कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इलाम-२ उपनिर्वाचन : लारुम्बाको भोट पहिचानवादीलाई, कसले कति पाए ?

माङ्सेबुङ गाउँपालिका वडा नम्बर-५ मा डकेन्द्रसिंह लिम्बू-१०३२, सुहाङ नेम्बाङ-६९, डम्बर खड्का-४९, मिलन लिम्बू-३

इलाम — किरात धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने भनिएको माङ्सेबुङ गाउँपालिकामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू सबैभन्दा बढी मत ल्याएका छन् । माङ्सेबुङका ६ वटै वडाको मत गणना भइसकेको छ ।

इलाम-२ उपनिर्वाचन : लारुम्बाको भोट पहिचानवादीलाई, कसले कति पाए ?

लिम्बूले माङ्सेबुङ-५, लारुम्बामा सबैभन्दा बढी १०३२ मत प्राप्त गरेका छन् । वडा नम्बर-५ मा लिम्बूपछि एमालेका सुहाङ नेम्बाङले ६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ४९ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले भने उक्त वडामा ३ मत मात्र पाए । माङ्सेबुङ-५ राष्ट्रिय विभूति फाल्गुनन्द र धर्मगुरु आत्मनन्द लिङ्देनको जन्मस्थलसमेत हो । वडा नम्बर-५ मा ११९३ मत खसेको थियो । लिम्बूले वडा नम्बर १ मा ३७२, २ मा ३१७, ३ मा ६४०, ४ मा १६२ र ६ मा ११६ मतसहित २६३९ मत पाए ।

एमालेका सुहाङ नेम्बाङले वडा नम्बर १ मा ४११, २ मा ५८६, ३ मा ५१९, ४ मा ४११, वडा ५ मा ६९ र ६ मा ५९० गरी २५९१ मत पाए । माङ्सेबुङमा रास्वपाका मिलन लिम्बू सबैभन्दा कमजोर देखिएका छन् । उनले वडा नम्बर १ मा ३६, २ मा ९६, ३ मा ४२, ४ मा ८, ५ मा ३ र ६ मा ५८ सहित २ सय ४३ मत पाए । माङ्सेबुङमा मिलनले सबैभन्दा बढी आफ्नै वडा नम्बर २ मा ९६ मत पाएका हुन् । माङ्सेबुङका ६ वडामा कुल १२ हजार ५ सय ३६ मतदातामध्ये ७ हजार २ सय ६ मत खसेको थियो ।

माङ्सेबुङमा एमालेदेखि रास्वपासम्मका उम्मेदवार चुनावअघि धर्मगुरु लिङ्देनकोमा पुगेका थिए । उम्मेदवारीलगत्तै चैत १७ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई लिएर माङ्सेबुङको लारुम्बा पुगेका थिए। उनीहरूले लारुम्बाका ‘शक्तिकेन्द्र’ धर्मगुरु लिङ्देनसँग करिब एक घण्टा बिताएर फर्किए ।

मधेशवादी दल जनमत पार्टीका उम्मेदवार प्रेमसिंह थाम्सुहाङ पार्टी अध्यक्ष सीके राउतलाई लिएर चैत १६ मै धर्मगुरुलाई भेटेर फर्किएका थिए । हरेक चुनावमा उम्मेदवारहरू कार्यकर्तासहितको लर्को लिएर लारुम्बामा धर्मगुरु भेट्न जाने चलन इलाममा नयाँ होइन । यसपाला नयाँ भनिएका दल यही लर्कोमा मिसिएका मात्रै हुन् ।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि सुवासचन्द्र नेम्वाङ, राम राना मात्र हैन, कांग्रेसका अहिलेका उम्मेदवार डम्बर खड्का, भेषराज आचार्य, माओवादीका धीरेन शर्मा लारुम्बा पुग्थे ।

धर्मगुरुको ‘खल्ती’ मा रहेको केही हजार मत रहेको पाउने ‘विश्वास’मा उनलाई भेट्न दलका नेता र उम्मेदवार पुग्ने गरेका हुन् । नयाँ भनिएका रास्वपा र जनमत पार्टीका उम्मेदवारले पनि त्यसैलाई पछ्याए । विगतमा लारुम्बाका गुरु एमाले नेता सुवास नेम्वाङप्रति सकारात्मक रहेको बताइन्थ्यो । यसपाला लारुम्बाको झुकाव कतातिर छ भन्नेमा सबैको चासो छ । यसपाला लारुम्बा गुरुको झुकाव पहिचानको राजनीति बोकेर चुनावी मैदानमा उत्रिएकाहरूतिर जान सक्ने अड्कलबाजी पनि राजनीतिक वृत्तमा उत्तिकै थियो।

पहिचानवादीका तर्फबाट उम्मेदवार बनेका डकेन्द्रसिंह लिम्बूले शिक्षण पेसाबाट अवकाशपछि लारुम्बामै बसेर गुरुको सेवा गरेको तथा कोशी प्रदेश नामकरणप्रति गुरुको असन्तुष्टि रहेको भन्ने तर्कलाई अघि सारेर एकथरीले गुरुको झुकाव लिम्बूतिर हुने अड्कल काटिरहेका थिए । गुरुले पहिचानवादी उम्मेदवार लिम्बूको चुनावी र्‍यालीको शुभमुहुर्तसमेत गरेका थिए ।

प्रकाशित : वैशाख १७, २०८१ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?