कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मनको कुरा साट्दै बहिरा बालबालिका

ठाकुरसिंह थारू

बाँके — उनीहरू कान सुन्न र बोल्न सक्दैनन् । पढ्दै गरेका साथीभाइसँग भने मजाले रमाएका छन् । सांकेतिक भाषामा आफ्ना कुरा राख्छन् । मोबाइलबाट एसएमएस गर्छन् ।

मनको कुरा साट्दै बहिरा बालबालिका
साथीभाइ र पढाउने शिक्षकसमेतले भाषा बुझ्न थालेपछि बहिरा बालबालिकालाई सजिलो भएको हो ।
सूर्योदय उच्चमावि चिसापानीमा पढ्दै गरेका ३५ बहिरा बालबालिका शिक्षक र विद्यार्थीसँग घुलमिल भएका छन् । 'हामीले संकेतबाट कुराकानी गर्दा सर र साथीहरू बुझ्छन् । त्यसैले हामीले आफ्ना कुरा सजिलै भन्न सकेका छौं,' कक्षा ११ मा पढ्दै गरेका लोकबहादुर बुढा सांंकेतिक भाषामा भन्छन्, 'मनको कुरा सर र विद्यार्थीले नबुझ्दा समस्या हुन्थ्यो । हाम्रा भावना सबैले बुझिदिँदा निकै खुुसी लाग्छ ।'
सुरुमा इसाराको भरमा कुरा गर्दा कसैले नबुझ्दा बहिरा बालबालिका दुःखी हुने गरेका थिए । तर शिक्षक, अभिभावकले समेत सांकेतिक भाषाको तालिम लिएपछि उनीहरूलाई सहज भएको छ । 'अहिले निकै खुसी लाग्छ । सरहरूले बोल्दै संकेतमा पनि पढाइदिंँदा निकै सजिलो भएको छ । पढाएको सबै बुझिन्छ,' अर्का बहिरा विद्यार्थी डम्बर खत्री भन्छन्, 'बोल्न र सुन्न नसके पनि पढ्दै रमाउन पाएका छौं ।'
उनीहरूजस्तै कर्णबहादुर सुनार, नन्दबहादुर बुढा पनि रमाएर पढ्न पाएको अनुभव सुनाउँछन् । विद्यार्थी र शिक्षकले पनि माया गर्ने गरेको उनीहरूको अनुभव छ । 'मनका कुरा सबैले बुझिदिए पनि रमाइलो नलाग्ने कुरै भएन । मजाले पढ्न पाएका छौं,' कर्णबहादुर भन्छन्, 'छात्रावासमा पनि साथीभाइबीच रमाइलो गरी दिन बित्ने गरेको छ ।' बहिरा बालबालिकाका लागि चिसापानीमा एकमात्र छात्रावास स्थापना गरिएको छ । त्यहाँका विद्यार्थी स्थानीय विद्यालयमा पढ्दै आएका छन् । त्यहाँ बहिरा बालबालिका पढ्दै गरेका कारण शिक्षकहरूलाई पनि सांकेतिक भाषाको तालिम दिइएको छ । त्यसैले पनि उनीहरू रमाएर पढ्ने वातावरण बनेको हो ।
रारा मानवीय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) बाँकेले बहिरा बालबालिकाका लागि छात्रवास स्थापना गरेको हो । अध्यक्ष पुनितविक्रम शाहले आफ्नै घरमा निःशुल्क छात्रावास स्थापना गरेका हुन् । संस्थामार्फत बहिरा बालबालिकालाई समाहित शिक्षाका लागि विद्यालयका शिक्षक तथा अभिभावकलाई सांकेतिक भाषा तालिम दिँदै आएको छ । यसले फरक क्षमताका बालबालिका र अभिभावकलाई संवादमा सहयोग पुर्‍याएको छ । छात्रवासमा त्यस्ता बालबालिकाका लागि खाने, बस्ने व्यवस्था छ । 'शिक्षा कार्यालयको सहकार्य र सहयोगमा बहिरा बालबालिकालाई छात्रावास राखेर पढ्ने व्यवस्था मिलाएका छौं,' शाहले भने ।
बाँकेको चिसापानीस्थित छात्रवासमा बस्दै गरेका बहिरा बालबालिका । तस्बिरः ठाकुरसिंह/कान्तिपुर
 

प्रकाशित : पुस १४, २०७१ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?