१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यसो भन्छन् कांग्रेसी जन

काठमाडौ — नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा खुला, अञ्चल र आरक्षित गरी कुल निर्वाचित हुने ६१ पदमा शनिबार ३ सय ६१ उम्मेदवारको मनोनयन परेको छ ।

यही सेरोफेरोमा 'महाधिवेशनबाट के अपेक्षा गर्नुभएको छ र तपाईंको उम्मेदवारी केका लागि ?' भनेर कान्तिपुरले प्रश्न गरेको थियो । प्रस्तुत छ केही उम्मेदवारसँग कान्तिपुरका लागि सरोजराज अधिकारीले गरेको कुराकानीको संक्षेप ः
............................
आनन्दप्रसाद ढुंगाना
अहिले हाम्रासामु आगामी दिनमा कसरी कांग्रेसलाई सुदृढ पार्ने भन्ने टड्कारो चुनौती छ । राष्ट्रको तरल अवस्था छ, राष्ट्रियता नै खतरामा छ । शान्तिसम्झौतालाई तार्किक अवस्थामा पुर्‍याउने र लोकतान्त्रिक संघीय संविधान बनाउने परिस्थितिको निर्माणका लागि यो महाधिवेशनले दिशानिर्देश गर्छ । त्यसैमा अहम् भूमिका खेल्नका लागि मैले जनकपुर अञ्चलको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ । कांग्रेसजनहरू निकै स्वाभिमानी छन् । भारतमा निर्वासित बस्नुपरेको अवस्था होस् वा नेपालका जेलमा बस्नुपरेको अवस्थामा लोकतन्त्र र नागरिक अधिकारका लागि लडिरहेका छन् । हिजो पनि एक सय चार वर्षे राणाशासन, राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको विरोधमा थिए । अहिले पनि कांग्रेसजनहरू सर्वसत्तावादी शासनको विरोधमा छन् । २००७ सालको आन्दोलनदेखि ०६२/६३ सम्मको आन्दोलनको नेतृत्व कांग्रेसले नै गरेको छ । ००७ सालमा बीपीले, ०४६ सालमा गणेशमानले र ०६२/६३ मा गिरिजाबाबुले आान्दोलनको नेतृत्व गर्नुभएको थियो । कांग्रेसले जे निर्णय गर्छ, मुलुकले त्यही निर्णय गर्छ । हामी पनि युवा हुँदा नै १६/१७ देखि काम गरेको हो, हामीमा अनुभव छ, युवामा जोस छ । यी दुवैलाई समायोजन गरेर अघि बढ्यौं भने कांग्रेस पनि अघि बढ्छ । कांग्रेस जहिले पनि युवाको जोस र अनुभवीको होसका कारणले आजसम्म नेपाली राजनीतिको मियो बन्न सफल भएको छ ।
==========
दीपक गिरी
२०४६ सालमा प्रजातन्त्र आएदेखि नै म कांग्रेसको महासमिति सदस्य छु तर यसबीच बाह्रौं महाधिवेशनसम्म आइपुग्दासम्मको प्रक्रियामा कुनै परिवर्तन छैन । पार्टी पुरानै ढर्रामा चलिरहेको छ । अलिकति आधुनिक, वैज्ञानिक, विधिसम्मत र पारदर्शी हुनुपर्छ भन्ने मेरो मान्यता हो । खुलामञ्चमा भएको उद्घाटन समारोहकै कुरा गरौं, त्यतिका विदेशी, स्वदेशी पाहुना, सञ्चारमाध्यम आएको ठाउँ कति अव्यवस्थित थियो । यो उदाहरण मात्रै हो, समग्र पार्टी नै अव्यवस्थित छ । चुनावमा टिकट बाँड्ने प्रक्रिया होस् वा राजनीतिक नियुक्तिका कुरा कुनै पारदर्शी छैनन् । म राप्ती अञ्चलको कोटाबाट उम्मेदवार बन्नुको प्रमुख कारण भनेको यो मध्यमाञ्चलको अति माओवादी प्रभावित क्षेत्र हो । यहाँ माओवादीले सयौं मान्छे मारेको छ । यही एकजना महाधिवेशन प्रतिनिधि आउनुभएको छ गोपाल