नौ बुँदे घोषणापत्र जारी गर्दै गुठीपीडित किसानको सम्मेलन सकियो
दाङ — गुठीपिडित किसानहरुको दुई दिने राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार घोराहीमा सम्पन्न भएको छ ।
सम्मेलनले गुठी किसानसँग सार्थक संवाद् गरी यथाशीघ्र गुठीसम्बन्धी ऐन ल्याइनुपर्ने, गुठी जग्गा रैकर गरी किसानलाई जग्गाधानी प्रमाणपूर्जा दिनुपर्ने, जोताहाका नाममा दर्ता हुन बाँकी जग्गाको स्रेस्ता कायम गरी जोताहाका नाममा रैकर पूर्जा उपलब्ध गराउनुपर्ने र एकपक्षीय रुपमा मुद्दा लगाई निस्कासन गरिएका मोही किसानलाई पुनः स्वामित्व कायम गर्नुपर्ने कुरा घोषणापत्रमा समेटिएको छ ।
यसैगरी गुठी जग्गामा घर बनाई पुस्तौंदेखि बस्दै आएका किसानलाई बसोबासका आधारमा घरगोठ र करेसाबारी उपलब्ध गराउनुपर्ने, गुठी किसानले बुझाउने कुत, तिरो रैकरसरह बनाई वडामा बुझाउने व्यवस्था गर्नुपर्ने, जग्गाधनी प्रमाणपूर्जा खारेज गरी रैकर पूर्जा उपलब्ध गराउनुपर्ने र हिनामिना भएको गुठी जग्गाको लगत लिई उत्पादनमुखी उपयोगकको नीति अवलम्बन गर्नुपर्ने विषय घोषणापत्रमा उल्लेख छ ।
सम्मेलनले १५ दिनभित्र गुठी ऐनमा समेट्नुपर्ने विषय तय गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा पेस गर्ने र आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ । ६८ जिल्लामा २ हजार बढी गुठीपीडित किसान रहेको संघर्ष समिति संयोजक प्रभु चौधरीले बताए ।
प्रकाशित : वैशाख २५, २०८१ २१:३८