विन्दास बोका

राजेन्द्र मानन्धर

दोलखा — दिनहुँ सयौं बोकाहरु काटिन्छन् तर यि यस्ता बोका हुन् जसलाई काल गतिले बाहेक अन्य कारणले मृत्युको मुखमा पुग्नु पर्दैन । खोरमा थुनिएर बस्नु पनि पर्दैन् । इच्छा लागेको ठाउँमा जान्छ, केही भेटे जवरजस्ती भएपनि खान्छ ।



जतिसुकै बदमासी गरिहाले पनि मानिसहरुले श्रद्धापूर्वक धपाउँछन एक सिर्कानो हिर्काउने हिम्मत गर्दैनन् । भक्तजनले दोलखा बजारस्थित भीमेश्वरमा धर्मका लागि छाडिएका केही बोकाहरु छन जसले यस्तो विन्दास दैनिकी गुजाद्रै छन् ।

बाषिर्क करिब ५० को हाराहारीमा भीमेश्वरमा बोकाहरु छाडिन्छन् । अधिकाशं भीमेश्वर मन्दिर वरपर चहर्दै जीवनयापन गर्छन् । केही त गाउँ र सहर चहार्दै हिड्छन्, पर्यटक जस्तै । विगत तीन बर्षदेखि एउटा कालो बोका भने चरिकोटमा यस्तै ऐसको दैनिकी गुजार्दै गरेको देख्न सकिन्छ । जति बोको हस्टपुष्ट हुन्छ, त्यति नै काटिनका लागि तयार हुनुपर्ने नियतिलाई त्यसले चुनौति दिएको छ ।

मौका पाए कसैको घरको ओछ्यान र सोफासेटमा आरम गर्दिन्छ । बजारमा बेच्न राखेको हरियोपरियो र फलफुल अन्नमाथि विना त्रास हमला गर्दिन्छ । कतिपयले त धर्म हुन्छ भन्दै फलफुल र दानाहरु खुवाइदिन्छन् । उपद्रप र छिप्पिदै गएको उक्त बोकाबाट निस्कने अनौठो गन्धबाटछुटकारा पाउन मानिसहरुले पानी छ्यापेर लखेटिरहेका हुन्छन, अरु केही सजाय दिदैनन् ।

खोरहरु चाहर्दै 'विऊको बोका' को काम पनि त्यसले निशुल्क गरिदिन्छ । त्यसैले गाउँघरतिर त्यो पशु आएपछि प्रेमपूर्वक गोठतर्फ आकषिर्त गर्नेहरु पनि भेटिन्छन् ।

भगवानको प्रसादको रुपमा छाडिएका बोकाहरुले साँढेको उपाधी पाएका हुन्छन् । भीमेश्वरका गुठियार डम्बरबहादुर श्रेष्ठका अनुसार करिब २०४० सालपछिबाट पशु मारेर मासु खान नरुचाउने भक्तजनहरुले मनोकांक्षा पूराहोस भनी भाकल गरी बोका, भाले र हाँसलाई कुनै चिन्ह लगाई छाड्न थालिएको हो ।

यसरी नै छाडिएकोमध्ये त्यो बोकालाई पनि स्थापित हुनु मृत्युको समुन्ने दुई पटक खडा हुनुपर्‍यो । केही अघि चोरहरुले समातेर मासुको लागि बेच्ने लादालादै प्रहरीले पक्राउ गरेपछि बोकाको ज्यान जोगियो ।

बढ्दै गएको साँढेहरुले मन्दिरको वरपर फोहर बढ्दै गएपछि प्रतिमामा संकल्प गरी नगद नै भगवानलाई समर्पण गर्ने व्यवस्था गरिए पनि सफल नभएको भीमेश्वर मन्दिर व्यवस्थापन समिति बताउँछ । छाडिएकामध्ये कतिपयको दैनिकी मस्त देखिए पनि धेरैजसोको भने विभिन्न कारणले मृत्यु हुने उनले बताए ।
 
 

प्रकाशित : पुस १०, २०७१ ०९:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पुलले सहज बनायो दैनिकी