शर्मा, उहाँका दुवै आँखा माओवादीले फुटाइदिएको छ । हेर्न सक्नुहुन्न । कति मान्छे मारिए, विस्थापित, अपांग भए, कांग्रेस लामो समय सरकारमा रहे पनि हेरिएन । त्यो क्षेत्रमा सयौं परिवारको सम्पत्ति माओवादी कब्जामा छ । शान्तिसम्झौता भएको कति भयो ? किन लागू भएन ? माओवादीको ठूलो दोष होला । कांग्रेस पनि सरकारमा थियो, छ । उसले पनि किन लागू गराउन सकेन ? कतिपटक त कांग्रेस माओवादी एजेन्डामा नतमस्तक भएको छ । म केन्द्रीय सदस्य भएँ भने सबै माओवादीपीडित साथीहरूलाई जम्मा पारेर सञ्चारकर्मी साथीहरूको सहयोगमा त्यो मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनेछु । अहिले पनि कांग्रेसमा युवालाई छेकवार छ । २००७ सालको क्रान्तिअघि कांग्रेस युवाहरूले नै खडा गरेको पार्टी हो । बीपी, गणेशमान, किसुनजी कति वर्षको हुनुहुन्थ्यो ? अहिले हेरौं त सरर मञ्चमा बिजोग देखिँदैन । हामीभन्दा पनि ऊर्जाशील युवा आउनुपर्छ, हामी त युवा र बूढाको पुल हौं ।
==========
दीनबन्धु श्रेष्ठ
०६२/६३ को जनआन्दोलनबाट जनताले लोकतान्त्रिक संविधान निर्माण, दिगो शान्ति र जनताको हित हुने अपेक्षा गरेका थिए । त्यसैगरी गरिब, निमुखा, दलित, जनजाति, महिला, कणर्ालीजस्तो पिछडिएको क्षेत्र, किसान, अल्पसंख्यक र मजदुरवर्गको राज्य स्थापना हुने सोचेका थिए । ती अपेक्षा पूरा गर्ने दिशामा यो महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिनुका साथै पार्टीमा समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नेछ । त्यसमाथि कणर्ाली क्षेत्र भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक कारणले धेरै पछाडि छ । यसलाई माथि उठाउन मैले कणर्ाली अञ्चलको कोटाबाट केन्द्रीय सदस्यतर्फ उम्मेदावारी दिएको हुँ । यसैगरी देशभरिका जनताका लागि परिवर्तित दिनमा मुलुकलाई अगाडि बढाउन, कांग्रेसलाई गरिब जनताको पार्टी, समावेशी बनाउन, सबैलाई समेटेर राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वतन्त्रतालाई जगेर्ना गर्न म जोडदार आवाज उठाउनेछु । यो परिवर्तन गरिब जनतामाझ पुर्‍याउनुपर्छ, त्यसको प्रतिफल उनीहरूले पाउनुपर्छ भन्ने मेरो मत छ । कांग्रेसले युवावर्गको नेतृत्वका लागि गाउँस्तरसम्म प्रशिक्षण दिनुपर्छ । संविधान बन्न नसकेको, शान्ति प्रक्रिया टुंगोमा नपुगेको अवस्थामा भोलि पनि ६० वर्ष मुलुकको राजनीतिको नेतृत्व गरेको कांग्रेसले नै यो चुनौतीको सामना गर्नुपर्छ । यसका लागि पार्टीलाई अझ सशक्त बनाउनुपर्छ । हामी कणर्ालीका जनता प्राकृतिक स्रोतसाधनले धनी भए पनि गरिब भएर बाँचिरहेका छौं । त्यसैले कणर्ालीका हकहितमा छुट्टै कणर्ाली संघीय राज्यको स्थापनामा म भूमिका खेल्नेछु ।
==========
देवप्रकाश त्रिपाठी
