संखुवासभामा बलात्कारका घटनामा कमी
संखुवासभा — जिल्ला प्रहरी कार्यालय संखुवासभाले पछिल्लो ३ वर्षमा बलात्कारको घटना कम हुँदै गएको जनाएको छ । प्रहरीले खाँदबारीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर बलात्कारका घटनामा कमी हुँदै गएको तथ्यांक सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठका अनुसार ०७७/७८ मा २७ वटा बलात्कारका घटना भएका थिए ।
त्यस्तै २०७८/७९ मा १८ वटा र ०७९/८० मा १६ वटा बलात्कारका घटना भएका थिए । यो वर्षको ९ महिनामा ११ वटा बलात्कारका घटना भएको उनले बताए ।
प्रहरीले निरन्तर रुपमा चलाएको सचेतनामूलक कार्यक्रम र नागरिक स्वयं सचेत भएका कारण बलात्कारका घटनामा कमी हुँदै गएको प्रहरीको अनुमान छ ।
यसैबीच, प्रहरीले विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा तनहुँ भिमाद २ का अभिमान सिंह आलेलाई पक्राउ गरेको छ । खाँदबारीको एक होटलमा बलात्कार गरेर भागेपछि उनलाई प्रहरीले ओखलढुंगा सिद्धिचरण ११ रमाइलो डाँडाबाट पक्राउ गरेको जनाएको छ ।