कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

फेसनमा संस्कृति र पर्यटन

तानसेनकी अनिता खाती क्षेत्रीले विभिन्न देशमा आयोजित ‘फेसन शो’ मा नेपाली मौलिकता र संस्कृतिलाई प्राथमिकता दिन्छिन् । नेपाली झन्डासँगै काठमाडौंको धरहरा, पाल्पाको रानीमहल र पाल्पाली ढाका अटाएर तयार पारेको उनको पछिल्लो डिजाइन पाल्पा दरबारमा राखिएको छ । 
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–५, कैलाशनगर पाल्पाकी अनिता खाती क्षेत्रीले दर्जनौं देशमा आयोजित ‘फेसन शो’ मा भाग लिइसकेकी छन् । ती शोहरूमा नेपाली मौलिकता र संस्कृति प्रयास गर्छिन् । उनले हालै क्यानभासमा हातले पेन्ट गरेको पोसाकमा नेपाली झन्डासँगै काठमाडौंको धरहरा, पाल्पाको रानीमहल र पाल्पाली ढाका अटाएकी छन् । ‘लिगेसी टु टेक प्राइड’ शीर्षकमा तयार पारिएको पोसाक पाल्पा दरबारमा डमीका रूपमा राखिएको छ । 

फेसनमा संस्कृति र पर्यटन

‘पोसाकको डिजाइन तयार छ, तर यसको सौन्दर्यताका लागि अझ केही काम बाँकी छ,’ उनले भनिन् । यो एउटा उदाहरण मात्र हो, उनी पाल्पाली ढाकालाई धेरै प्रकारले प्रयोग गर्ने योजनामा छिन् । अहिलेसम्म ढाकाको पहिरन बनेको छ । ‘मैले यसलाई फेसनको पहिरनलाई आधुनिक ढंगले चित्रण गर्नेछु,’ उनले भनिन्, ‘हरेक ढंगले ढाकालाई वस्त्र वा पहिरन मात्र होइन, आधुनिक ढंगले चित्रण गरेर प्रवर्द्धन गर्ने योजना छ ।’ उनले पाल्पाली ढाकालाई मिस नेपालको पहिरन वा फेसनमा प्रयोग गर्नका लागि कुरा भइरहेको बताइन् ।

फेसनमा परम्परा, संस्कृति, पर्यटन झल्काउने गरी काम गर्न सकिने उनको भनाइ छ । किनभने फेसनको कुनै पनि परिभाषा र सीमा छैन । हामी कुनै पनि नयाँ कुरा सिर्जना गर्नु नै फेसन हो भन्ने बुझ्नुपर्ने उनले बताइन् । मानिसलाई सुन्दर बनाउने माध्यम हो फेसन । ‘त्यसमा पाल्पाली ढाकालाई जोडेर काम गर्ने हो,’ उनले थपिन् ।

हुन त अनिताले ‘प्लस टु’ सकेपछि उनका बाबुआमाले स्वास्थ्यकर्मी बनाउन चाहन्थे । बुबा भारतीय सैनिकबाट ‘पेन्सनर’ भएकाले छोरीले पनि सरकारी जागिरे हुने विषय पढोस् भन्ने सोचेका थिए । तर उनको चाहना अलग्गै थियो, केही फरक र सिर्जनशील विषय अध्ययन गर्ने । जसका कारण उनले फेसन डिजाइनिङको अध्ययन गर्ने सोच आयो । १२ वर्षअघि काठमाडौं बाहिर ‘फेसन डिजाइन’ अध्यापन गराउने कुनै कलेज थिएनन् ।

‘तर मलाई तँ आँट म पुर्‍याउँछु भने जस्तै भयो,’ उनले भनिन्, ‘बुझ्दै जाँदा काठमाडौंको बाँसबारीमा फेसन डिजाइनको पढाइ हुँदोरहेछ ।’ तानसेन नछाडेकी घरको कान्छी छोरी अनितालाई काठमाडौं जान कताकता डर लागेको थियो । तर पछि हिम्मत जुटाएर उनी काठमाडौं पुगिन् र बुबाआमालाई मनाएर नमुना कलेज अफ फेसन टेक्नोलोजी बाँसबारीमा भर्ना भइन् ।