लोकतन्त्रको स्थापनापछि कांग्रेसको वैचारिक नेतृत्व संकटमा परेकाले पनि म खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारीका लागि प्रेरित भएँ । बीपी कोइरालाले प्रतिपादन गर्नुभएको मौलिक विचारबाट पार्टी विचलित हुँदै गएको छ । एक समय कांग्रेसभित्र माओवादीका एजेन्डालाई रामायण बनाएर पढ्ने, पढाउने काम गरियो र त्यसलाई स्थापित गर्न खोजियो । नेपाली कांग्रेसलाई यसको मौलिक चिन्तन धारामै फर्काउनुपर्छ र बीपी कोइरालाको विचारलाई पार्टीमा मार्गदर्शक सिद्धान्तका रूपमा पुनस्र्थापित गर्नुपर्छ । माओवादी आतंकबाट जति पनि मानिस पीडित भए ती मानिस लोकतन्त्र स्थापनापछि पनि मनोवैज्ञानिक रूपमा पीडितै छन्, लघुताभासको अवस्थाबाट गुजि्रनु परिरहेको छ । उनीहरूको आत्मसम्मान र सम्मानित जीवनयापनका लागि पहल गर्नुपर्छ भन्ने मेरो सोचाइ छ । संघीय शासन प्रणालीबारे केही भ्रम छ, धेरै मानिसले यसको गहिराइमा नपुगीकनै यो मुद्दा उठाइरहेका छन् । नेपाली कांग्रेसका तर्फबाट संघीयताबारेका भ्रम हटाउँदै अखण्ड नेपाल निर्माणका पक्षमा वातावरण बनाउनुपर्छ । म लोकतन्त्र, संसदीय प्रणाली असफल भएको मान्दिनँ, आतंक र अतिवादको चपेटमा परेको मात्रै हो । संसदीय लोकतान्त्रिक प्रणालीका पक्षमा पार्टीलाई दह्रो ढंगले उभ्याउनुपर्छ र जनमत सिर्जना गर्नुपर्छ । लामो समयको पत्रकारिताबाट मैले मुलुकलाई, समाजलाई, राजनीतिलाई नजिकबाट चिन्ने मौका पाएँ । अहिले राजनीतिप्रति नै अनास्था बढ्दै गएको छ । राजनीतिप्रति आस्था घट्दा अधिनायकवाद हावी हुन्छ । पत्रकारितामा सँगालेको अनुभवका आधारमा पार्टीको मूल प्रवाहमै पसेर नेपालकै निर्माणमा दर्बिलो ढंगले भूमिका खेल्न सकिन्छ भन्ने लाग्छ ।
==========
एनपी साउद
हाम्रा लागि एउटा ऐतिहासिक भएको छ किनकि यो एकताको महाधिवेशन पनि हो । यसअघि दुईवटा छुट्टै पार्टीले अलगअलग ठाउँमा ११ औं महाधिवेशन गरेको स्थिति थियो र पार्टी एक हुँदा पनि कतिपय समानान्तर संरचनाहरू कायमै थिए । ती संरचनालाई समाप्त गरेर एकल पार्टी संरचना विकास गर्ने र भावनात्मक रूपमा पार्टीलाई एकीकृत गर्ने सम्बन्धमा यो महाधिवेशनको ऐतिहासिक महत्त्व छ । योभन्दा पहिले समाजको ठूलो तप्का आदिवासी, दलित, जनजाति, महिला, अल्पसंख्यक, भौगोलिक रूपमा पिछडिएकाहरू देशको राजनीतिको मूलधार र कांग्रेसभित्र पनि समावेश हुन सकेको थिएन । उनीहरूको हितलाई पार्टीमा कसैले हेरिदिनुपर्ने अवस्था थियो । पार्टीभित्र उनीहरूको निणर्ायकत्व थिएन, पार्टी नेतृत्वले उनीहरूको पक्षमा निर्णय गरिदिनुपर्ने अवस्था थियो । अहिलेको महाधिवेशनले उनीहरूलाई समावेश गरेर उनीहरूको पनि यो पार्टी हो, नेतृत्वसम्म पहुँच छ र पार्टीको विभिन्न तप्कामा पहुँच छ भन्ने वातावरण दिएको छ । हाम्रो संस्थापक पुस्ता यो महाधिवेशनबाट बिदा भएको छ । पछिल्लो पुस्ता यो महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्दै छ । यसपटक युवाहरूको व्यापक सहभागिता छ । अनुभवी, त्यागी, पुरानो पुस्ता र ऊर्जाशील, गतिशील नयाँपुस्ता दुवैको संयोजनबाट कांग्रेसको नयाँ नेतृत्व छनोट गर्न सक्यो भने यो महाधिवेशनको ठूलो सार्थकता रहन्छ । कांग्रेसका