२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने सरकारको तयारी

रासस

काठमाडौँ — सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । 

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने सरकारको तयारी

केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उनले बताए ।

केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले अर्थ र सञ्चारमन्त्रायले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नसाथ विद्युतीय चुरोटको नेपालबाट प्रतिबन्ध हुने बताए । उनले कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरेको भन्दै चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानि गर्ने बताए ।

उनले सुर्ती सेवनको गेट–वेका रुपमा विद्युतीय चुरोट रहेकोसमेत बताए । 'विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँछ । यसले निकोटिनको लत बसाउने काम गर्दछ,' उनले भने, 'त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेट–वेका रुपमा रहेको छ ।' विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधै असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने उनको भनाइ छ ।

नेपालमा विद्युतीय चुरोट विभिन्न फ्लेभरमा आउने गरेको छ । भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक ३२ लाख २३ हजार ६ सय ८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल भित्रिएको छ । तीमध्ये ३१ लाख ७५ हजार ८ सय १५ थान ती विद्युतीय चुरोट चीनबाट मात्र आएको छ । यस्तै अमेरिकाबाट २ लाख ६५ हजार ६ सय ४०, संयुक्त अरब इमिरेट्सबाट १२ हजार ९ सय ६७ थान आएको छ । भारत, बेलायतलगायत देशबाट पनि विद्युतीय चुरोट आउने गरेको छ ।

केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. केसीका अनुसार नेपालमा वार्षिक ३२ अर्ब रुपैयाँबराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ । ५ वर्षयता नेपालमा विद्युतीय चुरोटको आयात २सय गुणाले वृद्धि भएको छ ।

प्रकाशित : वैशाख २५, २०८१ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?