गणेश राई/कुम्भराज राई

ओखलढुंगा — सुनकोसीको पुल सुचारु भएसँगै ओखलढुंगा र सोलुखुम्बुको दैनिक जीवनयापन सहज बनेको छ ।

उदयपुरको कटारीदेखि ओखलढुंगासम्म चामल, दाल जस्ता उपभोग्य सामग्रीको भाउ घटेको उद्योग वाणिज्य संघ ओखलढुंगाका कोषाध्यक्ष नीरज केसीले बताए । निर्माण सुरु भएको चौध वर्षपछि कटारी-ओखलढुंगा सडक र सिद्धिचरण मार्ग जोडिएपछि स्थानीयलाई राहत मिलेको हो ।
केसीका अनुसार यसअघि कटारीदेखि ओखलढुंगाको ढुवानी भाडा प्रतिकेजी ३ रुपैयाँ ५० पैसा थियो । सुनकोसीको झोलुंगे पुलमा अनलोड गर्न प्रतिकेजी १ रुपैयाँ, पुल तार्न भरियालाई प्रतिकेजी १ रुपैयाँ २० पैसा र स्टोरका साथै अनलोड गर्दा १ रुपैयाँभन्दा बढी पर्न जान्थ्यो । पुल बनेपछि अनलोड, भरिया, स्टोर र लोड गर्नुपर्ने समस्या समाधान भएको छ ।
चाउचाउको मूल्य कटारीबाट ओखलढुंगा ल्याउँदा प्रतिकार्टुन ४० रुपैयाँ महँगो हुनेमा हाल प्रतिकार्टुन ५ रुपैयाँ मात्र लाग्ने व्यापारीहरूको भनाइ छ । खुद्रा सामान र हार्डवेयरमा भरियाको मनपर्दी भाडाले गर्दा एकरूपता कायम हुन सकेको थिएन । सुनकोसीदेखि ओखलढुंगा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरीसम्म कालोपत्रेको काम सम्पन्न हुन करिब ३० प्रतिशत मात्र बाँकी रहेकाले अझै सस्तो हुने अनुमान गरिएको छ ।
'कति मूल्य घट्छ भनेर अहिले नै सबै अनुमान गर्न सकिन्न,' उद्योग वाणिज्य संघ ओखलढुंगाका कोषाध्यक्ष नीरज केसीले भने, 'कतिपय कम्पनीले ढुवानी भाडा आफैं बेहोर्ने भएकाले पनि अनुमान गर्न सकिन्न । तर सर्वसाधारणलाई धेरै सहज भने हुनेछ ।'
हालै घोषित ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले सबैभन्दा धेरै राहत पाएको तत्कालीन ओखलढुंगा गाविसका पूर्वअध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन् । 'पुल उद्घाटनसँगै ओखलढुंगाको आर्थिक क्षेत्रमा विकासको ढोका खुलेको छ,' श्रेष्ठ भन्छन्, 'अब हामीले भारत या चीनबाट डाइरेक्ट ओखलढुंगा र सोलुखुम्बुसम्म सामान ढुवानी गर्न सक्ने भएका छौं ।'
ओखलढुंगा, सोलु र खोटाङतर्फ आयात गरिएका सामान उदयपुरको कटारीमा ओराल्नुपथ्र्यो । त्यसपछि उदयपुरकै घुर्मी ढुवानी हुने गथ्र्यो । सुनकोसीमा पुल नहुँदा घुर्मीदेखि कोसीपारि ओखलढुंगाको टोक्सेल हर्कपुरसम्म भरियालाई बोकाउनुपर्ने बाध्यता थियो । त्यसपछि अर्को गाडीमा लोड गराएर ओखलढुंगा र सोलु उपभोग्य सामान पुर्‍याइन्थ्यो । पुल सुचारु भएपछि करिब एकहजार भरिया रोजगारविहीन भएको स्थानीय गाडी व्यवसायी घनश्याम गौतमले बताए । 'आलोपालो गरेर जीविकोपार्जन गर्ने स्यानीय र बाहिरका गरी झन्डै हजार जनाले रोजगारी गुमाएका छन्,' उनले भने ।