अगाडि उत्पन्न चुनौतीका सन्दर्भमा अहिले ६२ प्रतिशतको हाराहारीमा वामपन्थी संविधानसभामा छन् । हामी १६/१७ प्रतिशतमा खुम्चिएर बसेको अवस्था छ । जब मुलुकमा प्रजातान्त्रिक धारको निर्वाचनको प्रक्रियामा र संविधानसभाजस्ता निर्वाचित संस्थामा उपयुक्त उपस्थिति हुन सक्दैन तब नेपालमा लोकतन्त्र पनि संस्थागत हुन सक्दैन । कतिपय वामपन्थी लोकतन्त्रलाई तात्कालिक रणनीतिका रूपमा प्रयोग गरेर आफ्नो अभीष्ट पूरा गर्ने कोसिस गरिरहेका छन् । वामपन्थी र कांग्रेसबीचको अन्तरद्वन्द्वको यो परिस्थितिले राजनीतिलाई तरलतामा राखिराखेको छ । यसलाई कांग्रेसले तब मात्रै चिर्न सक्छ जब केन्द्रभन्दा अलिकति वामपन्थी झुकाव राखेर उपेक्षित, शोषित, दलित, पीडित जनताको पार्टी हो भन्ने अनुभूति दिने गरी पार्टीलाई रूपान्तरण गर्न सकिन्छ । अहिले निर्वाचनको माहोलमा पाँच दिन देखिएकाभन्दा महाधिवेशन सुरु हुनु -भदौ ३१) अघि कसले कांग्रेसमा कति भूमिका खेल्यो, आन्दोलन, संघर्ष गर्‍यो र महाधिवेशन सकिइसकेपछि भोलिका चुनौती सामना गर्न ककसले भूमिका खेल्न सक्छन्, महाधिवेशन प्रतिनिधिहरूले विचार पुर्‍याउनुहुनेछ भन्ने मेरो विश्वास छ ।
==========
सीता गुरुङ
कांग्रेस महाधिवेशनप्रति राष्ट्रिय, अन्तर्राष्ट्रिय चासो छ । महाधिवेशनले पार्टीलाई सशक्त रूपमा अघि बढाउन नीतिगत रूपमा कसरी अगाडि लाने, सैद्धान्तिक अवधारणा तयार पार्ने र रणनीति तय गर्ने सम्बन्धमा महत्त्वपूर्ण निर्णय गर्नेछ । स्थापनाकालमा तय गरेका नीति, सिद्धान्त समयानुकूल परिवर्तन गरेर अघि बढ्नुपर्छ । संगठन बलियो बनाउन समयसापेक्ष असल नेतृत्व चयन गर्नुपर्छ । अहिले २०१७ सालको आन्दोलनलाई थेग्नेदेखि ०६२/६३ को आन्दोलनमा सहभागी युवासम्मको प्रतिनिधित्व छ । पुराना र नयाँको यो सम्बन्धलाई कायम राख्दै कसरी पार्टीमा सबैको प्रतिनिधित्व गर्ने भन्ने दिशामा जानुपर्छ । त्यसैगरी ५१ प्रतिशत जनसंख्या ओगट्ने महिलाको पहिचानसँगै नेतृत्वदायी प्रतिनिधित्वको अभियानमा हामी छौं । इतिहासको कालखण्डमा कांग्रेसले राजनीतिक मुद्दाका साथै सामाजिक र सांस्कृतिक आन्दोलनलाई पनि अघि बढाएको थियो, त्यो अहिले सुषुप्त अवस्थामा छ । आर्थिक-सामाजिक रूपान्तरणका नीति, कार्यक्रम आउनुपर्छ । कांग्रेसले स्थापनाकालमा नेपालको विविधतालाई सम्बोधन गर्ने रणनीति लिएको थियो, अहिले त्यसलाई मूर्तरूप दिन अन्य पार्टीभन्दा फरक ढंगले विधानमै उल्लेख गरी अग्रगामी कदम चालेको छ । जसको कारण म तेह्रथुमको दूरदराजमा बस्ने आदिवासी, जनजाति महिलाले पनि नेतृत्वदायी भूमिका लिनका निम्ति तयार भएको छु । बीपीले जसरी समाजवादी सिद्धान्त प्रतिपादन गर्नुभयो, त्यसैगरी शैलजा आचार्य, मंगलादेवी सिंहजस्ता होनहार व्यक्तित्वले नेपाली महिलाका अधिकारमुखी आन्दोलनमा पहिलो कदम चलाउनुभएको थियो । उहाँहरू महिलाको हकहित स्थापित गर्न लडाइँ लड्नुभयो । म उहाहरूकै बाटो पछ्याएर त्यो महिला अधिकारमुखी आन्दोलनलाई परिणाममुखी बनाउनेछु । 
