कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हरेक साउनमा उर्लन्छ कौवाघारीको आँसु

दुर्गालाल केसी

गोल्टाकुरी (दाङ) — १२ वर्षमा खोलो पनि फर्कन्छ भन्छन् तर १३ वर्षसम्म पनि कौवाघारीको व्यथा कम भएको छैन । कुनै घटनाले निरन्तर १३ वर्षसम्म पनि झस्काइरहँदो रहेछ । ०५९ साउन १६ मा भएको घटनाले अहिले पनि रुवाइरहेको छ ।

हरेक साउनमा उर्लन्छ कौवाघारीको आँसु
१२ वर्षमा खोलो पनि फर्कन्छ भन्छन् तर १३ वर्षसम्म पनि कौवाघारीको व्यथा कम भएको छैन । कुनै घटनाले निरन्तर १३ वर्षसम्म पनि झस्काइरहँदो रैछ । ०५९ साउन १६ मा भएको घटनाले अहिले पनि रुवाइरहेको छ गोल्टाकुरी ८ कौवाघारीका सार्की समुदायलाई ।
हरेक वर्षको साउन १६ गतेले पीडित परिवारलाई मात्रै होइन, पूरै गाउँलाई झस्काउँछ । राजनीतिक परिस्थिति फेरिएको छ तर कौवाघारी गाउँ फेरिएको छैन । माओवादी युद्धले चुँडिएका फेरि जोडिन सकेका छैनन् । हलो, जुवा र विभिन्न कृषि औजारका लागि नजिकैको जंगल गएका १२ सार्की बन्धु एकै चिहान भए । एक जना भने भागेर बाँच्न सफल भएका थिए । गाउँदेखि दक्षिणतर्फको डाँडामा देखिने राजाकोटस्थित नेपाल टेलिकमको टावर सुरक्षा गर्न बसेका तत्कालीन शाही नेपाली सेनाले जंगल गएका युवालाई आतंककारी भन्दै लहरै गोली हानेका थिए ।
उनीहरूका साथमा रहेका बन्चरा, खुकुरी र खुर्पालाई घरेलु हतियार बोकेका आतकंकारी भन्दै प्रचार गरिएको थियो । न उनीहरू कतै युद्धमा थिए न उनीहरू कसैलाई आक्रमण गर्न गएका थिए । तर आतंककारीको बिल्ला लगाइयो । उनीहरूमध्ये कोही पनि तत्कालीन माओवादी आन्दोलनमा लागेका थिएनन् । माओवादीले थालेको आन्दोलनबारे उनीहरूलाई थाहै थिएन । नेपाली सेनाले माओवादी आतंककारी मारिएको र हतियार बरामद गरेको सूचना गर्दा परिवारलाई साह्रै चोट परेको थियो ।
गाउँका घर बनाउने राम्रा मिस्त्री मारिए, काठको काम गर्नेको अकालमा ज्यान गयो । मारिनेमध्ये एकै घरका तीन भाइसमेत थिए । आफ्ना तीन छोरा एकै चिहान भएको त्यो घटनाले बिजुली नेपालीका आँखा अझै ओभाएका छैनन् । ‘मेरा छोरा किन र के कारणले मारिए ? अहिलेसम्म कतैबाट उत्तर पाउन सकिनँ,’ उनले भनिन्, ‘मेरा छोराले मर्नुपर्ने कारण के थियो ? हाम्रा छोराले कसको के बिगारिदिएका थिए ?’
बाबु गुमाएका दिनेश नेपाली हुन् वा छोरा गुमाएकी लक्ष्मी । कौवाघारीका अधिकांश पीडितका आँखामा आँसु छल्किरहन्छन् । मारिएका नाममा केही कार्यक्रम आएका थिए तर अधुरा र अपुरै छन् । कमाइ गर्ने छोरा र श्रीमान् गुमाएका बाबुआमा र श्रीमतीहरू चिन्तामा छन् । ‘व्यवस्था फेरिए तर हाम्रो अवस्थामा कुनै सुधार आएन,’ लक्ष्मीले भनिन्, ‘द्वन्द्वपीडितका नाममा अरूले नै फाइदा उठाइरहेका छन् । हामीलाई न यताको बनाए न उताको ? हाम्रा नाममा अरूले नै फाइदा लुटे ।’
मृतकका नाममा गाउँलाई नमुना बनाउने कार्यक्रम आएको थियो । त्यसबाट गाउँमा थोरै काम भयो तर नमुनायोग्य हुन सकेन । कौवाघारीका बासिन्दालाई पानीको दु:ख छ । पानी लिन खोल्सामा खनिएको कुवामा जानुपर्छ त्यसको विकल्प छैन । खेतीपातीका लागि त के खानकै लागि छैन । शान्ति मन्त्रालयअन्तर्गत पटकपटक गरेर गाउँमा एक करोडभन्दा बढी रुपैयाँ गएको छ तर त्यसको नतिजा खासै देखिँदैन । लिफ्ट सिंचाइको काम पूरा भएको छैन । बोरिङ खन्न भनेर १८ लाख आएको थियो । करिब डेढ सय मिटर खन्दा पनि पानी नआएपछि रोकियो ।
निर्दोष नागरिक मार्नेलाई कारबाही भएको छैन । जसले गर्दा स्थानीय झनै चिन्तित छन् । देशमा गणतन्त्र आयो तर कौवाघारीवासीको जीवनमा परिवर्तन आएन । न त आर्थिक रूपमा परिवर्तन भयो न त भौतिक रूपमा परिवर्तन भयो । हरेक वर्ष साउनको महिना आउँदा आफन्तहरूको सम्झना गरेर रुनुभन्दा अर्को विकल्प केही भएन ।

प्रकाशित : श्रावण २१, २०७२ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?