नोटमा नक्सा बदल्नुको औचित्य
कान्तिपुरमा सोमबार प्रकाशित ‘१ सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय’ भन्ने समाचार पढियो । सरकारको यो कदमलाई स्वागतयोग्य मान्नुपर्दछ । सरकारले पुरानो नक्सालाई बदलेर नयाँ नक्सा राख्न खोज्नु नेपालका लागि गौरवकै विषय हो ।
त्यो भन्दा पनि महत्त्वपूर्ण भारतले कब्जामा लिएका कालापानी, लिपुलेक, लिम्पियाधुरालाई फिर्ता ल्याउनु हो । तर भूमि फिर्ताका लागि कसैले पनि खासै चासो दिएको पाइँदैन । नेपाली भूमि भारतका सैनिकले यसरी कब्जा गरेर बसेका छन् कि नेपालका नागरिक कामविशेषले ती क्षेत्रमा जान पाउँदैनन् ।
१९९५ असार १९ मा नाबी, कुटी र गुन्जीवासीले कुत तिरेको अभिलेख राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । त्यही क्षेत्रका सर्वसाधारणले १९९७ मंसिर २७ मा बैतडी मालमा तिरो तिरेको प्रमाण सरकारसँग छ । त्यही क्षेत्रका जनता २०१५ को आम निर्वाचनमा सहभागी भएका थिए ।
कुटी, नाबी र गुन्जीका जनता मतदानमा सहभागी भएको अभिलेख निर्वाचन आयोगमा छ । यतिका बलियो प्रमाण हुँदाहुँदै पनि अनि नेपालका सीमाविज्ञ हुँदाहुँदै पनि सरकार नतात्नु र भूमि फिर्ता ल्याउन नसक्नु आश्चर्यको विषय भएको छ ।
यसैले सरकारले अतिक्रमित भूमि जबसम्म फिर्ता ल्याउन सक्तैन, तबसम्म सय रुपैयाँको नोटमा नेपालको पुरानो नक्साको साटो नयाँ नक्सा राख्ने निर्णयले नेपाली जनताले गौरव गर्ने अवस्था नै छैन ।
– बोधनाथ पौडेल, नयाँ बानेश्वर, काठमाडौं