३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

मूलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौँ — राष्ट्रिय गौरव आयोजनामा परेको मूलपानी क्रिकेट मैदानको डिजाइन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ ।युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याललगायतको उपस्थितिमा मूलपानी मैदानको डिजाइन र संरचनाबारे पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो ।

मूलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

डिजाइनअनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ । जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ । यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ । उनीहरूका अनुसार पानी परेको १० देखि १२ मिनेटभित्र मैदान खेल्न तयार हुनेछ ।

डिजाइनमा तल्लो र माथिल्लो मूलपानी मैदान समावेश छ । स्टेडियममा तीन तलाको अन्डर ग्राउन्ड पार्किङ, पुरुष र महिलाका लागि ३ सय क्षमताको होस्टेल, पौडीपोखरी, सुविधासम्पन्न ट्रेनिङ सेन्टर, फ्लडलाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, ६ लेनको इन्डोर र आउटडोर प्रशिक्षणस्थललगायतका संरचना छन् । हालको माथिल्लो मूलपानी मैदान प्रशिक्षण मैदानको रूपमा रहनेछ ।

खेलकुदको मेगा प्रोजेक्टको रूपमा रहेको मूलपानी क्रिकेट मैदानको प्रस्तुत डिजाइनअनुसारको सुविधासम्पन्न अत्याधुनिक स्टेडियम निर्माणका लागि ७ अर्ब ३४ करोड ७० लाखको बजेट लाग्ने अनुमान छ ।

गत कात्तिक २३ मा राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रिय खेलकुद परिषद्ले निर्माणका लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो । सोहीअनुरूप कलेजले डिजाइन प्रस्तुत गरेको हो ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले यो वर्ष नै यो मैदानका लागि ५० करोडदेखि १ अर्बसम्म बजेट विनियोजन हुने सम्भावना रहेको बताए । उनले स्टेडियमको डिजाइनमा दर्शकको सुरक्षा नै प्रमुख रहने र त्यसमा बढी ध्यान दिनुपर्ने बताए । यो डिजाइनमा अझै काम गर्न उनले निर्देशन दिएका छन् ।

सदस्य–सचिव टंकलाल घिसिङले यसलाई मेगा प्रोजेक्टको रूपमा अगाडि बढाइएको र बजेटमा यसलाई प्राथमिकता दिइने बताए । कात्तिक २३ मा सरकारले मूलपानी, चितवन र विराटनगरका निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा अगाडि बढाइने घोषणा गरेको थियो ।

प्रकाशित : वैशाख २४, २०८१ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?