यस क्षेत्रमा उत्पादित कृषि उपजले बिक्रीका लागि बजार नपाइरहेको अवस्थामा अब सिधै राजधानी र तराईसम्म पुर्‍याउन सकिन्छ । 'यहाँ फलेर फालिने गरेको स्कुस अब कटारी लगेर बिक्री गर्न सकिन्छ,' स्थानीय ज्ञानेन्द्र रुम्दालीले भने, 'चामल बोकेर आएको ट्रकलाई रित्तो नफर्काउने गरी कृषकहरू लाग्न सक्ने अवस्था छ ।' अर्कोतिर दैनिक आवतजावत गर्ने यात्रुका लागि गाडी फेर्नुपर्ने सास्तीको अन्त्य भएको छ । ओखलढुंगा सदरमुकामदेखि राजधानी काठमाडौंसम्म पुग्न गत वर्षसम्म एकतर्फी गाडी भाडा प्रतियात्रु टाटासुमोमा २ हजार र बसमा १ हजार ५ सय रहेकोमा हाल दुवैमा ५ सय घटेको छ । अझै भाडा घट्ने अनुमान गरिएको छ ।
सडक मार्ग बदल्ने माग
कटारी-ओलढुंगा सडक उदयपुरको सुनकोसीसम्म ४६ किलोमिटर फैलिएको छ । महाभारत पर्वत शृंखला भएर पार हुने यो सडकको हर्देनी खण्ड ठाँटी क्षेत्र ज्यादै भिरालो छ । पहिरोका कारण धेरै पटक मर्मत गर्दासमेत सडक टुट्ने स्थितिमा पुगेको छ । 'यो क्षेत्रमा करिब दस किलोमिटर बाटो अन्तैबाट मोड्नु पर्छ,' उदयपुरका राजनीतिकर्मी हेरम्ब थापा भन्छन्, 'वैकल्पिक बाटो नबनाउने हो भने जति खर्च गरे पनि स्थायित्व पाउने छैन ।' हर्देनी गाविसदेखि सोरुङ छब्बिसे हुँदै लेखानीमा वैकल्पिक बाटो जोड्न जरुरी रहेको उनले बताए ।
पुल उद्घाटनसँगै सबैतिर उत्साह जागेको छ । तर, पुलको उदयपुरतर्फको भाग भिरालो छ । बलौटे माटो हुनु र माथिबाट निरन्तर पानी बग्ने समस्या जटिल भएको स्थानीयवासी बताउँछन् । पुल उद्घाटनका बेलामा हत्तपत्त सम्याउने काममात्र भएको छ भने पुल प्रवेश गर्ने ठाउँ खोल्सो साँगुरो र कमजोर छ । त्यसैगरी पुलपारि ओखलढुंगातर्फ तरेपछि विवादित दुईवटा बाटा बनाइएको छ । करिब ६५ रोपनी क्षेत्रमा सहर बसाउन योजनासहित जग्गा प्लानिङ गरिएको छ । त्यही जग्गाको बीचमा बसपार्क, शौचालय, टिकट काउन्टर निर्माण गरिएको जयकुमार आवास विकास कम्पनीका प्रोप्राइटर जयबहादुर श्रेष्ठले बताए । 'बस्तीमाझबाटै मूल सडक बन्नुपर्छ भन्ने हाम्रो माग छ ।' उनले भने ।
मध्यपहाडी लोकमार्गसमेत जोडिएको यो सडक खण्डको सिन्धुली र उदयपुर जोडिने बहादुरा खोलामा अझै पुल बन्न सकेको छैन । त्यसैगरी दुधकोसीको जयरामघाट खण्डमा पनि पुल बनेको छैन । बेलिबि्रजबाट यातायात भने सुचारु छ । लोकमार्गको यस खण्डमा यसै वर्ष पुल निर्माण गरिने सडक विभाग पूर्वाञ्चल क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले कान्तिपुरलाई बताए ।

प्रकाशित : पुस १०, २०७१ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT