१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सुनेकै भरमा पढ्न बाध्य छन् दृष्टिविहीन

सुदीप कैनी

गोरखा — डेराबाट छामछुम गर्दै छवि आले कक्षाकोठामा पुग्छन् । अरू साथी लेख्छन्, पढ्छन् । उनीचाहिँ दिनभर शिक्षकले पढाएको सुनेर फर्कन्छन् । ब्रेललिपिमा पाठ्यपुस्तक नहुँदा गुरुले पढाएको सुनेर फर्कनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

 सुनेकै भरमा पढ्न बाध्य छन् दृष्टिविहीन

छवि मात्रै होइन, सदरमुकामस्थित सरस्वती उच्च माविमा अध्ययनरत ८ दृष्टिविहीन विद्यार्थी शिक्षकले पढाएको सुनेर घर र्फकन्छन् । 'अरू साथी किताब हेरेर पढ्छन्, कापीमा लेख्छन्,' आलेले भने, 'हामीचाहिँ पढाएको सुनेर र्फकनुपर्छ ।' ब्रेललिपिमा अंग्रेजी माध्यमको पाठ्यपुस्तक नबन्दा दृष्टिविहीन विद्यार्थीलाई समस्या भएको प्राचार्य पुरुषोत्तम अर्यालले बताए । सरस्वती उमावि नेत्रहीन विद्यार्थीलाई अंग्रेजी माध्यममा पढाउने नेपालकै पहिलो विद्यालय भएको उनले जानकारी दिए । '३ कक्षासम्मका विद्यार्थीलाई ब्रेललिपिको अंग्रेजी पुस्तक छ,' अर्यालले भने, 'त्यसपछिका कक्षामा विद्यार्थीले सुनेको भरमा पढ्नुपर्छ ।'
सरोकारवाला निकायले पुस्तक छपाइ नगर्दा पठनपाठनमा समस्या भएको दृष्टिविहीन स्रोत कक्षाका शिक्षक बालनाथ दवाडीले बताए । नेपाली माध्यमका १० कक्षासम्मका पुस्तक छपाइ भए पनि अंग्रेजी माध्यमका ब्रेललिपि पुस्तक अहिलेसम्म तयार नभएको हो । सोही विद्यालयबाट दृष्टिविहीन विद्यार्थी झकमाया आले र परशुराम भट्टले सुनेकै भरमा प्रथम र द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । ३ कक्षासम्मका ८ नेत्रहीन विद्यार्थी भने ब्रेललिपिको अंग्रेजी माध्यममा अध्ययन गर्दै आएका छन् । दवाडीले भने, '४ कक्षामा पुगेपछि पाठ्यपुस्तक छैन, उनीहरूले पनि सुनेको भरमा परीक्षा दिने हो ।'
पाठ्यपुस्तक भए पनि अध्यापन गराउन गाह्रो हुने दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक नै नभएको अर्यालले गुनासो गरे ।
थुमीका छवि विद्यालय नजिकै डेरामा बसेर अध्ययन गर्छन् । विद्यालयमा छात्रावास नहुँदा डेरासम्म आउजाउमा समस्या हुने उनले बताए । विशेष शिक्षा कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयले दिने मासिक २ हजार ५ सयले अध्ययन गरेका छन् । ५ कक्षासम्मका विद्यार्थीलाई होस्टलमा राखिएको विद्यालयले जनाएको छ । छात्रवासमा कोठा अभाव हुँदा सबै विद्यार्थीलाई राख्न नसकिएको प्राचार्य अर्यालले बताए । 'अपांग छात्रवृत्ति भनेर १ वर्षमा १० महिनाको मात्र भत्ता आउँछ,' अर्यालले भने, 'त्यही भत्ताले सबै खर्च धान्नुपर्छ ।'




प्रकाशित : माघ २९, २०७१ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?