कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ पटक खोला तरेपछि बल्ल गाविसको सेवा

दुर्गालाल केसी

गंगटे (दाङ) — पुरन्धारा ९ गंगटेका बासिन्दालाई स्वास्थ्य तथा गाविस कार्यालयको सेवा लिन २४ पटक खोला तर्नुपर्ने बाध्यता छ । हिँड्दाहिँड्दै खोला बढे बीच जंगलमै अलपत्र पर्नुपर्छ । आउँदा जाँदा कल्लेरी खोला मात्रै १८ र घुमाउरे खोला ६ पटक गरी २४ ठाउँमा तर्नुपर्छ ।

२४ पटक खोला तरेपछि बल्ल गाविसको सेवा

खोलाका कारण वर्षायाममा आवतजावत जोखिमपूर्ण रहेको पुरन्धारा ९ गंगटेका खड्क कुँवरले बताए । ‘जाँदा–आउँदा बाटैभरि खोलैखोला । हिँड्दाहिँड्दै खोला बढ्ने हो कि भन्ने चिन्ता हुन्छ ।
खोला बढे बाटोमै अलपत्र पर्नुपर्छ,’ उनले भने, ‘गाविस कार्यालयमा पुगेर एउटा काम गर्न पनि साह्रै सास्ती हुन्छ । बिरामी हुँदा सामान्य चेकजाँचका लागि पनि खोलैखोलाको यात्रा गर्नुपर्छ । बाटो कठिन भएकाले गम्भीर बिरामी नहुँदासम्म सहेरै बस्नुपर्ने बाध्यता छ ।’
गाविस कार्यालय, स्वास्थ्य चौकीजस्ता अत्यावश्यकीय सेवा प्रदायक निकाय ३५ किलोमिटर टाढा हंसपुरमा भएकाले गंगटेवासीलाई सेवा लिन कठिन भएको हो । स्वास्थ्य र गाविसका कामकाज मात्रै होइन किनमेलका लागि समेत गंगटेवासी हंसपुरदेखि थप अर्को खोला पार गरेर हापुरे बजार पुग्नुपर्ने हुन्छ । बजार पुगेर घर नफर्कंदासम्म खोलाकै त्रास हुने गंगटेका प्रदीप बुढा मगरले बताए । ‘बजार गएको मानिस घर नफर्कंदासम्म परिवारलाई चिन्तैचिन्ता हुन्छ । तनावमा बस्नुपर्छ,’ उनले भने, ‘बजार या गाविस कार्यालय पुगेर फर्कन दुई दिन समय छुट्याउनुपर्ने हुन्छ । एक्लै जानै नसकिने अवस्था छ । एक जना साथी लिएर हिँड्नुपर्ने हुन्छ नत्र मरे जिउँदोको जानकारी समेत नपाइने अवस्था छ ।’
गंगटेसम्म सडक पुगे पनि वर्षामा यातायात सञ्चालन हुन सक्दैनन् । ‘गाडी त हिउँदमा मात्रै चढ्न पाइन्छ । त्यो पनि पानी परे हिलो भएर बन्द भइहाल्छ,’ बुढाले भने, ‘एउटै खोला धेरै ठाउँमा घुमेका कारण पटकपटक खोला पार गर्नैपर्ने बाध्यता छ । अरू विकल्प पनि केही छैन ।’
खोलाकै कारण ठाउँठाउँमा बाढी, पहिरोको पनि खतरा छ । गाउँदेखि दक्षिणतिर बबई नदीले सताइरहेको छ भने पूर्वतिर कल्लेरी र घुमाउरे खोलाले । गत साउन २९ गते बबई नदीमा बाढी आउँदा यहाँका दुई विद्यालय बगाइदिएको थियो । विद्यार्थीलाई विद्यालयसम्म पुग्न पनि खोलाकै समस्या रहेको गंगटेस्थित सरस्वती जनता माविका निमित्त प्रधानाध्यापक डिल्लीबहादुर ओलीले बताए ।
‘ठाउँठाउँमा खोला तर्नुपर्ने भएकाले विद्यार्थीलाई विद्यालय आउन–जान कठिन छ । पानी पर्नेबित्तिकै कसरी घर फर्कने भन्ने चिन्ता हुन्छ,’ उनले भने, ‘भिरालो जमिन भएकाले ठाउँठाउँमा पहिरोको पनि जोखिम छ । धेरैबेर पानी परे विद्यार्थीको बिचल्ली नै हुन्छ ।’ गाविसको नौ नम्बर वडामा मात्रै नौ वटा प्राथमिक विद्यालय छन् । ती सबै विद्यालयका विद्यार्थी मावि पढ्न गंगटेमै पुग्नुपर्ने हुन्छ । नौ क्षेत्रका विद्यार्थी जंगल र खोला पार गर्दै विद्यालय पुग्नु निकै जोखिमपूर्ण रहेको ओलीले बताए ।

प्रकाशित : श्रावण १७, २०७२ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?