कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा र सभामुखले पहल नगर्दा उपसभामुख चयनमा अन्योल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा उपसभामुखको निर्वाचन कहिले हुने भन्‍नेमा अन्योल छाएको छ । सत्तारुढ दल नेकपाले उपसभामुख निर्वाचनमा रुचि नदेखाउँदा र सभामुख अग्‍नि सापकोटाले पहल नगर्दा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नेकपा र सभामुखले पहल नगर्दा उपसभामुख चयनमा अन्योल

झन्डै दुई तिहाइ बहुमत भएको नेकपाले जुन दललाई भन्यो उसैले उपसभामुख पाउने अवस्था रहेको छ । तर, नेकपाले नै उपसभामुख निर्वाचनमा कुनै चासो नदेखाउँदा प्रक्रिया अगाडि नबढेको हो ।

संघीय संसद प्रतिनिधिसभा नियमावलीले सभामुखलाई उपसभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउने अधिकार दिएको छ । तर, सभामुख सापकोटाले पनि उपसभामुख निर्वाचनबारे कुनै प्रक्रिया अगाडि बढाएका छैनन् । उनी निकट स्रोतका अनुसार बुधबारसम्म उपसभामुख निर्वाचनबारे कुनै पहल भएको छैन । सभामुखले उपसभामुखको बारेमा सत्तारुढ नेकपाले नै पहल गरोस् भनेर कुरिरहेका हुन् ।

उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले माघ ६ गते राजीनामा दिएकी थिइन् । माघ १२ गते सभामुखमा सापकोटा निर्वाचित भएका थिए । तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि भइसकेकी छन् । तर, संवैधानिक परिषद् सदस्यसमेत रहेको उपसभामुख चयनमा नेकपा र सभामुखको प्राथमिकता परेको छैन ।

उपसभामुख चयनको विषयमा कांग्रेसले संसदमा उठाउन थालेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद मीना पाण्डेले उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि नबढाएकोमा सभामुख सापकोटा र सरकारको ध्यानाकर्षण गराएकी छन् । उनको प्रश्न थियो, 'प्रतिनिधिसभा नियमावलीको नियम ८ () अनुसार सभामुखले उपसभामुखको निर्वाचन तालिका ल्याउनुपर्नेमा अहिलेसम्म किन ल्याइएन ? महिला उपसभामुख हुने भएकाले नै बेखबर बसेको हो ?'

सभामुख वा उपसभामुखमध्ये एकजना महिला र फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा पुरुष निर्वाचित भइसकेकाले अब उपसभामुखमा महिला निर्वाचित हुनुपर्नेछ । त्यस्तै, सभामुखमा नेकपाबाट सापकोटा निर्वाचित भएकाले उपसभामुख नेकपा बाहेकको दलबाट हुनेछ । सांसद पाण्डेको प्रश्न यसै व्यवस्थालाई लिएर आएको हो ।

दलहरू मौन !

सभामुखमा सत्तारुढ दलबाट सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयन प्रक्रिया सुरु हुने विश्वास गरिएको थियो । तर, एक महिना बितिसक्दा पनि नेकपा र सभामुखले उपसभामुख चयनमा कुनै पहल गरेका छैनन् ।

सभामुख सापकोटाले उपसभामुख निर्वाचनको पहल नेकपाले गरोस् भन्ने चाहना राखेका छन् भने नेकपाका नेताहरूले ढिलाइ नभएको बरु केही समय पर्खिएको तर्क गरेका छन् । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, 'उपसभामुख चयनमा ढिलाइ भएको छैन । केही समय पर्खिएको हो ।'

नेकपाबाट सभामुख निर्वाचित भइसकेको अवस्थामा उपसभामुखमा कांग्रेस, समाजवादी पार्टी र राजपामध्ये कुनै एक दलबाट उम्मेदवार बन्ने उनले दोहोर्‍याए । 'राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको । कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको र समाजवादी पार्टीले केही समयअघि मात्रै सरकार छाडेकोले राम्रोसँग छलफल हुने अवस्था नदेखिएको हो,' उनले भने ।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भने सभामुख चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको दाबी गरे । उनले उपसभामुख चयनमा ढिला गर्न नहुने पनि धारणा राखे । सभामुख र उपसभामुख फरक दल र एक महिला हुनुपर्ने संवैधानिक प्रावधानअनुसार उपसभामुखको चयन प्रकृया चाँडो सुरु गर्नुपर्ने उनको भनाइ थियो ।

'उपसभामुखमा उम्मेदवारी दिने विषयमा कांग्रेसले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन । अरु दलहरूपनि उपसभामुखका दाबेदार भएकाले सत्तारुढ दलले सोचेअनुसार निर्णय हुने भएकाले कांग्रेसले केही निर्णय नगरेको हो,' उनले भने ।

राजपा अध्यक्ष मण्डलका संयोजक महिन्द्रराय यादवले उपसभामुख कसलाई दिने भन्ने कुरा सत्तारुढ नेकपाले निर्णय गर्ने बताए । 'अहिलेसम्म उपसभामुखबारे राजपालाई आधिकारीक रूपमा नेकपाले केही भनेको छैन । नेकपाले राजपालाई उम्मेदवारी दिन भनेको खण्डमा छलफल गरेर टुंगो लगाउछौं,' उनले भने ।

प्रकाशित : फाल्गुन १४, २०७६ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?