२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नेपाली कविताको कोरियामा बहस

सोल — कोरियाको मौसम माइनस ८ डिग्री चिसो भइरहेको बेला यहाँका नेपाली स्रष्टाहरूले भने साहित्यको गरमागरम बहस चलाइरहेका थिए थेगु सहरमा ।

 नेपाली कविताको कोरियामा बहस

नेपाली साहित्य समाज र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले ‘हिउँद कविता : बहस र वाचन’ नामक कार्यक्रम गरेका हुन् । पहिलो चरणमा समकालीन नेपाली कविताको विकास र प्रवृत्तिबारे छलफल गरिएको थियो ।

कविहरू प्रमोद सारङ, रमेश सायन र जीवन खत्रीले पछिल्ला दिनहरूमा कविताको सैद्धान्तिक पक्षको अध्ययन नगरी सतही रूपमा कविता लेखिने प्रवृति बढेकोमा चिन्ता व्यक्त गरे ।

नेपाली कविताको अन्तर्राष्ट्रियकरण हुन नसक्नुमा यही प्रवृत्ति कारक रहेको उनीहरूको ठहर थियो । केही समय प्रवासमा बसेर लेख्दैमा त्यो डायस्पोरा साहित्य नहुने पनि उनीहरूको दाबी थियो ।

बहस सकिना साथ सुरु कविता वाचनलाई सन्तोष पौड्याल, गंगा पौड्याल, सूर्य खत्री, सायुध, गणेश पौड्याल, अज्ञात पाल्पाली, कस्तुप गैरे, अञ्जान काँइला, मिलन किराती, विनोद नवीन, इन्द्रजित लावती ‘पूर्वेली गाउँले’, देव सागर, निश्चल नवीन, लबकुश माल्टाली, आनन्द भट्टराई, सायद कृष्ण राई, डीआर अटु, यल्जी विवश, छविसित कुलुङले रोचक बनाए ।

उनीहरूले भूकम्प र नाकाबन्दीका कारण नेपाली जनताले भोगिरहेको नियतिलाई समेत कवितामार्फत् अभिव्यक्त गरेका थिए ।

कार्यक्रमलाई वरिष्ठ कवि तुलसी दिवसले अनलाइनबाट शुभकामना दिएका थिए । सोलस्थित नेपाली राजदूतावासका श्रम सहचारी अनिल गुरुङ, स्रष्टा जीवन खत्री, अञ्जान काँइला, कल्पना राई लगायतले कोरियामा नेपाली साहित्यको प्रभावबारे चर्चा गरेका थिए ।

प्रकाशित : पुस १६, २०७२ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?