१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘अगमसिंहको अभाव खड्किरहनेछ’

पर्वत पोर्तेल

सिटोङ (दार्जिलिङ) — सन् ७० को दशकतिर एउटा गीत निकै लोकप्रिय बन्यो। कवि अगमसिंह गिरीले लेखेको ‘नौलाख तारा उदाए...’ गीत अम्बर गुरुङले गाए, जुन भारत सरकारको प्रतिबन्धमा पर्‍यो। यही गीतका सर्जक अगमसिंहलाई आइतबार दार्जिलिङको सिटोङवासीले सम्झिए।

सन्दर्भ थियो( उनको ८८ आंै जन्मजयन्ती।

‘अगमसिंह जातीय कवि नै हुनुहुन्थ्यो,’ गीताञ्जली युथ क्लबद्वारा पञ्चवती उच्च माविमा आयोजित समारोहमा खरसाङ क्षेत्रका पूर्वविधायक रोहित शर्माले भने, ‘उहाँले सधैं नेपाली जातिलाई एकताको सूत्रमा बाँध्ने काम गर्नुभयो। अगमसिंहको अभाव भारतेली नेपालीलाई सधैं खड्किरहनेछ।’

पूर्वी नेपालको धुलाबारीबाट गिरी जयन्तीमा सहभागी बनेका पत्रकार तथा गीतकार चन्द्र भण्डारीले गिरी भारतीय नेपाली साहित्यका धरोहर रहेको उल्लेख गर्दै भने, ‘उहाँले आफ्नो कलमको मसी सधंै नेपाली जातिको उत्थान र विकासमा खर्चिनुभएको थियो।’ पत्रकार मत्यराज रानाले गिरीको जीवनी प्रस्तुत गरे ।   

समारोहमा भारतको पश्चिम बंगाल सरकारको सूचना तथा संस्कृति विभागको टोलीले विविध सांस्कृतिक प्रस्तुति गरेको थियो। रोहित दियाली, सत्यम राई, पलिङ तामाङ, विनय रसाइली, शारदा सेन्चुरी, आर्यन खवास लागायतले गीत, नृत्य र कविता प्रस्तुत गरे। रेसबहादुर मुखियाको टोलीले मादलको तालमा हाक्पारे भाका सुनायो।

गीताञ्जली युथ क्लबले नेपाल त था भारतका पत्रकारहरूलाई सम्मान गर्‍यो। कवि लाडुप रोङगोपको कविता सँगालो ‘आँखा’ सार्वजनिकसमेत गरियो। यसैबीच, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए) ले संगीतकार शान्ति ठटाल तथा साहित्यकारहरू हायमनदास राई किरात र असित राईलाई गिरी पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रकाशित : पुस १४, २०७२ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?