कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मोदीखोलासँगै उर्लियो आँसु

कास्की, लुम्ले — उर्लेको धमिलो मोदीखोला । किनारमा लहरै चिता । एकैछिनमा सबै शवमा दागबत्ती । गाउँलेको मन कसरी थामिन्थ्यो ! रुवावासी चल्यो । युवापुस्ता पनि आँखामा आँसु लिएर पिलपिल गर्दै थिए ।

मोदीखोलासँगै उर्लियो आँसु
शुक्रबारको दिउँसो बादल पनि हरायो । मौसम धुम्म थियो । मानौं बाढीपहिरोको विपत्तिले थोपरेको शोकमा परेकाहरूको आँसुले मोदीखोला उर्लिएको थियो ।
पोखराबाट ३२ किलोमिटर पश्चिममा पर्ने लुम्ले–६ को माझगाउँ बिहीबार बिहान पहिरोको पीडा भोगेर घाइते अस्पताल पुर्‍याउन र दबिएकाहरूलाई खोज्न व्यस्त थियो । शुक्रबार एकातिर सेना, सशस्त्र र नेपाल प्रहरीका टोली घरका भग्नावशेष खोतलिरहेको थिए, अर्कातिर गाउँले दिनभर दिवंगतमध्येका १८ जनाको अन्त्येष्टिका लागि मोदीखोलाकिनारमा थिए ।
 बुधबार रातिको पहिरोले स्थानीय २७ जनाको ज्यान लियो । एकजना अझै बेपत्ता छन् । ट्रयाक्टर र गाडीमा शव लिएर गाउँले १० किलोमिटर दूरीको घाट पुगेका थिए । एकै वडाका यति धेरैको सामूहिक अन्त्येष्टि कल्पनासम्मको कुरा थिएन ।
 ‘कसरी हेर्न सक्नु ?’ घरहरूमा अझै पुरिएकाको शव र गाउँलेका सामान भेटाइदिन खन्दै गरेका सुरक्षाकर्मीको साथमा रहेका गाविस सचिव हरिप्रसाद अधिकारीले भने, ‘यो कसैले सपनामा पनि नचिताएको कुरा भयो ।’ एउटा सिर्जनाको जमाना थियो । पोखरेली स्रष्टा विनोद गौचन थिए । पूर्वमा इलामको कन्याम, भेडेटार र राजधानी नजिकको नगरकोटको मौसमजस्तै लुम्ले सिर्जनशीलका मस्तिष्कमा ऊर्जा भथ्र्यो । २०६५ चैतमा यिनै गौचनको अगुवाइमा लुम्लेले ‘कविता गाउँ’ को उपमा पाएको थियो ।
शुक्रबार सामूहिक अन्त्येष्टिमा सहभागीमध्ये कसैका आँखा ओभाना थिएनन् । कविता गाउँको विरहको गीत गाउँलेका आँखाबाट बगिरहेको थियो । अन्त्येष्टिमा उल्लेख्य संख्यामा लुम्लेवासी सहभागी थिए । गाउँ नै रित्तै छाडेर घाटमा पुग्नेमा महिलादेखि वृद्धसम्म सबै उमेरकाहरू थिए । मृतकमध्ये १८ जनाको विरेठाँटी नजिकैको एकुहार घाटमा धार्मिक संस्कारअनुसार सामूहिक अन्त्येष्टि गरियो । शवसँगै दाउरा पनि ट्रयाक्टरमा लगिएको थियो । नदीको भेलछेउ किनारमा एउटै लामो चितामा राखिएका शवहरूमा आफन्तले दागबत्ती दिए । छिरिङ शेर्पा परिवारका चारजनाको गाउँ नजिकैको धोतीखोलामा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिएको थियो भने माइती आएकी मञ्जु सुनार र उनकी ३ महिने छोरीको शव तनहुँ भीमाद लगिएको थियो । शेर्पाको घरलाई सबैभन्दा सुरुमा बगाएपछि पानीले सोहोर्दै अरू घरलाई गुटमुट्याएको थियो ।
माझगाउँमाथि बिलौनो खाल्डो भनिने पहाडको एउटा घरजत्रो ढुंगो खसेको थियो । त्यो ढुंगो गाउँ सिरानको खानेपानीको ट्यांकीमाथि बज्रियो । देउराली मुस खानेपानीको २० हजार लिटरको उक्त ट्यांकी फुटेर बाटामा पर्ने घरबारी सोहोर्दै मुन्तिर खसेको थियो । यसरी खस्दा त्यो पानीको वेगले गाउँका १४ घर बगाएको हो । ‘कल्पनै नगरेको स्थानमा आएको बाढीपहिरोले यति ठूलो जनधनको क्षति भयो । हामीले यो पीडा कहिल्यै बिर्सन सक्दैनौं,’ स्थानीय खिम क्षेत्रीले भने, ‘अहिले हामीसँग पीडा पोख्न शब्द छैन ।’
फेरि पनि अर्को विपत् आउने होकि भन्ने चिन्ता उनीहरूमा छ । ‘आकाशमा कालो बादल देख्नसाथ डर लाग्छ,’ उनले भने, ‘कल्पनै नगरेको घटना भएर अहिले गाउँको बीचमा ठूलो खोल्सो बनेको छ । पानी परेर त्यही खोल्सामा बाढी आएर अरू घर पनि बगाउने होकि भन्ने चिन्ता छ ।’
घटनामा त्यो रात जोगिए पनि खोल्सा आसपासका अन्य दर्जन घर जोखिममा छन् । ती घरमा सुत्न–बस्न छाडिएको छ । ‘रातिको समय के कसो हुने हो भनेर बिहीबार राति छिमेकीमा गएर सुत्यौं,’ घाटमा भेटिएका ६३ वर्षीय कृष्णप्रसाद देवकोटाले भने, ‘प्रहरीले पनि भदौ महिनासम्म घरमा राति नबस्न भनेका छन् । प्रहरीले नभनेको भए पनि बस्ने कुरै थिएन ।’
 गाउँलेका अनुसार यसअघि माझगाउँ पहिरोको जोखिम भएको क्षेत्र मानिन्थेन । कहिलेकाहीँ स–साना ढुंगा खसे पनि डाँडा सुरक्षित रहेको गाउँलेको बुझाइ थियो । ‘ढुंगो खस्नु । आफ्नै लागि बनाएको खानेपानीको ट्यांकीले गाउँ बगाउनु कसले सोच्छ †,’ स्थानीय हरिकृष्ण देवकोटाले भने, ‘खै के भन्ने भन्ने भएको छ ।’
 गाविस सहायक नारायण क्षेत्रीले भने, ‘यत्रो पीडामा पनि सबै गाउँले एक–अर्काको सहयोगमा जुटेका छौं । धैर्य टुट्न दिनु भएन भन्ने लागेको छ ।’ खानेपानीको ट्यांकी बगेकाले गाउँमा पिउने पानीको दु:ख सुरु भएको छ । धेरै ठाउँका पोल ढलेका छन् । बिजुली छैन । पुराना कुवा, खोल्सा खोज्नुपर्ने बाध्यता सुरु भएको छ ।
प्रहरीका अनुसार कास्कीको लुम्लेमा २७, भदौरेतामागीमा ५ र ढिकुरपोखरीमा २ जनाको मृत्यु भएको छ । घटनामा हराइरहेकाको संख्या ५ छ भने १४ जना घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । लुम्लेमा मात्रै करिब ४० चौपाया मरेका छन् । सबै शक्ति बेपत्ता व्यक्तिको खोजीमा केन्द्रित भएकाले मरेका चौपायाको व्यवस्थापन हुन सकेको छैन । यसले दुर्गन्ध फैलिएर महामारी फैलने पो होकि भन्ने डर गाउँलेमा छ । अन्त्येष्टिमा भेटिएका एमाओवादी नेता खिमलाल देवकोटाले विस्थापितको पुन:स्थापनाको माग गरे । नेपालमै सबैभन्दा धेरै पानी पर्ने लुम्लेको यो घटनाले सरकारले पाठ सिकेर भौगोलिक अध्ययन गरी व्यवस्थित बसोबास मिलाउन उनले जोड दिए ।

