकित्सक छैनन्

मुटु, छाती, फोक्सो र रक्तनलीको आकस्मिक उपचारका लागि अत्यावश्यक मानिने यस्ता चिकित्सक नहुँदा सम्बन्धित बिरामीको उपचार रिफरको भरमा चलिरहेको छ । दुर्घटनामा परेका अधिकांश घाइतेको उपचार थोरासिक सर्जनबिना सम्भव नभएको बताउँदै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोद यादवले भने, ‘दिनकै २ देखि ३ जना बिरामी थोरासिक सर्जन नै चाहिने खालका भर्ना हुन्छन् । कहिलेकाहीँ दुर्घटनामा परी एकैपटक धेरै घाइते अस्पताल भर्ना हुन्छन्, यस्ता बिरामी विशेष मर्कामा छन् ।’


थोरासिक सर्जन नहुँदा ट्रमा सेन्टरलाई हालसम्म वीर अस्पताललकै भर पर्नु परिरहेको छ । वीरका विशेषज्ञ यस्ता बिरामीको उपचारमा सघाइरहेका छन् । थोरै जनशक्ति र धेरै बिरामी कारण वीर अस्पताललाई आफ्नै बिरामीको चाप धान्न मुस्किल छ । जसले गर्दा विशेषज्ञको अभावमा कतिपय बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गर्न बाध्य छन् । विशेषज्ञ नहुँदा उपचार ढिलो भएकै कारण रक्तनलीसम्बन्धी समस्या भएका कतिपय बिरामी हातखुट्टै काटेर फाल्नुपर्ने स्थितिमा पनि पुग्ने गरेका छन् ।


विशेषज्ञको पदपूर्ति हुन नसके अस्पतालले करारमा भए पनि चिकित्सक राखेर बिरामीको उपचार नरोक्ने अभ्यास भए पनि ट्रमा सेन्टरले यो गरेको छैन । आफ्नो पार्टीनिकट चिकित्सक नभएकै आधारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले बजारमा यससम्बन्धी जनशक्ति भए पनि पदपूर्ति नगरी बिरामी अलपत्र पार्ने गरेको स्रोतको दाबी छ । अत्यावश्यक चिकित्सकको दरबन्दी पदपूर्तिका लागि मन्त्रालय र न्याम्ससँग बारम्बार पत्राचार गरिरहेको प्रमुख डा.यादवले बताए ।


एनेस्थिेसिया (बिरामी बेहोस गराउने चिकित्सक) नहुँदा अस्पतालले दैनिक ज्लादारीमा विशेषज्ञ चिकित्सक खटाउने गरेको छ । मेरुदण्ड, प्याथोलोजिस्ट न्युरो सर्जन (११ औं तह) विशेषज्ञको दरबन्दी पदपूर्ति नहुँदा करारमा लिएर अस्पतालले काम चलाइरहेको छ । अस्पतालमा अहिले ३१ जना मेडिकल अधिकृतको दरबन्दी छ ।


जसमध्ये १३ अधिकृत मात्रै पदपूर्ति भएकोमा २२ चिकित्सक अध्ययन बिदामा बसेका छन् । काम चलाउनका लागि १७ अधिकृत करारमा खटाइएको छ । फार्मेसीतर्फका कर्मचारीको पनि दरबन्दी खाली छ । अस्पतालमा फार्मेसी अधिकृत र सहायक पनि सबै करारमा कार्यरत भएको प्रशासन कर्मचारी सरोज गौतमले बताए । त्यस्तै नर्सिङ कर्मचारीको दरबन्दी पनि खाली नै छ ।


कुल १ सय ४७ दरबन्दीमध्ये १ सय ४ नर्सिङ कर्मचारी मात्रै छन् । जनशक्ति अभाव हुन नदिन अस्पतालले अहिले २७ जना नर्सिङ कर्मचारी करारमै राखेको छ । यसले १४ करोड ऋणमा डुबेको अस्पताललले थप आर्थिक भार पारेको देखिन्छ । यसरी हेर्दा ट्रमा सेन्टरको जम्मा २ सय ६२ दरबन्दीमा चिकित्सक र अन्य जनशक्ति गरी ५५ जनाको दरबन्दी खाली छ । कर्मचारी समायोजनको टुंगोले खाली दरबन्दी पदपूर्ति हुन सक्ने प्रमुख यादवले बताए ।


दरबन्दीबिनै कर्मचारी भर्ती

ट्रमा सेन्टरमा केही यस्ता जनशक्ति पनि छन् जो दरबन्दीबिनै भर्ती गरिएका छन् । अस्पतालमा दरबन्दीबिनै भर्ती भएका यस्ता लगभग ३० कर्मचारी छन् । फार्मेसी सहायक, फिजियोथेरापिस्ट, ल्याब असिस्टेन्ट, रेडियोग्रफार, अहेब र कार्यालय सहयोगी दरबन्दीबिना काम गरिरहेका छन् ।


दरबन्दीबिनै कार्यरत यस्ता जनशक्ति अस्पतालका लागि अत्यावश्यक भएको बताउँदै प्रमुख डा. यादवले भने, ‘अस्पतालको काम पाँच वर्षअघिभन्दा अहिले बढेको छ । सरकारले दरबन्दी नबढाइदिएपछि न्याम्सतर्फबाट यी कर्मचारी भर्ती भएका हुन् ।’ ओएनएम सर्वे गरी दरबन्दी बढाएर ती कर्मचारीलाई स्थायी रूपमै राखिने उनले बताए ।

प्रकाशित : श्रावण ६, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?