कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देशलाई तीन अमेरिकी अवार्ड

धरान — ‘जीवनलाई सञ्चालन, निर्देशन र नियन्त्रण भयले गर्छ’ भन्ने सिद्धान्त प्रतिपादित गर्दै देश सुब्बाले लेखेको किताब ‘फिलोसफी अफ फेयरिजम’ ले अमेरिकामा एकै वर्ष तीनवटा अवार्ड पाएको छ ।

देशलाई तीन अमेरिकी अवार्ड
योसँगै सुब्बाको भयवादको अन्तर्राष्ट्रियकरण भएको छ । गत मे १८ मा ‘नेसनल इन्डी एक्सेलेन्सी अवार्ड २०१५ पाएको केही दिनमै किताबले ‘इन्टरनेसनल बुक अवार्ड २०१५’ पायो । ‘नेसनल इन्डी एक्सेलेन्सी अवार्डका लागि विश्वभरका १२ सय प्रतियोगीले भाग लिएकोमा सुब्बाको कृतिले उत्कृष्ट अवार्ड पाएको हो ।
यी अवार्ड कुम्ल्याएको एक महिना पनि नबित्दै उनले जुन ११ तारिखमा ‘न्युयोर्क बुक फेस्ट अवार्ड’ जिते । यी अवार्डहरू पाउने नेपालका उनी पहिलो हुन् । ‘पश्चिमी मुलुकले भयवाद स्विकारेको प्रमाणको रूपमा लिन्छु म,’ कुराकानी क्रममा सुब्बाले भने, ‘र, आफूलाई भाग्यमानी ।’
धरानमा जन्मेका सुब्बा मूलत: कवि र उपन्यासकार हुन् । रोजगारीको सिलसिलामा दुई दशकदेखि हङकङमा सपरिवारसँगै बस्दै आएका उनले ‘भयवाद दर्शन’ को आधार भने नेपालमै तयार गरेका थिए । पछि उनले हङकङबाट किताब निकाल्नुको साथै भयवादको वकालत अभियान पनि थाले । ‘सुरुमा भयवाद दर्शनबारे कुरा गर्दा नजिकैका साहित्यकार कवि, लेखक र दर्शनका अध्येता साथीहरूले पनि नाक खुम्च्याए,’ उनले भने, ‘तैपनि हरेस नखाई एक्लै लागिरहें ।’ उनको दर्शनको मुख्य चुरो हो– जीवनका हरेक पक्षलाई भयका कारण उत्पन्न हुने परिस्थितिले नियन्त्रण गर्छ । भयलाई सकारात्मक उपयोग गरेमा सफलता, उन्नति, प्रगति, सुख, शान्त हुन्छ । नकारात्मक प्रयोग गरेमा आतंक, हिंसा, अराजक, तानाशाही, भ्रष्टचारतिर जान्छ ।’
भय बढी भयो भने विभिन्न प्रकारको रोगी बन्ने उनको दाबी छ । ‘अवसाद, आत्महत्या, हिनताबोध धेरै भयको कारणले हुन्छ । मानिसमा चेतना प्रवेश गर्नासाथ भय सुरु हुन्छ । प्राचीनकालमा मानिसले आविष्कार र प्रयोग गरेका ढुंगाको हतियार, ओडारको बास र प्राकृतिक शक्तिको पूजा भयकै कारणले गर्दा भएका थिए,’ उनले आफ्नो दर्शनबारे थप प्रस्ट्याए, ‘धेरै आविष्कारहरू मरिने भयले नै गरिन्छन् । अहिले विश्वमा फैलिँदै गएको मार्स, इबोला भाइरसको औषधिको आविष्कारमा वैज्ञानिकहरू लागेका छन् । त्यस्तै पृथ्वीमा बढिरहेको ग्लोबल वार्मिङ कम गर्न विश्वका राष्ट्र खटिरहेका छन् । यी सबै कुरा मरिन्छ, लोप भइन्छ भन्ने भयबाट प्रेरित भएर गरिँदै छन् ।’
अमेरिकामा तीनवटा अवार्ड पाएपछि अहिले धेरै पाठकले आफ्नो अंग्रेजी पुस्तकको इन्टरनेटबाट खोजी बढेको उनले सुनाए । भयवादको अंग्रेजी संस्करण अमेरिकाकै एक्सलिबिरिस प्रकाशनले गत वर्षको जुलाईमा प्रकाशित गरेको थियो । अवार्ड पाएपछि सुब्बाले क्यानेडियन स्थापित लेखक आर माइकल फिसरसँगको सहकार्यमा ‘फिलोसोफी अफ फेयरिज्म : अ फस्र्ट इस्ट–वेस्ट डाइलग’ नामक अर्को किताबको समेत तयारी गरिरहेका छन् । यो पुस्तकमा पश्चिमा दृष्टिकोण र पूर्वीय दृष्टिकोणबाट भयवादको व्याख्या गरिएको उनले जनाए ।
उनका अनुसार तीनवटै अवार्डको लागि विश्वभरबाट खुला निवेदन आहान गरिएका थिए । विश्वभरबाट अंग्रेजीमा प्रकाशित पुस्तकले प्रतिस्पर्धा गर्न पाउने भएकाले उनले पनि अवार्डका लागि दर्ता गरेका थिए । ‘अवार्डले पुस्तकलाई बजार प्रबद्र्धन र अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको छ,’ उनले भने, ‘नेपाली पुस्तकहरूलाई अन्तर्राष्ट्रिय बजारमा लाने यी राम्रो माध्यम हुन् ।’ ती सबै अवार्ड अमेरिकाबाट प्रकाशित पुस्तकलाई प्रवद्र्धन गर्न स्थापित एवार्ड हुन् । उनको भयवाद पनि अमेरिकाबाटै प्रकाशित दर्शनका पुस्तक भएको छनोटमा परेको हो ।
विगत १७ वर्षदेखि ‘भयवाद’ दर्शनको लेखन, पुनर्लेखन, व्याख्या, विश्लेषण, पुनव्र्याख्यामा निरन्तर लागि परेका छन् उनी । लामो समयको अध्ययनपछि गतवर्ष मात्र भयवाद अर्थात् ‘फेयरिज्म’ पुस्तक प्रकाशनमा आएको थियो । अंग्रेजीमा किताब आउनुअघि उनको भयवाद उत्तरपूर्व भारतमा लोकप्रिय भइसकेको थियो । नेपाली संस्करण भने किताबघर काठमाडौंबाट प्रकाशित छ ।

प्रकाशित : श्रावण २६, २०७२ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?