==========
चन्द्र भण्डारी
नेपालको वर्तमान अवस्था हेर्दा विगतको इतिहास अत्यन्त उत्साहजनक, राम्रो र दुनियाँलाई जित्न सक्ने खालको थियो । हाम्रो मौलिकता र इतिहास हेर्दा धेरै कुरामा गौरव गर्न सकिन्छ । चाहे राष्ट्र बन्दाको कुरा होस्, अमेरिकाभन्दा ८, जर्मनीभन्दा ६३ वर्षअगाडि बनेको सम्पन्न र राम्रो देश हो नेपाल । तीन घन्टामा हामी तीन थरी हावापानी, वातावरणको अनुभव लिन सक्छौं । भारत र चीनले यत्रो विकास गरेको अवस्थामा हामीले फाइदा लिनुपर्ने अवस्थामा हामी लामो समय हिंसामा बस्यौं र कहिल्यै पनि प्रगति गर्न सकेनौं । प्रजातन्त्र आइसकेपछि पनि मुलुकलाई अगाडि बढाउन सकेनौं, नेपाली जनतालाई सुख, शान्ति र समृद्धि दिन सकेनौं । नेपालका राजनीतिज्ञ हिंसा गरेर, जनतालाई दुःख दिएर र अपहरण गरेर सत्ता प्राप्त गर्नेतर्फ मात्रै लागे । सत्ता प्राप्तिका निम्ति जनताको हत्या गर्न मिल्दैन, हामी अत्यन्तै गतल बाटामा गयौं । यसको समाधानका लागि संविधानसभाको निर्माण गर्‍यौं, आधुनिकताका लागि नयाँ नेपाल निर्माण गर्ने भनेर संघीयताका कुरा गर्‍यांै, गणतन्त्रका कुरा गर्‍यौं । यी सबै राम्रा चीज हुँदाहुँदै पनि यसलाई व्यवस्थापन गर्न नसक्दा आज मुलुक विखण्डनमा जाने, सामाजिक सद्भाव खल्बलिने अवस्था बनेको छ । सरकारमा रहँदा पनि हामीले माओवादीपीडित परिवारलाई राम्ररी राख्न सकेनौं । हामीले चियाको भरमा, चुस्कीका भरमा हजारांै, लाखौंलाई नेपाली नागरिकता दियौं । हामीमा सचेतता आएन, नेताहरू गम्भीर बन्न सकेनन् जसले गर्दा देश अराजकतातर्फ बढेको छ । यति राम्रो सुन्दर देश बिगि्रयो, यसबाट निकास दिनुपर्छ र त्यो कांग्रेसबाट मात्रै सम्भव छ किनकि कांग्रेस फुट्दा राजा आउँदारहेछन्, कांग्रेसले गल्ती गर्दा हिंसा फैलँदोरहेछ । एमाले फुट्दा त राजा आएका थिएनन् नि । लोकतान्त्रिक शक्तिहरू बिग्रे भने, उनीहरूले राम्ररी सोच्न सकेनन् भने मुलुक नै बिग्रँदोरहेछ । कांग्रेसलाई सबल बनाएर मुलुकलाई यो अवस्थाबाट निकास दिनकै लागि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ । मैले धेरै वर्षदेखि एउटा अनुसन्धान गरिरहेकेा छु 'नयाँ नेपाल र नेतृत्वको भूमिका' का बारेमा । नीति मात्रै भएर हुँदोरहेनछ नेता भएन भने । नेताले नीति बनाउँछ तर नीतिले नेताको निर्माण गर्न सक्दोरहेनछ । सही नेतृत्व आउनुपर्छ भन्ने मेरो मत हो ।
==========
सुरेन्द्रराज पाण्डे
देशको राजनीति चुनौतीपूण अवस्थामा रहेका बेला १२ महाधिवेशन भइरहेको छ । त्यसलाई सामना गर्न नेपाली कांग्रेसजस्तो पार्टीको महाधिवेशनले गर्ने निर्णयले ठूलो भूमिका खेल्छ । अहिले राजनीतिक अस्थिरता छ, यस अवस्थामा सरकारको नेतृत्व होइन, सच्चा लोकतन्त्रवादी पार्टी हुनुका नाताले कांग्रेसले राजनीतिक रूपमै देशकै नेतृत्व गर्नुपर्छ । नेपालको भोलिको राजनीति कता जान्छ भन्ने कुरामा पनि यो महाधिवेशनले प्रभाव पार्छ । जति पनि नीति तथा कार्यक्रम