पीडितलाई राहत माग
सांसदहरूले बुधबार रातिको बाढीपहिरोमा परी जनधनको ठूलो क्षति भएको भन्दै पीडित परिवारलाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । व्यवस्थापिका संसद्को शुक्रबारको बैठकमा उनीहरूले पछिल्ला दिनमा कास्की, म्याग्दी र बागलुङमा बाढीपहिरोले जनधनको क्षति भएको भन्दै गृह मन्त्रालयले तत्काल राहत वितरण र स्थलगत निरीक्षण गर्नुपर्नेमा जोड दिए ।
सांसद सीता गिरी ओलीले कास्कीका विभिन्न स्थानमा बाढीपहिरोले जनधनको क्षति भएकाले तत्काल पुन:स्थापनाको व्यवस्था गर्न माग गरिन् । सांसद कुमार खड्काले कास्कीमा गएको पहिरोले चारवटा पुल भत्काएको, पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको, स्थानीयवासीको अवस्था अत्यन्तै दर्दनाक रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले पोखरा विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राख्न र बाढी तथा पहिरोपीडितलाई तत्काल राहत दिन सरकारसँग माग गरे । सांसद रेशमबहादुर बानियाँले बाढी पहिरोपीडितलाई बिनाभेदभाव राहत प्रबन्ध गर्न माग गरे । सांसदद्वय डिलबहादुर नेपाली र विन्दादेवी आलेले घाइतेको नि:शुल्क उपचार र जोखिममा परेको घरलाई सुरक्षित स्थानमा सार्न माग गरे । सांसद नवराज शर्मा र तेजकुमारी पौडेलले कास्की र म्याग्दीका विभिन्न गाविस पहिरोको उच्च जोखिममा परेकाले तत्काल सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न, घाइतेको नि:शुल्क उपचारको प्रबन्ध गर्न र मृतक परिवारलाई राहत प्रदान गर्न माग गरे ।
सांसद प्रकाश शर्मा पौडेलले बुधबारको बाढीपहिरोमा धौलागिरि अञ्चल बढी प्रभावित भएको, सडक अवरुद्ध तथा जनधनको क्षति भएको, दैनिक उपभोग्य वस्तुको अभाव र विभिन्न जलविद्युत् आयोजना क्षति भएको जानकारी दिए । सभामुख सुवास नेम्वाङले सांसदहरूले बाढीपहिरोका विषयमा गम्भीर ढंगले प्रश्न उठाएको उल्लेख गर्दै राहत तथा उद्धारमा भइरहेका प्रयासबारे व्यवस्थापिका–संसद्को अर्को बैठकमा जानकारी गराउन सरकारलाई रुलिङ गरे ।

प्रकाशित : श्रावण १६, २०७२ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?