रारामा प्रदेशस्तरीय प्रथम कबड्डी खेल सुरु
काठमाडौँ — मुगु जिल्लाको पर्यटकीय गन्तव्य रारामा प्रदेशस्तरीय प्रथम कबड्डी खेल सुरु भएको छ । प्रतियोगिता उद्घाटन कर्णाली प्रदेशसभाका सार्वजनिक लेखा समिति सभापति तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निवर्तमान मन्त्री जीतबहादुर मल्लले गरेका छन् ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण रारामा पहिलो पटक आयोजित प्रदेशस्तरीय कबड्डी खेलले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने निर्वतमान मन्त्री मल्लले विश्वास व्यक्त गरे । उनले खेल शान्तिपूर्ण र मर्यादित ढंगले संचालन गर्न आग्रह गरेका छन् ।
यस्तै कार्यक्रममा उपस्थित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका निर्वतमान मन्त्री मंगलबहादुर शाहीले रारा आफै सुन्दर भए पनि विकासको दृष्टिले पछि परिरहेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धन तथा पूर्वाधार निर्माणमा सरकारले ध्यान दिन जरुरी रहेको बताए । उनले भने, 'रारा मुर्माटपमा ठूलो लगानीमा लक्जरी रिसोर्ट बन्ने खबरले मुगुवासीलाई खुशी बनाएको छ ।'
तीन दिनसम्म चल्ने कबड्डी खेलमा महिला ७ र पुरुष १० गरी १७ टिमका १ सय ७० जना खेलाडी र २२ जना रेफ्री सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
कर्णालीको राजधानी सुर्खेतमा हुने दसौं राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडी छनौट गर्न रारामा प्रदेशस्तरीय कबड्डी खेल आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए ।