नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ
काभ्रे — नगर प्रहरीलाई कुटपिट गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपाले ४ जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ काभ्रेको बनेपा नगरपालिका वडा नं ७ स्थित चारदोबाटो चोक नजिकै अरनिको राजमार्ग अर्न्तगत सडक खण्डको फुटपाथमा व्यापार गर्ने व्यापारी र नगर प्रहरीबीच विवाद हुँदा कुटपिटबाट नगर प्रहरी ३५ वर्षीया अञ्जना थापा घाइते भएकी थिइन् । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारपश्चात उनी घर फर्किएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लाल ध्वज सुवेदीले जानकारी दिए ।
उनका अनुसार नगर प्रहरीमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नं १ का २६ वर्षीय कृष्ण मानन्धर, ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा नगरपालिका वडा नं ७ की ४० वर्षीया खड्गमाया श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।
घटना संलग्न केही व्यक्तिहरु फरार रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको र उनीहरुको खोजी कार्य भइरहेको उनले बताए ।बनेपा नगरपालिकाको उजुरीमा घटनामा संलग्नहरुलाई पक्राउ गरिएका उपर मुलुकी अपराध सहिताको दफा ११८ को कसुरमा आज (बुधबार) म्याद थप भइ घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : वैशाख २६, २०८१ १९:१४