३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शैक्षिक हडतालले विद्यार्थी प्रभावित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले गरेको शैक्षिक हडतालले बुधबार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । उक्त समूहले जनआन्दोलन दिवस मनाउने क्रममा राज्यबाट आफ्‍ना कार्यकर्ता पक्राउ गरेको भन्दै शैक्षिक हडताल घोषणा गरेको थियो ।

शैक्षिक हडतालले विद्यार्थी प्रभावित

आकस्मिक रुपमा गरिएको हडतालले राजधानी काठमाडौंका अधिकांश विद्यालय बन्द हुँदा विद्यार्थी र अभिभावकले दुःख पाएका थिए । कलेज तथा क्याम्पसका विद्यार्थीले भने हल्लाकै भरमा पढ्न नगएको जनाएका छन् । देशभर विद्यालय तहमा ७२ लाख विद्यार्थी अध्ययरत छन् ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का कार्यवाहक अध्यक्ष डिके ढुंगानाले आकस्मिक शैक्षिक हडतालले बालबालिकालाई मानसिक रुपमा तनाव सिर्जना गरेको बताए । ‘हामीलाई संस्थागत रुपमा कुनै जानकारी आएन,’ उनले भने, ‘अभिभावकले आफ्‍नो बच्चाको हैरानी र जोखिम मोल्न सक्दैनन् । त्यसैले सामाजिक सञ्जालमा देखिएको सूचनाको भरमा अचानक विद्यालय बन्द गर्नुपर्‍यो ।’


राजधानी काठमाडौंमा सबभन्दा धेरै विद्यार्थी प्रभावित भएका छन् । पूर्वजानकारी नहुँदा अभिभावकले छोराछोरीलाई विद्यालय पुर्‍याएर फर्काएका थिए । त्यसैगरी बसबाट आउजाउ गर्ने विद्यार्थी भने विद्यालयले गाडी नपठाएपछि फर्किएका थिए ।


नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा राजनीतिक मागलाई लिएर गरिने बन्द हडतालबारे अग्रिम जानकारी नपाउँदा अभिभावक र विद्यार्थीले दुःख पाएको बताए । ‘शैक्षिक सत्र सकिने बेलामा विद्यालयको पठनपाठन क्रम, परीक्षाको तयारी, अतिरिक्त क्रियाकलाप एक्कासी रोकिनु जायज होइन,’ सामाजिक सञ्जालमार्फत् शैक्षिक हडतालबारे जानकारी पाएको उल्लेख गर्दै सापकोटाले भने, ‘चरणबद्ध आन्दोलन रहेछ भन्ने बुझियो । पहिले नै थाहा पाएको भए हामी (नेसनल प्याब्सन) ले पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँथ्यौं ।


सरकार र सरोकारवाला संस्थाले २०६८ सालमै ‘विद्यालय शान्ति क्षेत्र’ भएको घोषणा गरेका थिए । चन्द समूहले आफ्ना राजनीतिक मागलाई लिएर चालू शैक्षिक सत्र वैशाखयता चार पटक शैक्षिक हडतालका नाममा शिक्षालयहरू बन्द गराएको छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?