कलिला बुहारीमय छ बाजुरा

१५ वर्ष नपुग्दै विवाह गर्ने किशोरी ४ हजार
अर्जुन शाह

बाजुरा — सदरमुकाम मार्तडीस्थित दलित टोलकी १४ वर्षीया बाटुली विकको गत साउनमा लालबहादुर विकसँग बिहे भयो ।

घरमा बुहारी ल्याएको खुसियालीमा लालबहादुरका अभिभावकले गाउँमा भोज गरे । छिमेक र आफन्तले अभिभावकलाई बधाई र दुलाहादुलहीलाई आशीर्वाद दिए । मार्तडीकै मालिका उच्च माविमा ७ कक्षामा अध्ययनरत बाटुलीको पढाइ भने नियमित हुन सकेन । अभिभावकले पढाइभन्दा पनि घरजममै बुहारीलाई लगाउन थाले । 'बिहेपछि बाटुलीको पढाइ बिग्रँदै गयो,' शिक्षक शेरबहादुर रावलले भने ।
बाटुलीकै उमेरकी सरिता विकको तीनमहिने छोरा छ । उनी पनि सात कक्षामा सोही विद्यालयमै पढछन् । सानै उमेरमा घरजम गर्नुपरेकाले सरिताको पढाइ पनि खस्किएको रावलले बताए ।
जिल्लामा पढ्ने उमेरमा बिहे गरेका सयौं बालजोडी भेटिन्छन् । 'सानै उमेरमा बिहे गर्नाले पढाइ त बिगि्रने गरेको छ नै, जीवनयापनमा समेत अनेकौं समस्या हुने गरेको छ,' कैलाशमाडौंस्थित रत्न उच्च माविका प्राचार्य रत्नबहादुर अयडी भने ।
जनगणना २०६८ अनुसार बाजुराका करिब २५ हजार किशोरीको विवाह २० वर्षभन्दा कम उमेरमै भएको छ । यीमध्ये पनि ४ हजारको १५ वर्ष नपुग्दै बिहे भइसकेको देखिन्छ । कानुनी प्रावधानअनुसार विवाह गर्न अभिभावकको सहमति भए १८ वर्ष र नभए २० वर्ष पुगेको हुनुपर्छ । कलिलैमा बिहे गर्नेमा किशोरभन्दा किशोरी बढी देखिन्छन् । जनगणनाले करिब १३ हजार किशोरको १९ वर्षभन्दा कम उमेरमा विवाह भएको देखाएको छ ।  
बाल अधिकारका क्षेत्रमा काम गर्ने सरकारी निकाय जिल्ला बालकल्याण समिति, बाल संरक्षण समितिका अनुसार कलिलैमा विवाह हुने मुख्य कारणमा बाबुआमाले छोरीको चाँडै कन्यादान गरे पुण्य कमाइन्छ भन्ने परम्परागत सोचाइ पनि हो । कतिपयले स्कुले उमेरमै लहैलहैमा लागेर बिहे गरिरहेका पनि पाइएका छन् । स्थानीय मेलापर्व, जात्रामा केटीलाई तान्ने परम्पराले समेत यस्तो बिहेलाई बढावा दिइरहेको अधिकारकर्मी लालबहादुर शाहीले बताए । जिल्ला बालकल्याण समितिका बाल संरक्षण अधिकृत सर्पलालका अनुसार १४ देखि १६ वर्ष उमेरमा बिहे गर्ने केटीको संख्या धेरै छ ।
बुहारी भएपछि उनीहरूले घरायसी कामकाज सम्हाल्नुपर्ने बाध्यता हुन्छ । जुनसुकै उमेर भए पनि घरजम सम्हाल्न नजान्ने बुहारीलाई अभिभावक र छरछिमेकले समेत 'खिसीटिउ' गर्छन् । 'विद्यालय पढै गरेका भए पनि बिहे भएका केटीलाई पढाइमा भन्दा घरजममा प्राथमिकता हुन्छ,' अर्का शिक्षक नरबहादुर विकले भने । बिहेकै कारण जिल्लामा छात्राले स्कुल छाड्ने दर धेरै रहेको शिक्षा अधिकारी गोविन्दप्रसाद पोखरेलले बताए ।
यस्तो विवाह न्यूनीकरणका लागि बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालयलगायत विभिन्न गैरसरकारी संघसंस्थासमेत कार्यरत छन् । केही गाविसमा बालविवाहमुक्त घोषणा गर्ने अभियानसमेत चलाइएको छ । दुई महिनाअघि तोलीलाई बालविवाहमुक्त गाविस घोषणा गरिएको छ । जिल्लाको पूर्वोत्तर क्षेत्रमा बालविवाह अत्यधिक छ ।

प्रकाशित : चैत्र ३०, २०७० ००:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फुटपाथ व्यापारका लागि १० स्थान

काठमाडौं — सरकारले महानगरभित्रका १० स्थानमा फुटपाथ व्यवसाय गर्न दिने भएको छ । गृहमन्त्रालय र काठमाडौं महानगरपालिकाले आन्दोलनरत फुटपाथ व्यापारीको व्यवस्थापनका लागि स्थान निर्धारण गरेको हो ।


सरकारले फुटपाथबाट हटाएपछि दुई महिनायता फुटपाथ व्यवसायीहरू आन्दोलित छन् ।
यस व्यवसायका लागि नारायणहिटी संग्रहालयको उत्तरी क्षेत्र, सुन्धारा, वीर अस्पताल, महाबौद्ध, प्रदर्शनीमार्गलगायत क्ष्ाेत्र तोकिएको छ । ती स्थानमा निश्चित घन्टामात्रै व्यापार गर्न दिइने महानगरका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले बताए । 'व्यवसायमा असर नपरोस् भन्ने हाम्रो चाहना हो । स्थायी किसिमले त्यो स्थान दिने होइन,' उनले भने ।
संग्रहालयको उत्तर क्ष्ाेत्रमा आइतबार बेलुका पाँच बजेदेखि व्यापार गर्न पाइने कार्यकारी अधिकृत अर्यालले बताए । सोमबार दुई बजेदेखि वाग्मती नदी किनारका विभिन्न स्थान र धोबी खोलाको बिजुलीबजार क्षेत्रमा पसल राख्न दिइने जानकारी उनले दिए ।
यस्ता व्यापारीलाई निश्चित समयका लागि महानगरको खालि जग्गा भाडामा दिने तयारी भइरहेको जानकारी कार्यकारी अर्यालले दिए । 'बसुन्धरा क्षेत्र पनि तोक्न सकिन्छ, अध्ययन भइरहेको छ,' उनले भने । उक्त क्षेत्रमा पानी बत्ती  लगायतका आधारभूत संरचनासमेत निर्माण गरिने उनले बताए । 'स्थायी संरचनाचाहिँ निर्माण गर्न दिंदैनौं,' उनले भने ।
पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले पनि फुटपाथ व्यापारीलाई सडकबाट हटाएको थियो । उक्त समय पनि व्यापारी आन्दोलनमा उत्रेपछि तत्कालीन गृहमन्त्री वामदेव गौतमको नेतृत्वमा उच्चस्तरीय व्यवस्थापन समिति गठन गरिएको थियो । समितिले खुलामञ्च, तीनकुने, कलंकी र बालाजु क्षेत्रमा फुटपाथ व्यापार गर्न दिएको थियो ।

प्रकाशित : चैत्र ३०, २०७० ००:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT