१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कविशिरोमणिको गाउँको मुहार फेरिँदै

शिव शर्मा

लेखनाथ (कास्की) — केही वर्ष अघिसम्म कवि शिरोमणि लेखनाथ पौडयालको जन्मथलो अर्घौं–अर्चले सुनसान हुने गथ्र्यो । उनको जन्मदिनमा समेत घरमा पुगेर कसैले सम्झँदैन्थे । उनको जन्मघर पनि जीर्ण थियो । ‘सुरुमा कसैले गाउँमा आएर जन्मजयन्ती मनाउने कष्ट गरेनन्,’ स्थानीय समरबहादुर बिकले भने, ‘केही वर्षयता जन्मजयन्ती यतै आएर मनाउन थालेपछि चहलपहल पढेर गाउँको मुहार फेरिँदै छ ।’

कविशिरोमणिको गाउँको मुहार फेरिँदै

कवि शिरोमणिको जन्मघर व्यवस्थित भई स्रष्टाहरू गाउँमै आएर सम्झना गर्न थालेपछि बेग्लै हुन थालेको छ । 

पैदल हिँड्नुपर्ने झन्झट मान्नेहरूका कारण साहित्यकर्मीका टोली जन्मघर पुग्न अप्ठ्यारो मान्थे । चार वर्षयता अब घरसम्मै सडक सुविधा पुगेपछि भने नियमित रूपमा जन्मघरमै आएर साहित्यप्रेमीले कविशिरोमणिको सम्झनामा कार्यक्रम गर्न थालेको गोत्रीय दाजुभाइ कृष्णप्रसाद पौडेलले बताए । ‘कविको जन्मघर संग्रहालयका रूपका विकास भई वर्षेनी सिंगारपटार हुन थालेपछि गाउँको पनि मुहार फेरिएको छ,’ उनले भने, ‘देशका विभिन्न ठाउँबाट कविको जन्मथलो हेर्न आउनेहरू बढेका छन् ।’ 

उनका अनुसार केही अघिसम्म यहाँ आउने नगन्य हुन्थे । जन्मजयन्तीमा स्थानीयले घरमा आएर फूल चढाउँथे, कार्यक्रम सकिन्थ्यो । कविशिरोमणिको संग्रहालय व्यवस्थित भएर गाउँमा साहित्यिक पर्यटक आउन थालेपछि गाउँ छाडेकाहरूसमेत फर्कने क्रम चलेको स्थानीय रामप्रसाद तिमिल्सनाले बताए । यही सम्भावना देखेर नै राजु पौडेल सहरबाट गाउँ फर्केर बाख्रापालन गरेर बसेका छन् । ‘गाउँमा विकास हुने सम्भावना देखेर फर्केर आएँ,’ उनले भने, ‘कविको घर संरक्षण हँुदै आगन्तुकहरू आउने क्रमले हामीलाई आशा जगाएको छ ।’ 

लेखनाथ नगरपालिकाको अर्घौंचोकबाट कविको जन्मथलो अर्चलेसम्म मोटरबाटो जोडिएपछि नै साहित्यिक गतिविधि र पिकनिक आउनेहरूसमेत बढेको पौडेलले बताए । कविको जन्मथलोलाई संरक्षण गर्दै गतिविधि बढाउन स्थानीयको पहलमा कवि शिरोमणि जन्मस्थान विकास समिति गठन भएपछि भने सबै जागरुक भएका छन् । समिति गठनअघि लेखनाथ साहित्य प्रतिष्ठानले कविको जन्मघरलाई संरक्षणमा चासो दिएको थियो । गत वैशाखमा गएको भूकम्पले कविको जन्मघरको अगाडि र पछाडिका भाग केही भत्केको थियो ।

जन्मस्थल विकास समितिले चन्दा संकलन, नगरपालिका र जिविसको सहयोगमा पुनर्निर्माण गरेको छ । समितिले अहिले घर वरिपरि बगैँचा, घर रंगरोगन तथा प्रवेशद्वारदेखि घरसम्म कविका चर्चित कविताहरूलाई शिलालेखमा उतार्ने काम पनि गरेको छ । कविको घरनजिकै सभा हल निर्माणाधीन छ । ‘अर्घौं अर्चलेलाई साहित्यक पर्यटनको रूपमा विकास गर्न दीर्घकालीन गुरुयोजना अघि सारेका छांै,’ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले भने, ‘कविकुञ्जको रूपका विकास गर्न हामी लागिपरेका छौं ।’

उनका अनुसार कविशिरोमणिको गाउँमा आएर साहित्यका लागि केही लेख्न चाहनेका लागि होमस्टेको व्यवस्थासमेत गर्न लागिएको छ । कविले कविता लेख्ने प्रेरणा पाएको घर नजिकैको दोपरे पाखोलाई समेत संरक्षण सुरु गरिएको छ । स्थानीयका अनुसार २०६० साल अघिसम्म संरक्षणको अभाव जीर्ण भएको कविको जन्मघर त्यसपछि भने प्रतिष्ठान र समितिको पहलमा घर मर्मतसंहार गर्दै संरक्षणको काम सुरु भएको हो । जन्मघरमा कवि सुत्ने खाट, उनले प्रयोग गरेका समान र उनका दुर्लभ तस्बिर लगायतका सामग्रीहरूको संग्रह गरेर राखिएका छन् । 

जन्मजयन्तीको भव्य तयारी 
कविशिरोमणिको बुधबार हुने जन्मजयन्तीको अवसरमा घर लिपपोत, सरसफाइदेखि प्रवेशद्वारमा रंगरोगनका काम भइरहेको छ । यति बेला कविको जन्मथलो अर्चले सिंगारिएको छ । समिति, प्रतिष्ठान र लेखनाथ नगरपालिकाले त्रिदिवसीय जन्मजयन्ती मनाइरहेको छ ।

प्रकाशित : पुस १५, २०७२ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?