२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

अमेरिकी कानुनविरुद्ध टिकटकले हाल्यो मुद्दा

अमेरिकी बजारको स्वामित्व बिक्री नगरे टिकटक एपमाथि प्रतिबन्धको सामना झेल्नुपर्ने व्यवस्थासहितको कानुन असंवैधानिक भएको बाइटडान्सको दाबी 
एजेन्सी

काठमाडौँ — दुई साताअघि लागू गरिएको टिकटकसम्बन्धी कानुनलाई लिएर सो भिडियो सेयरिङ एप र त्यसको प्यारेन्ट कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । चिनियाँ कम्पनी, बाइटडान्सले आफ्नो अमेरिकी बजारको स्वामित्व बिक्री नगरे टिकटक एपमाथि प्रतिबन्धको सामना झेल्नुपर्ने व्यवस्थासहितको सो कानुन असंवैधानिक भएको आरोप लगाएको छ ।

अमेरिकी कानुनविरुद्ध टिकटकले हाल्यो मुद्दा

टिकटकमार्फत चीन सरकारले अमेरिकी नागरिकहरूमाथि निगरानी गर्न वा आम धारणा प्रभावित पार्न सक्ने भन्दै अमेरिकाले कि त टिकटकको स्थानीय सञ्चालन स्थानीय लगानीकर्तालाई बेच्नुपर्ने, नभए प्रतिबन्ध झेल्न नीतिगत रूपमै बाध्य पारेको छ । टिकटकले भने आफ्ना १७ करोड अमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी सरकारले ‘शक्तिको असाधारण र असंवैधानिक अभ्यास’ गरेको भन्दै सो कानुनको विरोध गर्दै आएको छ ।

‘टिकटक प्रतिबन्ध गर्नु सरासर असंवैधानिक छ र यो कुरा कानुन बनाउनेहरूले पनि बुझेका छन्,’ टिकटकले अदालतमा दायर गरेको याचिकामा भनिएको छ, ‘त्यसकारण उनीहरूले यो कानुनलाई सोझै प्रतिबन्धात्मक नदेखाउने गरी टिकटकको स्वामित्वमा नियमन गर्ने प्रावधान मिसाएका छन् । तर वास्तवमा टिकटकलाई प्रतिबन्ध वा स्वामित्व विक्रीमध्ये एउटा रोज्ने विकल्प छैन ।’ टिकटकको अमेरिकी बजारको स्वामित्व बेच्न व्यावसायिक र प्राविधिक रूपमा पनि सम्भव नभएको हुँदा बाइटडाइन्सका लागि प्रतिबन्ध झेल्नु नै एक मात्र विकल्प भएको टिकटकको गुनासो छ ।

डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किटको पुनरावेदन अदालतमा दायर मुद्दामा बिनाप्रमाण टिकटकको चिनियाँ स्वामित्वलाई राष्ट्रिय सुरक्षा जोखिमका रूपमा चित्रण गरिनु उचित नभएको उल्लेख छ । गत वर्ष २६८ अर्ब डलरको कुल मूल्यांकन गरिएको टिकटकले अब अमेरिकी सरकारविरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ । यो मुद्दा बाइडेन प्रशासनका लागि पनि आफ्नो महत्त्वपूर्ण छ । किनभने यसमा सरकारको हार भए लामो रणनीतिक प्रयास खेर जानेछ । त्यस्तै यसमा अदालतले सरकारको पक्षमा फैसला गरे विदेशी–लगानीमा सञ्चालित प्रविधि कम्पनीहरूको अमेरिकी बजारमा हुने नियामकीय नियन्त्रणमा फेरबदल देखिनेछ ।

टिकटक र अमेरिकी सरकारबीचको मनमुटाव नयाँ विषय होइन । अघिल्ला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै कार्यकाल अर्थात् २०२० को अगस्टमा एक कार्यकारी आदेश जारी गरी टिकटक र विच्याट गैरचिनियाँ उद्यमीलाई बिक्री नगरिए प्रतिबन्ध लगाइने घोषणा गरिएको थियो । तर त्यो आदेश कार्यान्वयनको केही घण्टा मात्र अघि एक अमेरिकी संघीय न्यायाधीशले उक्त आदेश अमेरिकी संविधानको पहिलो संशोधविपरीत भएको भन्दै रोक्ने आदेश दिएका थिए । त्यसपछिका केही समय यो विवाद थाती थियो । त्यो समयमा बाइटडान्स आफैं सक्रिय बनेर अमेरिकी बजारमा आफ्नो प्रभुत्व जोगाउन भरपूर प्रयत्न गर्दै आएको थियो ।

कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्मलाई एक्ल्याएर प्रतिबन्ध नै लगाएको अमेरिकामा यो पहिलो पटक हो ।

प्रकाशित : वैशाख २७, २०८१ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?