२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सभामुखसँग प्रमुख सचेतकहरूको बैठक : संसद् अवरोधबारे कांग्रेसको अडान कायमै

काठमाडौँ — सभामुख देवराज घिमिरेसँग राष्ट्रिय दलको मान्यता प्राप्त दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल बिना निष्कर्ष टुंगिएको छ । कांग्रसले संघीय संसद्को बजेट अधिवेशनका बैठक उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म अवरोध गर्ने जानकारी गराएको छ । 

सभामुखसँग प्रमुख सचेतकहरूको बैठक : संसद् अवरोधबारे कांग्रेसको अडान कायमै

सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार भएको बैठकमा शुक्रबारबाट सुरु हुने बजेट अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लगेको भन्दै संसदीय छानबिन समिति बनाउनैपर्ने अडान राखेको थियो । कांग्रेसले संसद् अवरोध गर्ने पुरानो अडान राखेसँगै सभामुखले बोलाएको बैठक सकिएको थियो । बैठक पुनः शुक्रबार बोलाइएको छ ।

बैठकबारे एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको बैठकमा शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको र शिर्ष नेताहरूको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहजतापूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताए ।

‘भोलि प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा प्रमुख प्रतिपक्षले केही माग र मुद्दा उठाएर आन्दोलन गरिरहेको अवस्था छ । भोलिको विषयमा कसरी उहाँहरूले विषय राख्नुहुन्छ भन्ने थियो । भोलिको बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनैपनि कार्यसूची नराख्ने र शीर्ष नेताहरूले बैठकमा सम्बोधन गर्ने छ । दलका नेताहरूले बोल्नुहुन्छ । कार्यसूची यसरी बनाएका छौं,' उनले भने, 'व्यवस्थापन कार्यमा नगइसकेपछि प्रमुख प्रतिपक्षले बैठक सहज रुपमा अघि बढाउने भूमिका खेल्नुपर्छ । सहज गर्नुपर्छ । संसद्को बैठकमा शीर्ष नेताहरूले महत्व दिएर सम्बोधन गर्नेकुरा वास्तवमा जरुरी छ । त्यसले राजनीतिक अर्थ दिन्छ । देशभरका समस्या शीर्ष नेताबाट उजागर हुन्छ ।’

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको प्रतिनिधिसभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताए । बजेट अधिवेशन भएकाले सुरु हुने र राम्रोसँग व्यवस्थित हुनेमा आशावादी रहेको उनको भनाइ छ । ‘भोलि बस्ने संसद् बैठकका बारेमा सम्माननीय सभामुखज्युले भोलिको बैठक व्यवस्थित गर्न गृहकार्य गर्नुभएको हो । सदन भोलि सुरु हुन्छ । त्यसमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्छ । बजेट अधिवेशन भएकाले सुरु हुन्छ र बोल्नुहुन्छ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस र एमालेको संसदीय दलको बैठक शुक्रबार नै बस्ने भएकाले थप निर्णय नभएपनि संसद् सामान्य हिसाबमा नै अघि बढ्ने बताए । उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने बताए ।

उनले संसद्प्रति सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने धारणा राखे । ‘भोलिको सदनका बारेमा सामान्य के हुन्छ भन्ने कुरा भयो । कांग्रेस र एमालेको संसदीय दलको बैठक भोलि नै बस्ने भएकाले यो भन्ने आज नै केही भएको छैन । सामान्य हिसाबमा यो अधिवेसन सुरु गर्ने भन्नेमा छलफल भएको छ । संसद चल्छ । संसद्को विषयमा सबै पार्टी गम्भीर छन् । रविजीले भोलि सम्बोधन गर्नुहुन्छ,’ उनले भने ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् बैठक सञ्चालनमा अझै कुरा नमिलेको र कांग्रेसको संसदीय दलको बैठकपछि थप निर्णय हुने जानकारी दिए ।

प्रकाशित : वैशाख २७, २०८१ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?