२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ

'दशरथ रंगशालाको विकल्प खोज्नुपर्ने भएको छ । त्यहाँ खेल भयो कि ट्राफिक जामले काठमाडौं ठप्पै हुन्छ । बरु बाहिर लगौँ । उपत्यका बाहिरलाई पूर्वाधारमा प्राथमिकतामा राखेका छौँ ।’

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका लागि विनियोजन हुँदै आएको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहीबार मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्यून भएको बताएका हुन् । 

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ

मन्त्रालयको बजेटले ठूला खेल संरचना निर्माण गर्न नसकिने र ठूला खेल प्रतियोगिता आयोजना हुन नसक्ने बताएका हुन् । उनले हाल मन्त्रालयलाई प्राप्त बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका हुन् । उनले देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउने गरेको भन्दै जनप्रतिनिधिको माग अनुसार बजेट दिन नसकिने बताएका हुन् ।

‘मन्त्रालय कम बजेटमा चलाउनु परेको छ । देशभरका जनप्रतिनिधिहरू, वडा सदस्य, गाउँपालिका प्रमुखदेखि लिएर प्रदेशका सांसद, सभामुख, प्रदेशका मन्त्रीसम्म योजना माग्न आउनुहुन्छ । उहाँहरूलाई हामीले वस्तुस्थितिको बारेमा भन्दाखेरी देशको बजेट भन्दा ठूलो माग खेलकुद पूर्वाधारको माग भएर आएको छ । उहाँहरूलाई बुझाउँदै पठाउँदा, उहाँहरू पनि के कुरामा चित्त बुझाएर जानुहुन्छ भने कम्तिमा तपाईंलाई हाम्रो माग राखेका छौँ भनेर फोटो खिचाएर जाउ भनेर पनि चित्त बुझाएर जानु भएको छ अहिलेसम्म,' मन्त्री श्रेष्ठले भने, 'जनतालाई हामीले माग चाहीँ राखेका छौँ हुन्छ, हुँदैन भन्नेसम्म, यो स्थिति छ । अहिले खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुडो, चेस, बाघचालका खेलहरू मात्रै हुन् । नारायणी रंगशाला वीरगञ्जको अवस्था जिर्ण छ । दशरथ रंगशाला त्यस्तै छ । समयसापेक्ष हिसाबले खेलकुद कहाँ पुगिसक्यो । पूर्वाधारमा सापेक्षताको सिद्धान्तमा काम गर्न सकिएको छैन । समय सापेक्ष पनि हुन सकिरहेको छैन । नीतिगत रुपमा नै सुधार गर्नको लागि मन्त्रालयले खेलकुद परिषद्लाई स्पष्ट निर्देशन दिएको, रंगाशाला सञ्चालन, प्रयोग तथा मर्मत कार्यविधि बनाई सकेको छ, परिषद्ले । त्यसलाई आगामी बोर्ड बैठकमा अनुमोदन भएपछि व्यक्तिले होइन कुनै विधिले रंगशाला राम्रोसँग कार्यान्वनय हुने काम भइरहेको छ ।’

मन्त्री श्रेष्ठले खेल क्षेत्रको सुधार गर्नका लागि राजनीतिक आवद्धता त्याग्नुपर्ने बताएका थिए । उनले खेल संघहरू राजनीतिक दलहरू अन्तर्गत रहेका भन्दै त्यसले खेल क्षेत्रको विकास हुन नसक्ने बताए । उनले दशरथ रंगशाला समय सापेक्ष नभएको भन्दै विदेशीहरूले भने अनुरुपको मापदण्ड रंगशालामा कायम गर्न नसकिएको बताए । उनले युवा तथा खेलकुद मन्त्रालय योभन्दा तल जाने ठाउँ नै नरहेको भन्दै अब जे गरेपनि राम्रो हुने बताए । दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधिलाई रोक्नुपर्ने पनि मन्त्री श्रेष्ठको भनाइ थियो । ‘बहुदलीय व्यवस्था संसद्मा भयो । त्योभन्दा बढी व्यवस्था त संघहरूमा छ । केही गर्न खोज्यो भने मुद्दा हालिदिने रहेछ । दुई महिना भयो मैले जिम्मेवारी लिएको मैले नेपालको राजनीतिक ब्रह्माण्ड नै देखेको जस्तो भएको छ,' उनले भने, 'रंगशालामा गैर खेलकुदलाई रोक्नैपर्छ । यो भनेर मैले कोहीप्रति पनि आग्रह, पूर्वाग्रह राखेको होइन । राजनीतिक कार्यक्रम, कन्सर्ट बन्द गर्नमा सबै एकढिक्का बनौँ । दशरथ रंगशालाको विकल्प खोज्नुपर्ने भएको छ । त्यहाँ खेल भयो कि ट्राफिक जामले काठमाडौं ठप्पै हुन्छ । बरु बाहिर लगौँ । उपत्यका बाहिरलाई पूर्वाधारमा प्राथमिकतामा राखेका छौँ ।’

मन्त्री श्रेष्ठले दशरथ रंगशालाको विकल्पको रुपमा काठमाडौं उपत्यकाभन्दा बाहिर रंगशाला बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : वैशाख २७, २०८१ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?