२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

चेपाङ बस्तीमा बाँसले बारेर कक्षा-८ पढाउने सुरसार

चितवन — आदिवासी चेपाङ समुदायका बालबालिका मात्रै पढ्ने पहाडी गाउँ लोथरको कालिटारमा कक्षा-८ को पढाइ सञ्चालन गर्न विद्यालयले अनुमति पाएको छ । तर विद्यार्थी राखेर पढाउने कक्षाकोठा छैन । बाँसको कप्टेराले बारेको सानो छाप्रोमा कक्षा चलाउनु परेपछि स्थानीय खिन्न छन् ।

चेपाङ बस्तीमा बाँसले बारेर कक्षा-८ पढाउने सुरसार

यो विद्यालय आडैमा राप्ती नगरपालिका–१३ को वडा कार्यालय भवन पनि छ । ‘पहाड भनेपछि खै किन हो खासै वास्ता नहुने । वडा कार्यालय भवन पनि यही विद्यालय आडैमा छ । तर कक्षा ८ पढाउन सुरु गर्दा कक्षा कोठा नै नहुने, कस्तो बिडम्बना हो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर प्रजा चेपाङले भने ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग आडको भण्डारामा राप्ती नगरपालिकाको कार्यालय भवन रहेको छ । अफ्ठ्यारो र कच्ची पहाडी बाटो पार गर्दै भण्डाराबाट उत्तरमा पर्ने कालिटार पुग्न जीपमा दुई घण्टा लाग्छ । कालिटारमा विस २०५३ मा विद्यालय खुलेको हो । २०६० मा कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ०७९ मा ६ र गत वर्ष कक्षा ७ को पढाइ सुरु भयो ।

‘अभिभावकले कक्षा आठको पढाई गाउँमै सुरु नगरी भएन भन्नुभयो । त्यही अनुसार नगरपालिकाले अनुमित पनि दियो,’ विद्यालयका प्रधानअध्यापक दिपक श्रेष्ठले भने ।

प्रअ श्रेष्ठका अनुसार यो शैक्षिक सत्रमा विद्यालयमा २१७ जना विद्यार्थी भर्ना भएका छन् । ती सबै सीमान्तकृत चेपाङ समुदायका बालबालिका हुन् । कक्षा ८ मा १० विद्यार्थी छन् । ‘यहाँ सुरु नगरे कक्षा ८ पढ्न दुई घण्टा परको वडा १२ मा पर्ने यउरेलीटारको स्कुल जानु पर्छ । टाढा भएकाले यहाँ पढाइ पूरा गरेपछि विद्यार्थी अन्य स्कुलमा कमै गएका छन्,’ प्रअ श्रेष्ठले भने ।

त्यसैले गाउँमै माथिल्ला कक्षा सुरु गर्न अति आवश्यक भएको उनले बताए । कक्षा थप्न आवश्यक भए पनि भवन अपुग हुने गरेको छ । ‘केही नयाँ र केही पुराना गरेर विद्यालयमा तीन भवन छन् । एउटा कोठालाई बीचमा बारेर कक्षा ६ र ७ चलाएका छौं । १ र २ का विद्यार्थी एकै ठाउँ राखेर पढाउछौं । अब कक्षा ८ सुरु गर्दा त केही उपाए नै लागेन,’ प्रअ श्रेष्ठले भने ।

कक्षा सुरु गरे भवन बनाउने बजेट दिने भनेर वडा र नगरपालिकाले आश्वासन दिने गरेको अध्यक्ष कृष्णबहादुरले बताए । ‘तर कक्षाको अनुमति आइसक्यो भवन छैन । यसरी छाप्रो बनाएर विद्यार्थी राख्नु पर्ने भएको छ । भवनका लागि वडा र नगरपालिका मात्रै हैन प्रदेशमा पनि गएका छौं । नेताहरुलाई भनेको भन्यै छौं । तर आश्वासन पायौं, बजेट आएन,’ अध्यक्ष कृष्णबहादुरले गुनासो गरे ।

राप्ती नगरपालिकाका शिक्षा शाखा प्रमुख रबिना देउजाले वडा १३ मा आठ वटा सबै आधारभूत तहका विद्यालय छन् । कक्षा ८ सम्म पढाइ हुने गरेर यसै वर्ष मात्र कालिटार र कान्दाको विद्यालयले अनुमति पाएको उनले बताइन् । ‘कालिटारमा कक्षाकोठा अभाव छ । यस वर्ष कक्षा सञ्चालन अनुमित पाएको छ । भवन निर्माणका लागि अर्को वर्ष बजेट जाला,’ उनले भनिन् ।

राप्ती–१३ का वडाध्यक्ष अशोक चेपाङले कक्षा १० सम्म गाउँमै पढ्न सकुन् भनेरै कक्षा थप थरे पनि आर्थिक स्रोत नहुँदा भवन निर्माणमा गाह्रो भएको बताए । ‘कोठा थप्न नगरपालिकासँग माग्दा पनि बजेट उपलब्ध भएन । वडामा ठूलो स्रोत केही छैन । अन्य दाता खोजेर पनि भवन बनाउँछौं,’ वडाध्यक्ष अशोक चेपाङले भने ।

तत्कालका लागि भवनको टड्कारो समस्या देखिए पनि विद्यालमा अन्य समस्या पनि रहेको प्रअ श्रेष्ठले बताए । विद्यालयमा चार जना प्रावि दरबन्दीका शिक्षक छन् । नगर अनुदानका तीन जना छन् । दुई जना बालविकासमा पढाउने छन् । यसरी हेर्दा शिक्षक मात्र जम्मा सात जना छन् । कक्षा आठसम्म पढाइ हुने भएपछि कम्तीमा आठ शिक्षक त हुनुपर्ने हो । त्यसैले समस्या एक हैन अनेक छन्,’ प्रअ श्रेष्ठले भने ।

प्रकाशित : वैशाख २६, २०८१ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?