१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

परालका भरमा सुत्केरी

पवन यादव

लोथर (चितवन) — कलिलैमा बिहे भएकी लोथर ६ केलुङकी २१ वर्षीया मीनाकुमारी चेपाङले ३ सन्तान पैदा गरिन् । उनले ३ वटै बच्चा बारीमा जन्माइन् । भर्खर जन्मेका शिशु छोप्न न्यानो लुगा थिएन ।

परालका भरमा सुत्केरी
उनले पराल ओछ्याइन् र त्यसैले ढाकिन् । सुत्केरीका बेला न्यानो कपडा पहिरेर सुरक्षित घरमा बस्नुपर्ने हो । उनलाई त्यो कहिल्यै जुर्दैन । बच्चा र शिशुलाई चिसोबाट जोगाउन धौधौ हुने गरेको छ । श्रीमान्ले डाँडा चहारेर संकलन गरी ल्याएका दाउरा बालेर ताप्छिन् । शिशुलाई खरानीमा राख्छिन् । जब निद्राले च्याप्छ, त्यही भुईंमा पातलो पराल ओछ्याएर शिशुसँगै सुत्ने गर्छिन् ।
आफू जाडाले कामे पनि बच्चालाई काखीमा च्यापेर जोगाउने गरेको उनले बताइन् । दुधे बच्चाको माया औधि लाग्छ । त्यसैले प्रत्येक रात जाडो खेप्न बाध्य भएको सुनाउँछिन् उनी । सुत्केरी हुने व्यवस्थित स्थान अभावमा पहिलो सन्तान गुमाइन् । उक्त बच्चा पनि बारीमा जन्माइन् । 'परालका भरमा बच्चालाई जोगाउन सकिएन,' आँखाबाट आँसु खसाल्दै भनिन्, 'नानीको यादले सताउँछ ।' जन्मेको १ महिना नकट्दै शिशुको मृत्यु भएको थियो । उनले भनिन्, 'चिसोले निमोनियाँ भएर बित्यो ।' १३ वर्षकी छँदा बिहे गरेकी उनले त्यसको १ वर्षमै सन्तान जन्माएकी थिइन् । २ वर्षपछि अर्को बच्चा जन्माइन् । दोस्रो सन्तान अनिल ३ वर्षका भए ।
'अनिललाई जोगाउन हम्मेहम्मे पर्‍यो,' उनले भनिन्, 'तर ऊ बाँचिरहेछ ।' उसलाई पनि जाडो छल्न कठिन छ । अनिललाई बाबुले सम्हाल्छन् । पछिल्लो सन्तान भने ८ दिनअघि बारीमै पैदा गरेकी थिइन् । बेथा लागेपछि दौडेर बारीमा पुगेको बताइन् । त्यसबेला घरमा कोही थिएनन् । छोरा जन्माएर धेरैबेर छटपटिइन् । केही समयपछि सासूआमा आइन् । दुवैलाई सम्हालेर घर लगिन् । भत्किन लागेका घरमा हावा छिर्छ । चिसोबाट नाति/बुहारीलाई जोगाउन समस्या भोग्नुपरेको ३८ वर्षीया सासू बुद्धिमायाले बताइन् ।
'सुत्केरी र शिशु जोगाउन घर छैन,' उनले भनिन्, 'पोसिलो खाने कुरा छैन ।' ढिँडोको भरमा सुत्केरी स्याहार्नुपरेको छ । सुत्केरीलाई पौष्टिक आहार खुवाउनुपर्छ । यो ज्ञान छैन । भए पनि खरिद गर्न पैसा छैन । गाविसको वासवाङमा रहेको उपस्वास्थ्यचौकी १ घन्टा दूरीमा छ । उनले स्वास्थ्यचौकीमा बुहारीलाई १ पटक जचाउन लगिन् । महिनावारी रोकिएको २ महिनापछि लगेको बताइन् । 'डाक्टरसापले पौष्टिक खाने कुरा खुवाउन भनेका थिए,' उनले भनिन्, 'खानेकुरा किन्न पैसा छैन ।' नजिकको बजार पुग्न भण्डारा जानुपर्छ । त्यहाँ पुग्न पैदल १२ घन्टाभन्दा बढी समय लाग्छ ।
बुहारीले मात्र होइन, उनले पनि यस्तै पीडा भोग्नुपरेको सुनाइन् । उनको समयमा गाउँमा स्वास्थ्यचौकी थिएन । जोगाउन नसक्दा बुद्धिमायाले १ छोरा र १ छोरी गुमाउनुपरेको बताइन् । उनका १ छोरा र ३ छोरी बँचे । २२ वर्षीय धर्मकी पत्नी मीना हुन् । श्रीमती, छोराछोरी, बुहारी र नाति गरी १० जनाको परिवार छ । घरमूली ४० वर्षीय नन्दबहादुर हुन् । पाखुराका बलमा परिवार धानेको उनले बताए । 'यहाँका परिवार स्वास्थ्यचौकी आउन मान्दैनन्,' वासवाङ उपस्वास्थ्य चौकीकी नर्स अनुराधा गौतमले भनिन्, 'जनचेतना कमी छ ।' यहाँका अधिकांश परिवारलाई सबैभन्दा ठूलो समस्या छाक टार्ने नै रहेको उनले बताइन् । उनीहरूसँग पर्याप्त कपडा छैन । 'यस ठाउँमा न रेडियो टिप्छ न फोन,' उनले भनिन्, 'चितवन सुगम जिल्लाको दुर्गम गाउँ हो ।'
चिसोबाट जोगाउने र निरोगी बनाएर बच्चा स्याहार्ने ज्ञान यहाँका किशोरी आमामा छैन । अघिल्लो वर्ष गाउँमा ४ जना बालबालिकाको निमोनियाँले मृत्यु भएको थियो । जिल्लाका ९ गाविस पहाडी छन् ।
ती गाविसमा चेपाङ समुदायको बसोबास छ । 'अब अनिकाल सुरु भयो,' चेपाङका क्षेत्रमा काम गर्दै आएका केपीकिरण शर्माले भने, 'खाने अन्न र आङ ढाक्ने लुगा नहुँदा चेपाङहरू आगो बालेर रात कटाउन बाध्य छन् ।'

 

प्रकाशित : पुस १०, २०७१ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?