तानसेन जनता माविबाट एसएलसी र मिलेनियम कलेजबाट प्लस टु गरेकी अनिताले फेसन डिजाइनको ‘कोर्स’ सकेपछि केही समय पसलमा जागिर गरिन् । ‘कामको सिलसिलमा धेरै कुरा सिक्न पनि पाइयो,’ उनले भनिन्, ‘यसपछि भने आफैंले व्यवसाय खोल्ने आँट आयो ।’ फेसनप्रतिको मोह र केही गर्ने हुटहुटीले उनी अहिले तानसेनमा एक उदाहरण नै बनेकी छन् । पछिल्लो समय भने उनले ललितपुरको कुपन्डोलमा पनि ‘अनिताज डिजाइन’ सञ्चालनमा ल्याएकी छन् ।

‘मलाई बजारमा देखिनेभन्दा फरक फेसन सिर्जना गर्ने इच्छा हुन्छ,’ उनले भनिन्, ‘मेरो चाहना भनेको बजारमा ‘फरकपन’ दिने नै हो ।’ त्यसका साथै, फेसन डिजाइनबारे विभिन्न छलफल र बहसमा पनि सक्रिय छिन् उनी । कोभिड कालमा उनले आफ्नै नेतृत्वमा ‘फेसन शो’ समेत गरेकी थिइन् । रुचिअनुसारको काम गर्न पाउँदा अझ धेरै आयाम, शैली र प्रस्तुति प्रस्तुत गर्न ऊर्जा र प्रेरणा मिल्ने उनले बताइन् । ‘फेसनले मलाई धेरै कुरा सिकाएको छ,’ उनले भनिन्, ‘घर छाडेर धेरैसँग प्रतिस्पर्धा गर्न सिकेकी छु ।’

पछिल्लो समय बजारमा फेसनेबल र फरक डिजाइनका कपडा बढी बिक्छन् । बुटिक आफैंमा महँगो भए पनि नयाँपनसहितको डिजाइनप्रति ग्राहक आकर्षक हुने उनी बताउँछिन् । ‘घरमा पुरानै सारी वा अन्य कपडा छ भने पनि त्यसलाई नयाँ ढंगले आकर्षक बनाउन सकिन्छ,’ उनले भनिन् । सामान्य कपडाभन्दा डिजाइन गरेका कपडा त्यसै पनि महँगो पर्छ । ‘डिजाइन गर्दा धेरै समय लगाएर बनाइएको हुन्छ र फिनिसिङमा निकै ध्यान दिइने भएकाले पनि केही महँगो हुन्छ,’ उनले भनिन् । जसका कारण, फेसनप्रति सचेत ग्राहकको संख्या बढ्दै गएको उनको अनुभव छ ।

पछिल्लो समय भने उनी फेसनलाई संस्कृति र पर्यटनसँग जोड्ने योजनामा छिन् । ‘पाल्पाली ढाकालाई अन्तर्राष्ट्रियस्तरमा लैजान सकिने सम्भावना छ,’ उनी भन्छिन्, ‘नेपाली फेसनलाई परम्परा, संस्कृति, पर्यटनसँग जोड्नुपर्छ ।’

त्यसका साथै फेसन डिजाइनमार्फत जनचेतनामूलक काम गर्न सकिने पनि उनी बताउँछिन् । फेसनेबल र डिजाइन गरिएका कपडा खोज्न आउने ग्राहक बढ्दो दरमा छन् । बजारमा फरक डिजाइनको कपडा लगाउनेको संख्या बढ्दै गएको उनले बताइन् । पछिल्लो समय ग्राहकले पनि आफूलाई ‘कम्फर्ट फिल’ हुने खालका लुगा खोज्ने गरेका उनको अनुभव छ ।

प्रकाशित : वैशाख १७, २०८१ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?