१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयको सहयोगबाट स्थापना गरिएको जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्थनीयले व्यवस्थापन धान्न नसकेपछि बुधबार नगरलाई हस्तान्तरण गरेको हो ।

जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण

जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई अब नगर अस्पतालमा रूपान्तरण गरेर सेवा समेत प्रवाह गर्ने गरी नगरलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।

सामुदायिक अस्पताललाई नगर अस्पताल सञ्चालन गर्न नगरप्रमुख तीर्थराज भट्टराई, नगर स्वास्थ्य शाखा संयोजक खेमराज आचार्य, जनसेवा समाजका अध्यक्ष हिरालाल राई र जनसेवा सामुदायिक अस्पतालका अध्यक्ष श्रेष्ठबीच सम्झौता भएको छ । सम्झौताअनुसार अस्पतालमा भएका कर्मचारी तथा स्वास्थ्यकर्मीको तलब भत्ता नगरले ब्यहोर्ने सहमति भएको छ । उक्त अस्पतालमा ल्याव टेक्सिसियन, अनमी, स्वास्थ्य सहायक, कार्यालय सहयोगी, लेखा गरी जम्मा ७ जना कर्मचारी छन् । अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीको असार मसान्तसम्मको तलब भत्ता नगरले ब्यहोर्ने सहमती भएको छ । अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि मासिक एक लाख २९ हजार रुपैयाँ खर्च हुन्छ ।

अस्पतालको चार रोपनी एक आना दुई दाम जग्गा, १४ वटा कोठा भएको चार वटा कच्ची भवन, चार कोठा भएको एउटा पक्की भवन, सात वटा शौचालय, तीन वटा कोठा भएको क्यान्टिन तथा स्टोर समेत नगरलाई बुझाइएको छ । दुई करोड बराबरको जग्गा तथा भवन, एक करोड ५० लाख बराबरको उपकरण र करिब आठ लाख बढीको औषधि, चश्मा, फार्मेसीसम्बन्धी सफ्टवेयर लगायत समेत नगरलाई बुझाइएको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि गठन गरिएको समिति नगर अस्पताल सञ्चालनपछि विघटन हुने सम्झौतामा उल्लेख छ । सामुदायिक अस्पतालको विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलिएको खाताहरू लेखा परीक्षणपछि बन्द हुने सम्झौतामा उल्लेख छ । नगर अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० मा भएको व्यवस्थाअनुसार जनसेवा समाज नेपालको तर्फबाट १ जना महिलासहित २ सदस्य चयन गरी पठाउाने सर्तमा उल्लेख छ । अस्पतालले तिर्नु पर्ने १२ लाख १० हजार बाँकी बक्यौता नगरले ब्यहोर्ने सम्झौताको सर्तमा उल्लेख छ ।

जालपास्थित स्वास्थ्य चौकी र जनसेवा सामुदायिक अस्पतालले प्रवाह गर्दै आएको सेवा एकीकृत रुपमा सञ्चालन गर्ने सर्तमा उल्लेख छ । नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० मा भएको व्यवस्थाअनुसार मेडिकल अधिकृतसहितको आवश्यक कर्मचारीको व्यवस्था गरी सेवा प्रवाह गर्ने समेत सर्तमा उल्लेख छ ।

जनसेवा सामुदायिक अस्पतालद्वारा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंसँगको साझेदारीमा प्रवाह गर्दै आएको जनसेवा ग्रामीण आँखा क्लिनिक सेवा तथा वडा कार्यालयसँगको साझेदारीमा सञ्चालन हुने दाँत उपचार सेवालाई आवश्यक बजेट व्यवस्थापन गरी निरन्तरता दिने समेत सर्तमा उल्लेख छ ।

जनसेवा सामुदायिक अस्पतालले सेवा सञ्चालन पूर्व १५ शय्याको सेवा सञ्चालनको स्वीकृति पाएको र त्यही बमोजम सेवा सञ्चालन भइरहेको भए पनि हाल पाँच शय्याबाट जनसेवा नगर अस्पताल सञ्चालनमा रहने र आगामी दिनमा वृद्धि गरी १५ शय्या पुर्‍याउने सर्तमा उल्लेख छ ।

प्रकाशित : वैशाख २७, २०८१ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?