आउनेछन्, त्यसले देशको राजनीतिलाई डोर्‍याउनेछ । यो महाधिवेशनपछि अधिनायकवादी सोच राख्ने र हिंसामा विश्वास गर्नेका चुनौतीलाई मुकाबिला गर्दै कांग्रेसले मुलुकमा शान्ति र संविधानलाई सुनिश्चितता दिँदै मुलुकको सामाजिक रूपान्तरण गर्नेछ । विगतका अधिवेशनमा चुनावी माहोल मात्र देखिन्थ्यो । यसपटक नीतिनिर्माण तहमा पनि गहन छलफल गरी वैचारिक रूपमा एउटा सशक्त पार्टी कसरी बनाउने ? ०४६ सालअघि कांग्रेसलाई मानिसले कसरी हेर्थे, अहिले कसरी हेर्छन् ? चुनावी हिसाबले पनि ०४८ सालमा के थियौं र आज कुन अवस्थामा आइपुग्यौं ? किन हाम्रो अवस्था यस्तो भयो भनेर व्यापक छलफल हुनेछ । विगतका कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा त्यसलाई सच्याएर सशक्त, गतिशील र सुदृढ कांग्रेस बनाउने कुरा यो महाधिवेशनले निक्र्योल गर्छ । कांग्रेसमा युवाको आकर्षण छैन भनिएको थियो, यो महाधिवेशनमा ४० प्रतिशत प्रतिनिधि युवा आएका छन् । म पार्टीको विद्यार्थी, युवाको मोर्चामा काम गर्दै आएको हुँ, जसरी गाउँ, जिल्ला तहमा युवाहरू आएका छन्, त्यसैगरी केन्द्रीय तहमा पनि युवाहरूको उपस्थिति सुनिश्चित गर्नुपर्छ भनेर पनि मैले गण्डकी अञ्चलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हँु । कांग्रेसको सशक्तीकरण र सुदृढीकरण मेरो प्रतिबद्धता हो र परिवर्तित सन्दर्भको परिवर्तित कांग्रेस निर्माणमा सहयोग गर्ने मेरो उद्देश्य हो । पुँजीवाद अँगालेका मुलुकहरू बिस्तारै समाजवादतर्फ फर्किरहेका अवस्थामा कांग्रेसले प्रजातान्त्रिक समाजवाद बिर्संदै गएको हो कि भन्नेजस्तो देखिएको छ । प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उतार्दै पार्टीभित्र पनि समान अवसर र सम्मान गर्नुपर्छ ।
==========
कृष्णकुमारी खतिवडा
संक्रमणकालबाट गुजि्ररहेको देशलाई नेतृत्व दिएर अगाडि लैजान कांग्रेसले मात्र सक्छ । यो पम्परै बनिसकेको छ । जब देश दलदलमा फस्छ, तब कांग्रेसले काँध थापेर देशलाई निकास दिने गरेको छ । विश्वको नजर अहिले कांग्रेस महाधिवेशनतिर केन्दि्रत छ । राजनीतिक अस्थिरताका बेला कांगे्रसमा आउने नयाँ नेतृत्वले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र संविधान निर्माणका काममा सहयोग पुर्‍याउनेछ । महाधिवेशनपछि पार्टीभित्र रहेका गुट र उपगुटको राजनीति समाप्त हुनेछ । सबैलाई समान व्यवहार हुनेछ । संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता छ । पार्टीमा पनि ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन जरुरी छ । महिला कोटातर्फ मेरो उम्मेदवारी यसैका लागि हो । पार्टीभित्रका निष्ठावान् र आदर्श नेताकार्यकर्ताको सम्मान आवश्यक छ । यसका लागि पार्टीलाई सिद्धान्त र विकासमुखी बनाउने मेरो उद्देश्य हो र म निर्वाचित भएपछि माओवादीको ज्यादतीका विरुद्धमा खुलेर विरोध गर्नेछु ।

प्रकाशित : आश्विन ३, २०६७ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?